विषादी चेकजाँच नरोक्नु

काठमाडौं । सर्वोच्च अदालतले सीमाक्षेत्रमा फलफुल तथा तरकारी विषादी चेकजाँच नरोक्न आदेश दिएको छ । एकपटक लागु गरेर रोकेको विषयमा परेको रिटमा सर्वोच्चले परीक्षण गर्ने निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको हो ।

भारतबाट ल्याइने फलफुल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेशले मंगलबार निरन्तरता पाएको हो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सर्वोच्चको आदेशसँगै सीमामा तरकारीको विषादी चेकजाँच सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ । यसअघि सरकारले असार २ गतेबाट लागु हुनेगरी विषादी चेकजाँच गरेको थियो । तर, पर्याप्त परीक्षण केन्द्र नभएको भन्दै असार १८ गतेबाट सो व्यवस्था हटाएको थियो ।

सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चमा तीन वटा रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको थियो ।

यसका साथै अदालतले गुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको थियो । हानिकारक रसायनिक अनि अखाद्य पदार्थ नियन्त्रणका बारेमा असार २ गतेको राजपत्रको सूचना जारी भएकोमा दुई सातापछि त्यसलाई रोक्ने गरिएको निर्णयका बारेमा प्रश्न उठेको थियो ।

प्रतिक्रिया