सुमार्गीको बैंक खाता रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादस्पद व्यापारी अजयराज सुमार्गीको बैंक खाता रोक्का गरेको छ । अवैध धन भित्राएकोमा अनुसन्धान गरिरहेको विभागले वाणिज्यतर्फका सबै बैंक खाता रोक्का गरेर अनुसन्धान जारी राखेको हो ।

ट्याक्स हेवन कन्ट्रीबाट अवैध रकम नेपालमा ल्याएको मुद्दामा सर्वोच्चले समेत आदेश दिएकाले विभागले अनुसन्धान जारी राखेको छ । सुमार्गीले मुक्ती श्री सिमेन्ट उद्योगका लागि भन्दै भित्र्याएको रकमका विषयमा सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन भए÷नभएको विषयमा जानकारी माग गरेको थियो । सर्वोच्चले सुमार्गीले ल्याएको रकम सम्पत्तिको वैधयता जाँच गरेर ६ महिनाभित्र बुझाउन आदेश दिएको थियो ।

तर, विभागले त्योभन्दा अगाडिदेखि नै अनुसन्धान गरिरहेको थियो । विभाग स्रोतले दिएको जानकारी अनुसार सुमार्गीका वाणिज्य बैंकका सबै खाता तत्कालका लागि रोक्का गरिएको छ । उनको खातामा देखिएको १५ अर्बभन्दा बढी रकमका विषयमा अनुसन्धान जारी रहेको छ । पहिलो अनुसन्धानमै विभागले सुमार्गीले भित्राएको सम्पत्तिको स्रोत नखुलेको र उनले आर्जन गरेको सम्पत्तिमा समेत वैधानिक स्रोतबाट नदेखिएको निष्कर्ष निकालेको थियो ।

सर्वोच्चको आदेश अगावै विभागले गरेको अनुसन्धानबाट यो निष्कर्ष निस्किए पनि त्यहाँबाट अगाड िबढ्न सकेको थिएन् । तर, सर्वोच्चको आदेशपछि भने विभागलाई अनुसन्धान गर्न सजिलो भएको छ । विभागले पहिलो चरणमा सुमार्गीको बैंक खाता रोक्का गरेर अध्ययन गरिरहेको उच्च अधिकारीले जानकारी दिएका छन् । विभिन्न वाणिज्य बैंक र अन्य वित्तीय कम्पनीमा सुमार्गीको नाममा रहेको रकम अध्ययन गर्नका लागि पहिलो चरणमा नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरूको खाता रोक्का गरिएको छ ।

सुमार्गीले आय आर्जन गरेको सम्पत्तिसँगै विदेशबाट लगानीका लागि भन्दै भित्राएको रकमको विषयमा पटक–पटक उजुरीसमेत परेको र नेपाल राष्ट्र बैंकले समेत रोक्का राखेर अनुसन्धान हुनुपर्ने सुझाव दिएपछि विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागका एक उच्च अधिकारीका अनुसार विभागले पहिलो चरणमा खाता रोक्का गरेर अनुसन्धान गरिरहेको छ । त्यो चरण सकिएलगत्तै उनलाई विभागमा बोलाएर स्पष्टिकरण सोधिने बताए ।

‘पहिला हामी अनुसन्धान गर्दछौँ, रकम अबैध भएको पुष्टि भएपछि उनलाई बयानका लागि बोलाउछौँ’ विभागका एक उच्च अधिकारीले भने । विभिन्न व्यवसायमा संलग्न रहेका सुमार्गीले सिमेन्ट र सञ्चार क्षेत्रमा लगानी गर्न भन्दै साइप्रस लगायतबाट लगानी रकम भित्राएको दाबी गर्दै आएका थिए । तर, राष्ट्र बैंकले भने यस्तो रकमको स्रोत नखुलेको भन्दै रोक्का राखेको थियो । सर्वोच्चका न्यायाधिश दीपकराज जोशीको इजलासले रकम झिक्नका लागि अन्तरिम आदेश दिएका थिए ।

सर्वाेच्चको उक्त आदेशसँगै सुमार्गीले ८३ करोड २५ लाख र त्यसअघि नै २ अर्ब २५ करोड रुपैयाँ झिकेका थिए । सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएको मध्ये २ अर्ब रुपैयाँभन्दा अदालतको आदेश देखाउँदै झिकेका थिए । सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) खातामा वैदेशिक लगानी भन्दै जम्मा पारेका थिए । तर, अहिलेसम्म काम नभएको भन्दै सर्वोच्चले आफुविरुद्ध फैसला दिनसक्ने चाल पाएका सुमार्गीले सुर्खेतमा सिमेन्ट कारखाना खोल्ने घोषणा गरिसकेका छन् ।

व्यवसायी सुमार्गीले २ अर्ब बराबरको लगानी गरी चौकुनेमा सिमेन्ट कारखाना स्थापना गर्न लागेको बताए । ‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गर्छु’, सुमार्गीले भने, ‘यहाँ उत्पादन भएको सिमेन्ट दिल्ली र लखनउमा बेच्छु ।’ सिमेन्ट कारखाना स्थापना हुनेमा अब कुनै पनि शंका नरहेको उनले बताए । उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । नेपाल स्याटलाइट कम्युनिकेसनका लागि भन्दै उनले रकम भित्र्याएका थिए । उक्त विवादमा पनि सम्पत्ति शुद्धीकरण विभागले रोक्का राख्न राष्ट्र बैंकलाई पत्र लेखेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उक्त रकम सुमार्गीले झिकेका थिए । उक्त मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया