जनकपुर । जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दास कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका छन् । उच्च अदालत जनकपुरले लाल झाको हत्यामा दोषी ठहर गर्दै १२ वर्ष जेल सजाय सुनाएको हो ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत झाको कर्तव्य ज्यान मुद्दाका आरोपी उनलाई बुधवार मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले सजाय सुनाएको हो ।
सो इजलासले जिल्ला अदालतको फैसलालाई पल्टाउँदै दासलाई दोषी ठहर गरेको छ । उच्च अदालत जनकपुरले घटनाका योजनाकार महन्त दास रहेको ठहर गर्दै सजाय सुनाएको अधिवक्ता विमल मिश्रले जानकारी दिए । जनकपुरधाम–८ स्थित निजी निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो ।
यसअघि जिल्ला अदालतले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । केही महिना पहिले किर्ते जालसाजी गरी मठमन्दिरको जग्गा बेचबिखन तथा ठगी गरेको मुद्दामा उच्च अदालत जनकपुरले दासलाई पूर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेशसगै दास अहिले फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया