बाढी पीडितलाई राहत सामग्री छिटो पठाउन नेताहरूको माग

बाठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले देशव्यापीरुपमा हालै आएको बाढी, पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेका पीडितलाई सक्दो छिटो राहत सामग्री तथा सहयोग पुर्याउन माग गरेका छन् ।

निरन्तरको वर्षाको कारण देशभर भइरहेको डुबान, बाढीपहिरोको समस्या तथा उद्धार तथा राहतमा दलहरुको भूमिका विषयक आज आयोजित साक्षात्कारमा उनिहरुले देशभरि हालै परेको वर्षा तथा झरीबाट २१ को मृत्यु भइसकेको जानकारी दिँदै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे । उनिहरुले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत तथा घाइतेको उपचार तथा बेपत्ताको खोजी तीव्र पार्न सरकारसँग आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले सरकारले केन्द्रीय राहत व्यवस्थापन समितिको बैठक बसेर देशव्यापी राहत वितरण गर्ने निर्णय लिने बताए । उनले त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तु पठाउन सरकारले हेलिकप्टर तयारी अवस्थामा राखेको बताउँदै नेपाली सेना तथा नेपाल प्रहरीको परिचालन भइसकेको तथा पार्टीका कार्यकर्ता पनि परिचालन गरिनेछ बताए ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले धेरै धनजनको क्षति हुने गरी देशव्यापी आएको बाढीपहिरो पीडितलाई सरकारले तुरुन्त राहतको व्यवस्था गर्न माग गर्दै कांग्रेसका केन्द्रीय कार्यसमितिको बैठकले पार्टी कार्यकर्ताको सञ्जाल परिचालन गर्ने तथा राहत सहयोग गर्ने निर्णय गर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक अनिल झाले बाढीबाट सिङ्गो गौर तथा दक्षिणी रौतहटमा ठूलो क्षति भएको बताउँदै त्यस क्षेत्रमा २५ वर्ष पुरानो बाँधहरु मर्मत गर्न आफूले पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरेकाले यो परिस्थिति निम्तिएको बताए ।

प्रतिक्रिया