बिपी प्रतिष्ठानको उपकरण खरिदमा चरम अनियमितता

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा तत्कालीन पदाधिकारी कै मिलेमतो भएको खुलेको छ । तत्कालिन उपकुलपति बलभद्र प्रसाद दाससहित ६ जनाले उपकरण र वस्तु खरिद गर्दा भ्रष्टचार गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा दाससहित प्रतिष्ठानका आठजनाले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन उपकुलपति दाससहित तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेश राज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले प्रतिष्ठानलाई उपकरण सप्लार्य गर्ने प्रोसिजन मेडिकल प्रा.लि.रवायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र सर्जिकेम डिस्टिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानमा ०७२ सालदेखि गरिएको भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी साधन खरिद पक्रियामा अनियमितता गरेका थिए । यस्तै, मातृ शिशु स्याहार केन्द्र भवनको ठेक्का, मेडिकल उपकरणहरू खरिद र सवारीसाधनहरूको खरिदमा समेत मूल्य दरभन्दा बढी देखाएर भुक्तानी दिएको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले आठजनाविरुद्ध १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोप मुद्दामा लगाइएको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्तविपरीत बढी कबोल गर्नेलाई दिएका थिए । उपकुलपति दासले बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरूको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानीसमेत दिएको खुलेको छ ।

अख्तियारले सबैभन्दा बढी पूर्व उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ । अस्पतालका तत्कालिन निर्देशक अरविन्द्र कुमार सिन्हादेले ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिस्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखाप्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूलाई त्यत्ति नै विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यसैगरी, प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी उपकरण सप्लायर्स गर्ने चेतनले एक करोड चार लाख १६ हजार ७ सय ९० र उमेशले ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ भ्रष्टचार गरेको स–प्रमाण ठहर गरेको छ । उनीहरूले आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरेकाले त्यत्ति नै विगो माग गरेर मुद्दा दायर गरिएको छ । अख्तियारले केही दिनअघि मात्र बिपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारसहित उनका सहयोगीलाई आठ लाख घुससहित पक्राउ परेका थिए । रौनियारलाई अहिले अख्तियारले बयान लिइरहेको छ ।

प्रतिक्रिया