पाल्पा । जिल्लाको रामपुर निवासी टीकाराम ढकालसँग धेरै प्रकारका बाजा बजाउने कला भएर पनि त्यति चर्चामा भने आएका छैनन् । गीतमा संगीत भर्न धेरै थरीका बाजाको संग्रह गर्दै आएका उनको उमेर ५८ वर्ष पुगे पनि नयाँ बाजा बजाउने रहर अझै पनि मरेको छैन ।
स्याङ्जाको चापाकोट नगरपालिका साँखरबाट केही वर्षअघि बसाई सरेर रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा बस्दै आएका ढकाल हार्मोनियम, मुुरली, मोहलीबाजा, मादल, सहनाई, सारंगी, अक्टोप्याडलगायतका थुप्रै बाजा बजाउन सक्ने भए पनि आफ्नो सीपअनुसारको पहिचान हुन नसकेको गुनासो गर्छन् ।
आफूले १३ वर्षको उमेरदेखि गाई चराउन जाँदा पात तथा मुरली बजाउन थालेको बताउँने उनी अहिले करिब १५ थरीका बाजा बजाउन सक्छन् । घरको कोठाभर बाजैबाजाले भरेका ढकालले कुनै पनि तालिम नलिइकन आफ्नै प्रयासले सिक्दै आएको जिकिर गरे ।
सानैदेखि गीत तथा संगीतमा इच्छा भएको बताएका उनले अहिलेका लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी तथा लोकगायक भगवान भण्डारीलाई चर्चित बनाउन आफ्नै पहल रहेको बताए । आफैँले सिकाएका धेरै व्यक्ति कलाकार बने, ढकालले भने, ‘म गाउँमै बाजा बजाएर बसे पनि गर्व लागेको छ कि नेपाली लोकदोहोरी गीतमा कमै बज्ने मोहली बाजासमेत मसँग छ र मैले बजाउँछु, अनि संरक्षण पनि गर्छु ।’ नेपाली लोकगीतमा लोपोन्मुख उक्त बाजा अहिले थोरै मात्र गीतमा बजेको पाइन्छ ।
गाउँघरमा जातीय हिसाबले गन्र्धवले बजाउने सारंगी तथा दमाईंले बजाउने सहनाईलगायत ट्याम्पो र ढोलकसमेत आफूले बजाउने गरेको जानकारी दिँदै उनले भने, ‘जोसँग जे जस्तो सिर्जना छ उसले त्यै प्रस्तुति दिने हो । जातभातको कुरा गर्नुहुँदैन । अहिलेसम्म कुनै सप्ताह तथा महायज्ञमा जातीय विभेदका कारण नै नलगिएका सारंगी र सहनाई मैले नै भित्र्याएको छु ।’
स्थानीयस्तरमा भजनकिर्तन तथा यज्ञ सप्ताह तथा पूजा आराधनामा संगीत दिने ढकालले वाद्यवाद्यनकै माध्यमबाट जातीय विभेदसमेत तोडेको जिकिर गरे । रामपुर भजनकिर्तन मण्डलीको अध्यक्षसमेत रहेका उनले व्यावसायिक रूपमा आफू चर्चामा आउन नसके पनि स्थानीय इच्छुक नागरिकलाई सीप हस्तान्तरण गर्ने सोचमा रहेको बताए । रामपुर नगरपालिकाको सहयोगमा उक्त संस्थाको भवन निर्माणपछि वाद्यवाद्यन सिकाएर धेरै संगीतकर्मी बनाउने ढकालको सोच छ ।
प्रतिक्रिया