काठमाडौं । सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो ।
विगतका वर्षहरुमा उपत्यका भित्रका जिल्लाहरु मात्रै मनाउँदै आएको धान दिवस यसपटक उपत्यका बाहिरी मनाउन लागिएको हो । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ यस वर्ष धान दिवसको मूल नारा रहेको छ । यसै अवसर पारेर विभागले धानको उत्पादन वृद्धि गरी धान बालीलाई राष्ट्रिय सम्वृद्धि हासिल गर्नका लागि सहयोगी क्षेत्रको रुपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरु एकजुट होऔं, हातेमालो गरौं भन्ने अपिल गर्दै सो नारा उठाइएको बताइएको छ ।
धान दिवस समारोहका लागि विभागले विभागका निमित्त महानिर्देशक डा. रेवतीरमण पौडेलको नेतृत्वमा ‘सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समिति, २०७६’ समेत बनाएको छ । समितिले धान दिवस समारोहको सबै तयारी तथा प्रक्रियाहरु पुरा गरि सकिएको जानकारी दिएको छ । विभागले २०६० सालदेखि प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ ।
विभागका अनुसार हाल नेपालमा प्रमुख वालीको रुपमा रहेको धानवाली समुद्री सतहबाट ६० देखि ३०५० मिटर उचाई सम्ममा खेती गरिन्छ । नेपालका मनाङ र मुस्ताङ बाहेक सवै जिल्लामा खेती हुने धान हाल चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो धानको रुपमा खेती गरिंदै आएको छ । कृषि विभागले दिएको जानकारी अनुसार हाल नेपालमा करिब १ दशमलव ५ खर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गर्दछ । देशको कसल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान कृषिको रहेकोमा २० प्रतिशत योगदान धानको मात्र रहेको कृषि विभागका निमित्त महानिर्देशक डा. रेवतीरमण पौडेलले बताए ।
प्रतिक्रिया