प्रेमीसँग मिलेर आमाको हत्या

काठमाडौं । भक्तपुरको चागुनारायणकी सावित्री भट्टराईको हत्या आफ्नै छोरीको योजनामा भएको खुलेको छ । विवाहित २७ वर्षीया कान्छी छोरी ईश्वरी भट्टराईले आफ्ना प्रेमीसँग मिलेर हत्या गर्न लगाएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हत्या भएको १२ घण्टाभित्रै दुई अभियुक्तसहित हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ईश्वरी र सिरहाको कल्याणपुर नगरपालिका–४ का २३ वर्षीय मोहम्मद नौसादबीच प्रेम सम्बन्ध रहेको थियो । उनीहरूको सम्बन्धका विषयमा आमाले समेत थाहा पाएकी थिइन् ।

पति हुँदाहुँदै परपुरुषसँग शारीरिक सम्बन्धसम्म रहेको थाहा पाएपछि आमाले दुवै जनालाई गाली गर्दै आएकी थिइन् । ईश्वरीका पति भने सिनामंगलमा होटल सञ्चालन गर्दै आएका थिए । जसका कारण नौसाद ईश्वरीको घरमा आउजाउ गरिरहन्थे । ईश्वरीका चार वर्षीय छोराले समेत उनलाई चिन्ने गर्दछन् । उनीहरूले आमा र पतिलाई आफ्नो बाटोबाट हटाउनका लागि केही महिना अगाडि नै हत्याको योजना बनाएको खुलेको छ ।

योजनाअनुसार प्रेमी नौसाद डेढ महिनाअघि सावित्रीसँगै डेढ लाख रुपैयाँ ऋण लिएर दुबई गएका थिए । दुबईबाट फर्किएको नौ दिनकै दिन असार १५ गते आइतबार उनले हत्या गरेका हुन् । आइतबार घरमा नाति र सावित्री मात्रै थिए । बिहान साढे ९ बजे दुई युवक पुगे । तीमध्ये एक हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै नौसाद थिए भने अर्का एक व्यक्ति थिए । नौसाद यसअघि पनि त्यस घरमा गइरहन्थे । घरमा रेकी गर्न गएका नौसाद र सावित्रीबीच पैसाकै विषयमा सामान्य भनाभन पनि भएको थियो । त्यही विषयमा सावित्रीले कुचोले नौसादलाई पिटेकी पनि थिइन् ।

आइतबार बिहान नातिलाई स्कुल पु¥याएर घर फर्किइन् । उनी फर्किएको केही बेरमै तीन जना युवा पनि सो घरमा छिरे । डेढ महिनाअघि मात्र उनीहरू त्यहाँ सरेका थिए । सो घर वरपर एक÷दुई वटा मात्र घर रहेका छन् । केही समयपछि उनीहरू बाहिरिए, सोही समयमा सावित्रीको हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ । ६१ वर्षीय सावित्रीको हत्या भएपछि प्रहरीले सुरुमा कसले हत्या ग¥र्यो भन्ने निष्कर्ष निकाल्नै सकेन । छोरी र ज्वाई पनि घरमा नभएको अवस्थामा कसले हत्या गर्यो भन्ने निष्कर्ष निकाल्न अप्ठेरो परिरहेका वेला चार वर्षीय बालकले प्रहरीलाई सहयोग गरे । सावित्रीका नातिले नौसाद बिहान घर आएको सूचना प्रहरीलाई भने ।

प्रहरीले उनको टेलिफोन नम्बर ट्रेस गरेर उनको लोकेसन पत्ता लगायो । साँझ सात बजे उनलाई धादिङको गजुरीबाट पक्राउ गर्न सफल भयो । नौसादले घटनाबारे सबै खुलाए । उनले ईश्वरीसँग प्रेम सम्बन्ध रहेको र उनीसँगै मिलेर १२ लाखमा सुपारी दिएको बताए । उनले बयान दिँदै गर्दा उनको फोनमा हत्यामा संलग्न रहेका भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशको फोन आयो ।

फोनमा उनीहरूले सुपारीको १२ लाख रुपैयाँ मागे । प्रहरीकै निर्देशनअनुसार नौसादले पैसा लिएर आउँदै गरेको जानकारी गराए । त्यसपछि प्रहरीले मंगलबार बिहान २ बजेतिर उनीहरूलाई मकवानपुरबाट पक्राउ गर्न सफल भयो । सो राति घटनाकी मुख्य अभियुक्त ईश्वरीलाई पनि उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भयो ।

ईश्वरीका एक छोरा र श्रीमान् छन् । आमा सावित्रीलाई केही वर्ष पहिलादेखि नै श्रीमान्ले छाडेको र छोरा नभएकाले उनी कान्छी छोरी ईश्वरीकोमा बस्दै आएकी थिइन् । सावित्रीका चार छोरी छन् । शारीरिक सम्पर्कसम्म भइसकेपछि ईश्वरी र नौसाद दुवैले एक–अर्कालाई छाड्न सकेका थिएनन् । त्यसका लागि बाधक बनेकी सावित्रीलाई हत्या गर्ने योजना अनुसार ईश्वरीले नौसादलाई डेढ महिनाअघि दुबई पठाएको सोमबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

‘नौसाद जाने वेला नै ईश्वरीले एउटा सिमकार्ड दिएकी थिइन् । डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु, तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु । त्यही मौकामा हत्या गरेर भाग्नु’ सावित्रीले नौसादलाई भनेका कुरा एसएसपी थापाले सुनाए । आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरू आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरूको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया