विश्वप्रेम अधिकारी, स्याङ्जामा रहेर नेपाली साहित्य क्षेत्रमा सक्रिय व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । कविता, निबन्ध, लोकसंस्कृति तथा गीत समालोचना लगायतका विधामा कलम चलाउँदै आउनुभएका अधिकारी आधा दर्जन बढी पत्रिकाको सम्पादन गर्नुभएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएका अधिकारीका करिब एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । नेपाली साहित्य तथा साहित्यिक गतिविधिलगायतका विषयमा सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानीः
० आजकल केमा व्यस्त हुनुहुन्छ ?
– मेरो रुचि सुरूदेखि नै पढ्ने र लेख्नेमा नै रह्यो । मेरो आफ्नै संग्रहमा पनि राम्रा पठनीय पुस्तकहरू छन् । राङ्खोला बजारमा हामीहरूकै क्रियाशीलतामा ‘राङ्खोला लक्ष्मी स्मृति पुस्तकालय’ छ, जहाँ निकै राम्रा पुस्तकहरू छन् । नेपाली, हिन्दी र संस्कृत भाषाका राम्रा–राम्रा पुस्तकको उपयोग पढेरै हुन्छ; संग्रह गरेर मात्र हुँदैन । यतिखेर म पुस्तकहरूकै बीचमा बसेर समय बिताइरहेको छु । योभन्दा बाहेक ‘रजस्थल’ का लागि सामग्री जुटाउने, सम्पादन गर्ने, सम्पादकीय लेख्ने र प्रकाशन गर्ने काम पनि मुख्य मेरै भएकाले यसैमा व्यस्त छु ।
अर्को प्रसंग, मैले ०१८ सालदेखि ०५५ सालसम्ममा करिब दुईसय जति कविता लेखेको रहेछु । तीमध्ये वार्णिक छन्दका कविता र गीतिलयका कविताहरू जोरजाम गरेर दुईवटा कविता संग्रह प्रकाशित गरेँ । मुक्त गद्यलयका कविताको छुट्टै संग्रह गर्न सकेको छैन । बनारस बस्दा विभिन्न पत्रिकामा प्रकाशित भएका त कता पुगे कता ? जे–जति छन् तिनलाई एउटै सँगालोमा राख्न प्रयत्नरत् छु । चाहना भनूँ कि व्यस्तता भनूँ ? यत्ति हो ।
० नेपाली साहित्यको वर्तमान अवस्थाप्रति यहाँको मूल्यांकन के छ ?
– नेपाली साहित्यको वर्तमान स्थितिको समग्र मूल्यांकन त्यो पनि एउटा प्रश्नमा अडिएर गर्नु गाह्रो कुरा हो तापनि ‘राम्रो छ्रै्रन’ भनिहाल्न सकिँदैन । आख्यान, नाटक र काव्यमै पनि नयाँ–नयाँ प्रयोग भएका छन् । सिर्जनाका स्रोत भनेका समाज, परिवेश, सुख, दुुःख, हर्ष, विस्मातहरू नै हुन् । यथार्थमा स्रष्टा स्वयं र समाजका आममान्छेले भोगेका भोगाइ र लोकजीवनका अनेक घटना र परिघटनाहरू नै हुन् । सिर्जनालाई सिगार्ने भनेका सत्यम्, शिवम् र सुन्दरम्ताले हो । छन्द (लय) अलंकार र रस स्रष्टाको खुबी अनुसार प्रयोग हुन्छन् । यी सबै कुराहरू आजका स्रष्टाहरू बुझ्दछन् ।
०१७ पौष १ गतेको देशघाती कदम पछिका दुई वर्षभरि कुनै कृति पनि प्रकाशित भएको जानकारी मलाई छैन । त्यसपछिका दिनमा भने फाट्टफुट्ट नयाँ कृतिहरू आउन थाले । ०२५ सालमा ‘पोखिएका कनिका’ कविता संगालो प्रकाशित भयो । ‘पोखिएका कनिका’ मा १९ जना स्याङ्जाली कविका २९ वटा कविता संकलित छन् । त्यतिखेरसम्म गद्यमा कलम चलाउने स्याङ्जालीहरू कमै थिए
सिर्जनामा भाव गाम्भीर्य त हुनै प¥यो । मिथक र प्रतीकहरू लौकिक र परलौकिक पनि हुन सक्दछन् । पूर्वीय वाङ्मयका हुँदा सुबोध्य हुन्छन्, पाश्चात्य जगतबाट लिँदा दुरूह बन्न सक्दछन् । क्लिष्टताले उत्कृष्टता ल्याउँदैन भन्ने लाग्दछ । देवकोटाको ‘शाकुन्तल’, भानुभक्त पोखरेलको ‘मृत्युञ्जय’ नवराज लम्सालको ‘कर्ण’ र गोविन्दराज विनोदीको ‘कैकेयी’ नेपाली महाकाव्य भण्डारका उत्कृष्ट कृति हुन् । यी चारवटै महाकाव्यमा पौराणिक मिथकको प्रयोग भएको छ ।
१९४१ मा जन्मेका लेखनाथ पौडेलको ‘ऋृतुविचार’ देवकोटाका ‘मुनामदन’ र ‘कुञ्जिनी’ मुकुन्दप्रसाद उपध्यायको ‘प्राकृतिक पोखरा’ खण्डकाव्यमा नेपाली धर्तीको माटो बोल्दछ । घिमिरेको ‘राष्ट्रनिर्माता’ भानुभक्त पोखरेलको ‘राजमातृका’ जस्ता खण्डकाव्यले साढे दुई शताब्दी पूर्वको इतिहासको संस्मरण गराइरहेका छन् । आख्यानतर्फ विश्वेश्वरप्रसाद कोइराला र गोविन्दबहादुर मल्ल गोठालेले सुरु गरेको मनोवैज्ञानिक प्रयोगवादी धारालाई धुव्रचन्द्र गौतम, सरूभक्त र कृष्ण धारावासी आदिले मलजल गरिरहेछन् । पहिलो पुस्ताको वर्तमानता विद्यमान अझै छ भने नेपाली साहित्यको वर्तमान अवस्था कमजोर छ भन्न सकिने स्थिति रहेन नि !
० साहित्यप्रतिको दृष्टिकोण निर्माणमा समाजको पछिल्लो परिवेश कसरी अगाडि बढेको अनुभव गर्नुभएको छ ?
तपाईंले यस प्रश्नमा ‘परिवेश’ शब्दको प्रयोग गर्नुभएको छ । ‘परिवेश’ शब्दको अर्थ चारैतिरबाट घेरिएको क्षेत्र, सीमाभित्रको भू–खण्ड हुन्छ । म आँधीखोलाको तटीय गाउँ राङ्खोलामा जन्में, यो मेरो परिवेश भयो । परिवेश ग्रहहरूको पनि हुन्छ । सूर्यमण्डल, चन्द्रमण्डल, तारामण्डल आदि । तर, यहाँको परिवेशको अर्थ १,८१,१८१ वर्गकिलोमिटरमा फैलिएको नेपाल भन्ने बुभ्mछु । दृष्टिको अर्थ ठम्याउने चयन गर्ने ढंग वा तरिका हो । मान्छेका रुचि भिन्न–भिन्न हुन्छन् । ‘भिन्नरुचिहि लोक’ यस भनाइले पनि स्पष्ट हुन्छ । प्रौढ र युवाहरूका दृष्टिकोण, महिला र पुरूषका दृष्टिकोण छन् होलान् । विभिन्न जात–जातिका दृष्टिकोण पनि छन् ।
बहुलवादी समाजमा मात्र होइन; समाजवादी समाजमा पनि भिन्न दृष्टिकोण हुनसक्दछ । संसारको विगत इतिहास हेर्दा भिन्न दृष्टिकोणको परिणाम युरोपमा पनि देखियो; सोभियत संघमा पनि देखियो । साहित्यमा अनेकवाद छन् । स्वच्छन्दतावाद, प्रगतिवाद, परिष्कारवाद, छायावाद, अस्तित्ववाद, विनिर्माणवाद आदि । नेपालमै पनि उपयुक्र्तवादको प्रभाव प्रत्यक्ष र परोक्षरूपमा परेकै पाइन्छ । तरलतावाद, संरक्षणवाद, प्रमाणवाद, अस्वीकृत जमात, बुटपलिस आदिका साथै सडक कविता क्रान्ति; भिन्न दृष्टिकोणका उपज हुन् ।
‘छन्द बचाउँ’ अभियान यसैभित्र पर्छ । विषयभञ्जन, शैलीभञ्जन, र भाषाभञ्जन पनि दृष्टिकोणकै उपज हुन् । एकले अर्कोलाई समानान्तर धाराका भनिरहेछन् । एउटा इमान्दार पाठकले यी र यस्तै कुरा बुझेकै छ; सुनेकै छ । दृष्टिकोण निर्माणमा अन्योल छ । कतै नयाँ पुस्ता ‘उद्वत हुने त होइन ?’ भन्ने त्रास उपस्थित भएको छ । युवाहरूलाई सही दिशानिर्देश गर्ने काम गर्न नसकेकोमा मौजुुदा बुढो पुस्ताले पश्चाताप गर्नपर्ने हुन्छ ।
० स्याङ्जाली साहित्यको अवस्था कस्तो छ ?
–स्याङ्जालीको छुट्टै साहित्य त केही पनि छैन । दिइएको प्रश्नलाई स्याङ्जामा नेपाल साहित्यको स्थिति कस्तो छ ? भनेर नै मैले बुझें । स्याङ्जामा नेपाली साहित्यको स्थिति उजागर गर्नुपूर्व म अतीततिर नियाल्न चाहन्छु । २०४९ सालमा स्याङ्जा साहित्य परिषदले ‘स्याङ्जाको साहित्य चिनारी’ नाम दिएर एउटा संगालो प्रकाशित ग¥यो । त्यसमा गौरेश्वर अर्याल सतौँकोट र प्रल्हाद (नुवाकोट) दुई नाम देखापरे । तर, तिनका कृतिहरू पढेर, भेटेर होइन; रे रे सुनेर लेखिएको हो । उल्लिखित कृति उनीहरूद्वारा लेखिएका हुन् र देख्न पढ्न पाइयो भने गौरवकै कुरा हुन्छ । त्यो संगालो प्रकाशनका हिसाबले पहिलो कृति ईश्वरीप्रसाद उपाध्यायको ‘देशभक्त केटो’ (२००६) हुन आउँछ ।
‘देशभक्त केटो’ राजभक्ति तत्व दीपिका भाष्यको अनुवाद हो । मौलिक होइन । दोस्रो पण्डित दण्डपाणि शर्माको ‘विधवा विवाह’ (२००८) देखिन आउँछ । यो प्रबन्ध संग्रह हो समाज सुधार प्रयोजनको लागि लेखिएको । २०१२ देखि २०१६ सालभित्र डिल्लीरमण न्यौपानेका तीनवटा कृति प्रकाशित भए । आजको झ्याउरे (२०१२) ग्राम्य संघर्ष (२०१५) विधवाको करूण क्रन्दन (२०१६) । यी तीनै झ्याउरे लयमा लेखिएका छन् । २०१५ सालमा केदार शर्मा ढकालको ‘आँसु र पसिना’ प्रकाशित भयो । ‘आँसु र पसिना’ पाँचौ कृति हुन आउँछ । तेस्रो र छैठाैँमा डिल्लीरमणजीका पर्दछन् ।
०१७ पौष १ गतेको देशघाती कदम पछिका दुई वर्षभरि कुनै कृति पनि प्रकाशित भएको जानकारी मलाई छैन । त्यसपछिका दिनमा भने फाट्टफुट्ट नयाँ कृतिहरू आउन थाले । ०२५ सालमा ‘पोखिएका कनिका’ कविता संगालो प्रकाशित भयो । ‘पोखिएका कनिका’ मा १९ जना स्याङ्जाली कविका २९ वटा कविता संकलित छन् । त्यतिखेरसम्म गद्यमा कलम चलाउने स्याङ्जालीहरू कमै थिए । राजनीति र प्रशासकीय अनुभव भएका हृषिकेश शाह र सरदार भीमबहादुर पाण्डेले जे दिए ती ग्रन्थहरू पठनीय र संग्रह गर्नपर्ने नै थिए र छन् । समग्रमा स्याङ्जाले नेपाली साहित्यमा संख्यात्मक मात्र होइन; गुणात्मक कृतिहरू दिएकै छ । निराश हुनपर्ने स्थिति छैन ।
० संस्थागत ढंगले काम गर्दाका अनुभव बताइदिनुस् न !
–साहित्यक पत्रिकाको प्रकाशन गर्ने कामको सुरुवात संस्थागत रूपले नै गरेको हुँ मैले । २०१९ सालमा ‘पश्चिम ४ नम्बर छात्रमण्डल’ को स्थापना भयो वनारसमा म संस्थापक सदस्य हुँ । यो संगठनले कवितै कविताको ‘कल्याणी’ वार्षिक पत्रिका प्रकाशित गर्यो । हालको स्याङ्जा र पर्वत जिल्ला ‘पश्चिम ४ नम्बर’ इलाकाभित्र पर्दथे । यसैले पश्चिम ४ नम्बरको परिवेश फराकिलो थियो । प्रत्येकले १ रूपैयाँ र २–२ रूपैयाँका दरले उठाएर ‘कल्याणी’ प्रकाशित गर्दथ्यौँ । त्यहाँ कुनै अफ्ठ्यारो भएन । १० रूपैयाँ सहयोग गर्ने त एक दुई मात्र हुँदा पनि त्यो चल्यो ।
सन् १९६६-०६७ मा प्रदीप गिरि, चक्रप्रसाद बाँस्तोला, भागवत ज्ञवाली र मसमेत भएर तीनमहिने साहित्यक पत्रिकाको प्रकाशन गरियो; नाम थियो ‘रहर’ । रहर स्तरीय थियो । त्यसमा ईश्वर बरालका समालोचना, तारणीप्रसाद कोइरालाका कथा र मोहन कोइरालाका कविता पनि छापिएका थिए । वरिष्ठ लेखक, कविका खँदिला रचनाहरू प्रदीप गिरिकै प्रयत्नले जोडिएका हुन् ।
२०२४ सालबाट म स्याङ्जामा नै बसेर नै सिर्जना गर्दै रहे पनि प्रकाशन गर्ने अवसर नै मिलेन; जुरेन । २०४६ को परिवर्तनपछि मात्र दिग्द्वारी खुले । २०५२ मा स्याङ्जा साहित्य प्रतिष्ठानको स्थापना ग¥यांै । शिवकुमार अधिकारी, विश्वप्रेम अधिकारी र जयप्रसाद पौडेलको एकलव्य चिन्तनबाट प्रतिष्ठानको गठन भएको हो । प्रतिष्ठानले २०५५ सालबाट ‘रजस्थल’ साहित्यिक पत्रिका प्रकाशनको आरम्भ गर्यो । अंक १ देखि अंक १३ सम्म मैले नै सम्पादन गरें । जेजस्ता लेखे पनि सम्पादकीय म आफैले लेखेँ ।
त्यसपछि प्रतिष्ठानको नेतृत्वमा जयप्रसाद पौडेल आए । उनको तीनवर्षे कार्यकालमा २ संयुक्तांकसमेत गरी जम्मा ७ अंक प्रकाशित भए । त्यसपछि म अध्यक्ष भएँ । २३औँ अंकदेखि ऐलेसम्म निरन्तर क्रियाशील छु । आजका दिनसम्म संयुक्तांक समेतलाई दुई अंक गणना गर्दा ७७ अंक प्रकाशित भएका छन् । यसबीचमा देवकोटा विशेषांक, भीमनिधि तिवारी विशेषांक, भानुभक्त विशेषांक, विश्वेश्वरप्रसाद कोइराला विशेषांक, र अन्तर्वार्ता विशेषांक, प्रकाशित भएका छन् ।
सुरूका तेह्र अंक र २३ देखि ७७ अंकमध्ये एउटामा वनवासीको, तीनवटा अंकमा प्रमोद पंगेनीका सम्पादकीय रहे । अरू सबै मैले नै लेखेको छु । साहित्यिक गतिविधिहरू गर्दा पत्रिका प्रकाशन गर्दा सबभन्दा ठूलो चुनौतीको सामना गर्नुप¥यो । पत्रिकाको आयस्रोत भनेको आजीवन सदस्यता र विशेष आजीवन सदस्यता शुल्क नै हो । कार्य समितिका सदस्य र सबै पदाधिकारीहरू उदात्तरूपमा लागेको भए चुनौती घट्थ्यो । मित्रहरूबाट बोलीमा लोली मिलाउने काम मात्र भयो; एकाग्र क्रियाशीलता भएन । कार्यसमितिका साथीबाट बौद्धिक जिम्मेवारी पूरा भएन । राम्रो कागज, रंगीन कभर र मेटल प्लेटको छपाइले पत्रिका आकर्षक त भयो तर खर्च बढी हुन थाल्यो, कार्यक्रम गर्ने भन्यो निर्णय सर्वसम्मत हुन्छ ।
चिठी बनाएर बाँड्ने, ब्यानर बनाउने, कार्यक्रम हुने हलको व्यवस्था गर्ने, पाहुनाहरूको आवास–भोजनको व्यवस्था, ब्याच बनाउने, खादा दोसल्ला किन्ने, फूल अबिरको व्यवस्था गर्ने, सम्मान–पत्र तयार गर्ने यावत् काममा म प्रायः एक्लो रहेँ । ०७० सालतक यही क्रम रह्यो । पछिल्लोपटक बनेको कार्यसमितिमा केही युवाहरू आउनुभयो । बाबुकुमार सिग्देल, रविन केसी, मिलन समीर र शम्भु अर्यालजस्ता भाइहरूबाट प्राप्त सहयोगले यो सत्तरी वर्षे बुढो सुगाले राहत महसुस गरेको छ । तर, आर्थिक समस्या ज्युँंका त्युँं छ ।
० यहाँले स्याङ्जा जिल्लाको लोकसाहित्य, संस्कृति तथा कलाको अध्ययन र त्यसका चुनौतीका बारेमा केही बताइदिनुस् न ?
– यो प्रश्नले मेरो रुचिको क्षेत्रतिर मलाई आमुख गराएको छ । प्रश्न गर्नुभएकोमा सर्वप्रथम म तपाईंलाई धन्यवाद दिन दिन्छु । मेरो लोक साहित्य संस्कृतिको अध्ययनको परिवेश त्यति फराकिलो छैन । प्रथमतः स्याङ्जा र यसका छिमेकी जिल्ला पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी र पाल्पा केन्द्रित अध्ययन हो मेरो ।
यो क्षेत्रमा मेरो रुचि जगाउने ग्रन्थ कालीभक्त पन्तको ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८) हो । त्यसको भूमिकामा पन्तजीले मलाई पनि समावेश गर्नुभएको छ । त्यसपछि धर्मराज थापा, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.जयराज पन्तसमेतका लोक साहित्यका पुस्तकहरूको अध्ययन गरेँ । जुम्लाका रत्नाकर देवकोटा र काभ्रेका कृष्णप्रसाद पराजुलीका लोक साहित्यका कृति पनि पढँें । उपर्युक्त विद्वान अन्वेषकका ग्रन्थले प्रत्यक्ष र परोक्षरूपमा म प्रभावित भएर स्याङ्जालाई नै आफ्नो अध्ययनको थलो बनाएँ ।
लोक साहित्यको खोज र संकलनमा क्षेत्रकार्य अनिवार्य पक्ष हो तापनि कालीभक्त पन्त, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.जयराज पन्त, धर्मराज थापा र रत्नाकर देवकोटाका ग्रन्थहरू यो विधिअनुरूप तयार भएका देखिन्छन् भने पराजुलीको आंशिक क्षेत्रकार्य भएको जस्तो लाग्छ ।
हालसम्म मैले तीनवटा लोक साहित्यसम्बद्व पुस्तक आँधीखोले लोक संस्कृति र लोकगीत (२०५७), पश्चिमाञ्चलका लोकगीत र परम्परा (२०५८), आँधीखोले लोक साहित्य प्रस्तुति र विश्लेषण (२०५९) प्रकाशित गरेको छु । पछिल्ला दिनहरूमा केही पुराना भाकाका गीतहरूको विश्लेषण गरेर लेखिएका लेखहरू पत्रिकामा प्रकाशित भएका छन् तर संग्रहमा परेका छैनन् । पहिलो कृतिको प्रति पनि मसँग नभएकाले त्यसैमा थैथाप गरेर दोस्रो संस्करण निकाल्ने चिन्तन बोकेर बसेको छु ।
तपाईंको प्रश्नमा ‘कला’ शब्दको पनि प्रयोग भएको छ । ‘कला’ भन्नाले सबै सिर्जनाहरू बुझ्नपर्छ । ललितकला, वास्तुकला, मूर्तिकला, संगीतकला, गायनकला, नृत्यकला सबै कला नै हुन् । कलाको व्यापकतालाई बुझेर स्याङ्जा साहित्य प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य–कला’ पुरस्कारको स्थापना गरेको हो ।
कलामा अद्भूत शक्ति हुन्छ । सुमधुर संगीतको स्वर सुनेर मान्छे मात्र होइन अहिंस्रक पशु र जनावर पनि लठ्ठ पर्छन् । अनुभव साटौँ न त । मैले आफ्नै छोराछोरी र नातिनातिनीहरू रूँदै गर्दा हातले उठाएर काख लिएको छु, फुल्याउने प्रयत्न गरेको छु । यी सबै प्रयत्न व्यर्थ भएपछि आँगनको डिलतिर फुलेको इन्द्रकमल वा शतवरी टिपेर देखाउँदा, गालामा आँसुको धर्सो नसुक्दै खिस्स हाँसेर हातमा लिएको देखेको छु । कुनै रंगीन चित्र देखाउँदा पनि रूदैँ गरेको शिशु फुलिएको देखेको छु । कुनै छन्दोबद्व कविता पंक्ति सस्वर वाचन गर्दा पनि फुलिएको देखेको छु । यस्तै त हो नि कलाको सामाथ्र्य ।
यो क्षेत्रमा मेरा चुनौती भनेका एकै ठाउँमा बसिरहन नसक्नु, आजका साधनहरू (मोवाइल, कम्प्युटर आदि) प्रयोग गर्न नजान्नु, लामो यात्रा गर्न नसक्नु आदि आदि हुन् । जुनवेला म सबै कुराले सक्षम थिएँ त्यो वेला द्वन्द्व उन्कर्षमा थियो । नेपाली सेना र माओवादीबाट बच्न खोज्दा हिँड्न घुम्न सकिन त्यसैले संकलन अधुरो हुनपुग्यो ।
० नेपाली साहित्यमा स्याङ्जाको आन्दोलन कहाँ छ ?
– साहित्यकार, कलाकारहरू राष्ट्रका सम्पत्ति हुन्; राष्ट्रका गौरव हुन् । यस क्षेत्रमा साधनरत् स्याङ्जाली जहाँ बसे पनि सिर्जनामा रमाएका छन् भने खोजेको पनि त्यही हो । प्रश्नमा आएको ‘आन्दोलन’ शब्दले कुन सन्दर्भलाई संकेत गरेको हो ? मैले बुझिन । प्रयुक्त शब्दको संकेत स्वच्छन्दतावाद र प्रगतिवादतिर हो भने स्याङ्जा साहित्य प्रतिष्ठानले एक पक्षीय चिन्तन बोकेको छैन । युवासर्जकहरू सोझै कित्ताकाट गरेर दुई समूहमा विभाजित भएको पनि मैले पाएको छैन । सबै–सबैले आयोजना गरेको कार्यक्रममा सबै जान्छन् र आ–आफना रुचिका गजल, मुक्तक, हाइकु वाचन गर्दै रमाउँछन्; राम्रै भएको छ ।
प्रगतिशील वा प्रगतिवादी लेखक संघ (प्रलेस.) र नेपाली लेखक संघ २००८ सालतिरै जन्मेका हुन् । प्रलेसको नेतृत्व श्यामप्रसादले गर्नुभएझैं लाग्छ । लेखक संघको नेतृत्व गोविन्दबहादुर मल्ल गोठालेले गर्नुभएको थियो । उसो त महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठलाई स्वच्छन्दतावादी र प्रगतिवादी कवि भनेर चिनाउने परम्परा अद्यावधि छँदै छ ।
० नेपाली साहित्यको विकासका लागि के गर्नुपर्ला ?
नेपाली साहित्यको विकासका खातिर धेरै कुरा भएका छन् र हुन पनि धेरै बाँकी छन् । भइरहेका साधन र स्रोतको दुरूपयोग नहुने हो भने धेरै काम हुन सक्छन् । नेपाली साहित्यको विकासमा निजी क्षेत्रले पनि धेरै काम गरेको छ । संस्थागत र व्यक्तिगत प्रयासमा प्रकाशित भएका पत्रिकालाई संस्थागत सहयोग भएको छैन । अधिकतर स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्र मानेका छन् । साहित्य–कला–संस्कृतिको क्षेत्रको सहयोगका लागि भनेर बजेट विनियोजन नै गर्दैनन् । साहित्य राजनीतिबाट निर्देशित हुनु राम्रो होइन ।
निर्देशित भएर लेखिएको साहित्यमा कलापक्ष गौण हुन्छ र सिर्जना फितलो हुन्छ । सत्यको उद्घाटन, शिवत्वको आग्रह र सौन्दर्यको प्रचुरतामा नै सिर्जना खँदिलो र रसिलो हुने हुँदा स्रष्टालाई ‘ऋतम्भरा’ भनिएको हो । साहित्यको विकासमा प्रथमतः साहित्यकारहरूकै भूमिका महत्वपूर्ण हुन्छ; दोस्रोमा संघीय सरकार र प्रदेश सरकारको सकारात्मक भू्मिकाले महत्व राख्दछ । ‘स्वतन्त्रताकवय ः’ भन्ने भनाइले अभिव्यक्ति स्वतन्त्रतालाई महत्व दिएको छ । त्यसैले अंकुश सर्वथा त्याज्य छ । नारा फलाक्नेहरू स्रष्टा हँुदैनन् । साहित्यकारको सम्मान उनीहरूकै सिर्जनाको आधारमा बढ्ने हो; हुने हो ।
वर्तमानमा प्रदेश सरकारले पनि प्रदेश स्तरमा प्रज्ञा–प्रतिष्ठान गठन गर्ने तयारी गर्दैछन् । यो सकारात्मक पक्ष हो । गण्डकी प्रदेशले ऐनको मस्यौदा गरेर प्रदेशका सबै जिल्लाका लेखक, कलाकार र पत्रकारको उपस्थितिमा प्रस्तावित ऐनका प्रतिहरू हातहातमा थमाउँदै सुझाब संकलन पनि गरेको छ । यसमा राजनीतिक पक्षरता कति हावी हुने हो–हेर्न बाँकी नै छ ।
० समाज रूपान्तरणमा साहित्य–कला–संस्कृतिको भूमिका अहम् रहे पनि यसप्रतिको राज्यको दृष्टिकोण त्यस अनुकूल छैन नि ?
–समाज रूपान्तरण आजको भोलि हुने होइन । संभ्रान्तवर्ग, मध्यमवर्ग र निम्नवर्ग आजसम्म हरेक मुलुकमा छन् । समाजवादी भनिएका देशमा पनि आर्थिक असमानता विद्यमान छ । समाजवादी देशमा आर्थिक भ्रष्टाचार नहुनु पर्छ । चीन, क्युवा, उत्तर कोरियाजस्ता देशमा आर्थिक भ्रष्टाचार गरेर अपदस्थ भएका समाचार आइरहेका छन् । चीन त झन् सांस्कृतिक क्रान्ति भएको देश हो; त्यहाँ पनि सम्भ्रान्तवर्ग छ ।
सदियौँदेखि चलिआएको ‘सक्नेले कुम्ल्याउने’ कुसंस्कारको अन्त्य हुनपर्यो नि ? कुसंस्कार बोक्नेहरूबाट समाज रूपान्तरण हुँदैन । दोस्रो कुरा– समाज रूपान्तरण हुन मुलुकका नागरिक पूर्णशिक्षित हुनुप¥यो । विश्वविद्यालय र महाविद्यालयहरू भ्रष्टाचारबाट मुक्त हुनप¥यो । जीवन जिउने कला सिकाउने शिक्षानीति हुनप¥यो ।
तपाइको प्रश्नमा साहित्य, कला र संस्कृति गहन अर्थ बोकेका तीनवटा शब्द छन् । पहिला तेस्रो शब्द सम्बद्ध विषयमा केही भनौं । संस्कृति कुनै पनि जातिको पहिचानको प्रमुख आधार हो । ‘कुनै पनि जातिलाई परिचयविहीन बनाउनु छ भने पहिला त्यो जातिको संस्कृतिमाथि हमला गर्नुपर्छ र नामेट पार्नुपर्छ’ भन्छन्, तर हाम्रो संस्कृतिभित्र विकृति पनि जोडिन आएका छन् । ती विकृतिहरू धुँदै जानुपर्छ । साहित्य र कलाको माध्यमबाट सुसभ्य समाजको निर्माणको कल्पना गर्न सकिन्छ । संघीय सरकार मातहत तीनवटा प्रज्ञा–प्रतिष्ठानमा राम्रा मान्छे भए साहित्य र कलाको व्याख्या (भाष्य) भएर पठन संस्कृतिको विकास हुँदा समाजको विकास अनिवार्य हुन्छ ।
प्रतिक्रिया