कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छः वरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांगरेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । नेता पौडेलले भने, ‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’ उनले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए ।

फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै पौडेलले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफै सञ्चालित हुन आवश्यक छ ।’ नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा कांग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया