इस्पातमा सिर्जनात्मक अभिव्यक्ति

काठमाडौं । खिया नलाग्ने इस्पातमा मूर्ति बनाउने कार्यशाला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको आयोजना तथा आरम्भ समसामयिक मूर्तिकार समूहको सहआयोजनामा ९ दिनसम्म चलेको कार्यशालामा १२ जना मूर्तिकार सहभागी भएका थिए । मूर्तिका विभिन्न माध्यममध्ये इस्पात एक प्रभावकारी माध्यमका रूपमा चिनिन्छ ।

अनेकौं माध्यममध्ये इस्पात अन्तर्राष्ट्रिय स्तरमा निकै छ । नेपालमा ढुंगा, काठ, माटो तथा धातु नै बढी प्रचलनमा रहेको छ । आधुनिक मूर्तिकलामा नयाँ अध्यायको सुरुवात गर्ने उद्देश्यका साथ ‘इस्पात’ मा मूर्ति बनाउने कार्यशाला गरिएको प्राज्ञ एवं विभागीय प्रमुख लालकाजी लामाले बताए । उनले यस प्रकारका कार्यशालाले नेपाली कलाकारलाई विश्वमा चलेका अनेकौं आयाम र माध्यममा काम गर्न सहज बनाउने दाबी गरे ।

उनले भने, ‘नेपालमा केही मूर्तिकारले इस्पातमा काम गर्दै आए तापनि यसरी संस्थागत रूपमा कार्यशाला भएको थिएन । यसले मूर्तिकारलाई फराकिलो ढंगले काम गर्न अभिप्रेरित गर्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ मूर्तिकला विभागका प्रमुखसमेत रहेका लामाले आगामी दिनमा पनि यसप्रकारका विभिन्न कार्यशालालाई निरन्तरता दिइने बताए ।

कार्यशालामा कलाकारले शिक्षा, सम्वाद, स्वतन्त्रता, युनिटीलगायतका विषयमा केन्द्रित रही मूर्ति बनाएको थिए । नेपालमै पहिलोपटक इस्पात माध्यममा कार्यशाला गरिएको आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्ष भुवन थापाले जिकिर गरे । उनले विभिन्न माध्यममार्फत मूर्तिकारले आफू अभिव्यक्त गर्नका लागि कार्यशाला निकै उपयोगी रहने बताए ।

उनले भने, ‘यस किसिमका कार्यशालाले मूर्तिकारलाई अभिव्यक्ति स्वतन्त्रता र फराकिलो ढंगले अगाडि बढ्न सघाउँ पु¥याउँछ ।’ कार्यशालामा मूर्तिकार राजु पिठाकोटे, उत्तम डंगोल, विष्णुप्रसाद श्रेष्ठ, अगम श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, भुषण दुवाल, दिपक लामा, कुमार थापा, चन्द्रमणि मगर र विशाल सारू रहेका थिए । त्यस्तै, अतिथि कलाकारका रूपमा प्राज्ञ लालकाजी लामा र भुवन थापाले पनि कार्यशालामा मूर्ति बनाएका थिए ।

प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्मचार्यले मूर्तिकला आफैमा गाह्रो विषय भएको जिकिर गर्दै इस्पातमा काम गर्न कठिन भएको धारणा व्यक्त गरे । उनले नेपाली मूर्तिकलामा यस कार्यशालाले नौलो आयाम थपेको बताउँदै भने, ‘विषयको विविधतामा मूर्तिकारलाई कार्यशालाले स्वतन्त्र ढंगले अघि बढ्न अभिप्रेरित गरेको छ ।’ प्रतिष्ठानका पूर्वउपकुलपति मूर्तिकार ठाकुरप्रसाद मैनालीले समसामयिक मूर्तिकलामा इस्पात माध्यममा गरिएको कार्यशालाले नयाँ आयाम थपेको बताए । उनले भने, ‘मूर्तिकला क्षेत्रको विकासका लागि यस्ता कार्यशालाको आवश्यकता पछिल्लो समय झनै बढेर गएको छ ।’

प्रतिक्रिया