क्यान्सरको भ्रम हटाउन इम्युनोअंकोलोजी सम्मेलन

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन भएको छ । नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा क्यान्सररोग बारेको भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो ।

छलफल कार्यक्रममा क्यान्सर रोगमा अनेक थरिका भ्रम रहेको भन्दै सो भ्रम चिर्नका लागि नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरूसँग छलफल गरिएको वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठले बताए । क्यान्सरमा रहेका भ्रमबारे नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरूसँग डा. श्रेष्ठले प्रश्न राखेका थिए भने उनीहरूले त्यसको जवाफ दिएका थिए । इम्युनोअंकोलोजी क्यान्सर उपचारको नयाँ विधा हो, यसमा औषधिको प्रयोग गरी शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदै क्यान्सरका कोषिकाहरू मारेर क्यान्सर रोगको उपचार गरिन्छ ।

क्यान्सररोग समयमा उपचार गरेको खण्डमा निको हुने र वर्षौंसम्म बाँच्ने डा. भोलाप्रसाद रौनियारले बताए । रौनियारले भने, ‘उच्च रक्तचाप, मुटुरोगको जीवनभर उपचार गर्नुपर्छ, तर क्यान्सररोग लागेको मानिसले समयमा उपचार पाएको खण्डमा निको हुन जान्छ ।’ जनमानसमा क्यान्सर सरुवा रोग भएको भ्रम व्याप्त रहेको भएपनि वास्तविकता त्यस्तो नभएको उनले सुनाए । धेरै वर्षसम्म लगातार ग्यास्ट्रिकको समस्या देखिएको खण्डमा पेटको क्यान्सर हुने सम्भावना धेरै हुने उनले बताए । उनले भने, ‘लामो समय सिसीमा राखेको अचारको सेवनले क्यान्सर गराउन सक्छ ।’

सम्मेलनमा डा. मदनकुमार उपाध्यायले क्यान्सर हुने सम्भावित कारणमा केही वंशानुगत भए पनि मुख्यतः खानपानको समस्या भएको सुनाए । ‘हामीले सेवन गर्ने गरेको धेरै समय सिसीमा राखेको अचारले क्यान्सर गराउन सक्छ । बढी नसा दिनेखालका वस्तुले क्यान्सरलाई बढावा दिन्छन्’ डा. उपाध्यायले भने, ‘गुड्खा, रजनीगन्धमा बढी निकोटिनको मात्रा हुन्छ, जसका कारण धेरै सेवन गर्न पे्ररित गरेको हुन्छ ।’

‘मोबाइलको रेडिएसनले क्यान्सर हुँदैन’
त्यसैगरी, भारतबाट आएका क्यान्सररोग विशेषज्ञ डा. पूर्वीश पारिखले मोबाइलको रेडिएसनका कारण क्यान्सर नहुने बताए । जमराको जुस तथा भाङ खानाले र योग गर्नाले क्यान्सरपीडितको स्वास्थ्यमा केही फाइदा पुगे पनि पूर्णरूपमा निको नहुने बताए । ‘क्यान्सररोगीका लागि जमराको जुस, भाङको कुनै खास सम्बन्ध छैन, तर सेवन गरियो भने स्वास्थ्यलाई केही राम्रो हुन्छ,’ डा. पारिखले भने, ‘क्यान्सररोग निको हुनका लागि पूर्ण रूपमा औषधिको सेवन गर्नुपर्छ ।’ बाल क्यान्सररोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले क्यान्सररोग बालबालिकामा बढी हुने बताए । तिवारीले भने, ‘जिनमा चोट पुग्न गएको खण्डमा बालबालिकामा मांसपेशी तथा हड्डीको क्यान्सर बढी हुन्छ ।’

खानेकुराले क्यान्सर हुन्छ ?
क्यान्सर खानेकुरासँग सम्बन्धित छैन । धेरैले क्यान्सरमा गुलियो खान हुँदैन । विभिन्न खानेकुरा खाएर क्यान्सर भएको भन्ने भ्रम छ तर त्यस्तो केही हुँदैन । क्यान्सरको उपचारमा पोषणविद्सँग सल्लाह गरेर सन्तुलित खाना खानुपर्छ विशेषज्ञ चिकित्सकहरूले सुनाए । कुनै पनि खानाले क्यान्सर गरेको तथ्य छैन । अंकोलोजीको विधाले संसारभर प्रभाव पारिरहेकाले नेपालमा यसको उपयोगिता र अभ्यासबारे छलफल गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया