काठमाडौं । ०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुननिर्माणले तिव्रता पाउने भएको छ । लामो समय कस्तो शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि यो अन्यौलमा पर्दै आएको थियो । तर, आउँदो तिहारसम्ममा पुनर्निर्माण गरिसक्ने लक्ष्यका साथ यो निर्माणको चरणमा अघि बढेको छ ।
मल्लकालीन ग्रन्थकुट शैलीमै बनाउने भनिएको बालगोपालेश्वर मन्दिरको डिजाइन पनि तयार भएको छ । यही डिजाइनअनुसार अब मन्दिर निर्माण सुरु गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार निर्माण कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरणले पुनर्निर्माणका लागि सिएरतुलसी कन्ट्रक्सन जेभीसँग १४ करोड २७ हजार पाँच सय ५७ रुपैयाँमा सम्झौता गरेको हो । प्राधिकरणका अनुसार सो कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरि बगैँचा पुनर्निर्माण गर्नेछ ।
सम्झौतापत्रमा प्राधिकरण तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा हुन लागेको बताए ।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापित र निर्माण कम्पनीले आफूहरू समन्वय गरेर काम गर्ने बताएका छन् । भाइटीकासम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । निर्माण गर्ने कम्पनीले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र वरिपरिको क्षेत्रमा पुनःनिर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
२०७२ को भुइँचालोमा भत्किएको रानीपोखरी उपभोक्ता समितिले बनाइरहेको छ । यसका लागि भक्तपुरका करिब ३० महिला र ८ डकर्मी खटिएका छन् । उनिहरूले रानीपोखरीको झार र घाँस उखेलेर सकेका छन् । अहिले पोखरी वरिपरिको भित्तामा माअप्पा (प्राचीन इँट्टा) लगाउने काम गरिरहेका छन् । केही साताअघि प्राधिकरणले गरेको परीक्षणले रानीपोखरीमा प्राकृतिक रूपमै पानी अड्याउन सकिने पनि पुष्टि गरेको थियो । परीक्षणमा दुई साना पोखरी बनाइएको थियो । तल कालोमाटो मुछेर ओछ्याउने विधिले पानी अडिएपछि प्राधिकरणले अब पोखरी ब्युँताउन सहज हुने विश्वास गरेको छ ।
योजनाअनुसार पोखरीमा डेढ मिटर कालोमाटोको तह राखिनेछ । यो माटो मेसिनले मुछेर राखिने भएको हो । खुट्टाले माटो मुछ्दा जनशक्ति र खर्च धेरै हुनाले अब मेसिनले मुछेकै माटो प्रयोग गर्ने तयारी भईरहेको प्राधिकरणले जानकारी दिएको छ । रानीपोखरी पुनर्निर्माणको सबभन्दा ठूलो चुनौती नै प्राकृतिकरूपमा पानी अड्याउन सकिन्छ कि सकिँदैन भन्ने थियो ।
प्रतिक्रिया