कपिलले ल्याए ‘अन्तर्दृष्टि’

काठमाडौं । लेखक डा. कमल लामिछानेद्वारा लिखित पुस्तक ‘अन्तर्दृष्टि’ बजारमा आएको छ । जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत् डा. लामिछानेको उक्त कृतिको शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनिषा गौचन र लेखक लामिछानेले संयुक्तरूपमा विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै आख्यानकार गौचनले लेखकले इमानदारीपूर्वक आफ्नो दृष्टिकोण राखेको बताइन् । १२ वर्षको उमेरसम्म विद्यालय नपुगेका लामिछानेले आफ्नो संघर्षका कारण हासिल गरेको उपलब्धिलाई नेपालीले गौरव गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

उनले भनिन्, ‘पुस्तकले लामिछानेको बाल्यकालदेखि देश विदेशसम्म अध्ययन गर्दा भोगेका कठिनाइ, संघर्ष, मिहिनेत एवं कामप्रतिको समर्पणलाई चित्रण गरेको छ ।’ उनले नेपाली समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण एवं उनीहरूलाई धार्मिक मूल्यमान्यताले कसरी असर गर्छ भन्ने विषयलाई समेत पुस्तकले उतारिएको विचार राखिन् ।

उनले थपिन्, ‘व्यक्तिलाई उज्यालो भविष्यतिर डोर्याउन आत्मनिर्भर हुनुपर्छ भन्नेमा पुस्तकले जोड दिएको छ । त्यस्तै, पुस्तकले नेपालको शैक्षिक बेथिति एवं विदेशीहरूले अपनाएका पद्धतिलाई नेपालमा पनि लागू गरेर समतामूलक विकास गर्न सकिने धारणा पनि प्रस्तुत गरेको छ ।’

अर्का वक्ता आख्यानकार न्यौपानेले दृष्टिविहीनले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको बताउँदै लामिछानेको पुस्तक ध्यानसाधनाबाट लेखेको बताए । उनले भने, ‘दृष्टिविहीनहरू जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको अनुभूति हुन्छ ।’ उनले प्रत्येक मानिसभित्र एउटा संसार हुने र त्यो दृष्टिविहीनहरूको अझ ठूलो संसार रहने भनाइ राखे । उनले भने, ‘यो पुस्तक कहीँकतैबाट पनि दृष्टिविहीनले लेखेको भन्ने लाग्दैन ।’

उनले लेखक लामिछानेको प्रतिभा, क्षमता, सफलता एवं संघर्ष आँखा देख्नेहरूका लागि चुनौतीपूर्ण रहेको जिकिर गरे । पुस्तकले राजनीति, भूगोल, विकास, समाज आदि सबै विषयलाई खोतलेको बताउँदै न्यौपानेले लामिछाने आफ्नो लेखनमा कहीँकतै घमण्ड प्रस्तुत नगरेको र स्वाभिमान देखाए बताए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् माथेमाले गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट पुस्तकमा प्रस्तुत गरिएको धारणा व्यक्त गरे । उनले भने, ‘दृष्टिविहीन व्यक्ति, उनीहरूलाई समाज एवं परिवारले हेर्ने दृष्टिकोण आदिलाई सूक्ष्म रूपमा पुस्तकमा खुलाइएको छ ।’

उनले कुनै पनि देशको विकासका लागि नियम कानुन, त्यसको परिपालना आदिले महत्वपूर्ण भूमिका खेल्ने र त्यसो भए मात्र समृद्धितर्फ अघि बढ्न सकिने कुरा पुस्तकमा रहेको बताए । उनले युवाका लागि पुस्तक बढी उपयोेगी भएको धारणा राख्दै भने, ‘संघर्ष, सफलता, लगाव, प्रतिबद्धताजस्ता विषयले उहाँलाई सफलतातर्फ अघि बढ्न सघाएको हो ।’

लेखक लामिछानेले पुस्तक लेखनका बारेमा आफ्ना धारणा राख्दै भने, ‘अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफू पुस्तक लेखेर केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुने ठानेर यसतर्फ लागेको हुँ ।’ उनले अपांगता भएका व्यक्तिसँग ‘वर्किङ टुगेदर वाकिङ टुगेदर’ को भावना जगाउने लक्ष्य आफूले राखेको उनले जिकिर गरे । उनले भने, ‘म जहिल्यै पनि चुनौतीसँग जुध्न मन पराउने व्यक्ति हुँ । त्यही कारण यो अवस्थासम्म आउन सजिलो भएको हो ।’ उक्त पुस्तक फाइनप्रिन्टले प्रकाशित गरेको हो ।

प्रतिक्रिया