जीतपुर । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेको कपिलवस्तु जिल्लाका अभिभावकको गुनासो रहेको छ ।
विद्यालयमा नियमित अनुगमन हुन नसक्नु, शिक्षक व्यवस्थापनमा समस्या देखिनु, शिक्षामा पर्याप्त मात्रामा बजेट नहुनु, मदरसा शिक्षाको व्यवस्थापनमा समस्या देखिनुलगायत गुनासो राख्दै अभिभावकले सामुदायिक विद्यालयमा अनुगमन, पठनपाठन र मूल्यांकन पद्धतिमा पहिला सुधार गर्नुपर्ने जोड दिएका छन् ।
सामुदायिक विद्यालयको गुणस्तर उकास्न शिक्षक, अभिभावक र जनप्रतिनिधि मिलेर काम गर्न आवश्यक रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका प्रमुख मंगलप्रसाद थारू बताउँछन् । प्रमुख थारूले शिक्षकले चौमासिक रूपमा पाइरहेको तलब अबका दिनमा मासिक रूपमा उपलब्ध गराइनेसमेत उल्लेख गरे ।
शिक्षाविद् डा मनप्रसाद वाग्ले कुन विद्यार्थी किन विद्यालय जान सकेको छैन भन्ने विषयमा सबैको चासो पुग्नुपर्ने बताउँछन् । नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माले कतिपय विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नभएको र कतिपयमा आवश्यकताभन्दा बढी शिक्षक रहेकाले यस्ता विषयमा सबै सचेत भई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जुट्नुपर्नेमा जोड दिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम हरेक स्थानीय तहले प्रभावकारी शिक्षा ऐननियम तर्जुमा गरी विद्यालय शिक्षामा पर्याप्त बजेटको उचित व्यवस्थापन गरे शिक्षा प्रणलीमा सुधार ल्याउन सकिने बताउँछन् ।
पूर्वसभासद् कृष्णप्रसाद सापकोटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न ठोस कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिए । सापकोटाले विद्यालयलाई प्रमाणपत्र मात्र दिने नभई व्यावहारिक सीप र शिक्षा दिने केन्द्रका रूपमा विकास गरेर लैजानुपर्ने बताए ।
जिल्लामा सामुदायिक विद्यालयमा समता र पहुँचका लागि साझेदारी कार्यक्रम सुरु भएपछि शिक्षामा सुधार आएको ग्लोबल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठको बताए । समता र पहुँचका लागि साझेदारी परियोजनाले आयोजना गरेको सबैका लागि गुणस्तरीय शिक्षासम्बन्धी नीतिगत संवाद कार्यक्रममा नगर तथा गाउँपालिकाका शिक्षाशाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, किशोरकिशोरी तथा स्थानीय सामुदायिक संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष प्रकाश सिलवाल गरेका थिए ।
प्रतिक्रिया