प्रदर्शनीमा चित्र, मूर्ति र वास्तुकला

काठमाडौं । कलाकार शंकरनाथ रिमालको एकल कला प्रदर्शनी हुने भएको छ । बिहीबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा रिमालले ३० वर्षदेखि बनाएका कलाकृति राखिँदै छ । इन्जिनियर, आर्किटेक्ट, चित्र, मूर्तिकलाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उनको ‘चित्र, मूर्ति तथा आर्किटेक्चर रेट्रोस्पेक्ट एक्जिविसन (महाप्रदर्शनी) गर्न लागिएको रिमालले जानकारी दिए ।

लामो समयदेखि एकल प्रदर्शनी नगरेको र अहिलेसम्म आफूले तयार पारेका मुख्य कलाकृति प्रदर्शनीमा राख्न लागिएको उनले बताए । उनले भने, ‘आजसम्म मैले कुनै पनि एकल प्रदर्शनी नगरेकाले यसपटक गर्न लागेको हुँ ।’ नेपाल आर्ट काउन्सिलमा महासचिवसमेत रहेका रिमालले आफ्ना काम जनतामा समर्पण गर्ने नै मुख्य उद्देश्य रहेको जिकिर गरे ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी तथा रिमालको ८५औँ वर्ष प्रवेशका अवसरमा निजी आवास नक्साल नारायणचौरस्थित शंकर शशि ग्यालरीमा हुन लागेको प्रदर्शनीमा करिब ५० चित्र, एक सय आर्किटेक्चर र २० मूर्ति राखिने छ । उनका चित्र मूर्त, अमूर्त दुवै शैलीमा बनेको पाइन्छ ।

उनले एक्रेलिक, जलरङ, पेन एन्ड इन्क, चारकोल, पेन्सिल, मैन लगायतका विविध माध्यमबाट बनाइएका चित्रमा आध्यात्मिकता, स्थिर वस्तुचित्रण, यथार्थवादी, मुहारचित्र, न्युड, फिगरेटिभ भू–दृश्यलगायतका भावजन्य कलाकृति प्रदर्शनीमा राखिने रिमालले जनाए । त्यस्तै, तामा, ढलोट, काँसलगायतका विभिन्न माध्यमबाट बनाएका उनका मूर्तिमा अमूर्त भाव पाइन्छ ।

कलाकार लैनसिंह बाङ्देलबाट प्रशिक्षित उनी न्यु आर्ट सर्कलका संस्थापक अध्यक्ष र सोसाइटी अफ मोडर्न आर्टका कार्यकारी सदस्य समेत हुन् । चारपटक नेपाल इन्जिनियरिङ एसोसिएसनको नेतृत्व गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहिसकेका छन् । रिमालको ‘लुम्बिनी चक्र’ शीर्षक पुस्तक प्रकाशित छ भने ‘श्रीयन्त्र’ र आत्मजीवनी प्रकाशनोन्मुख छन् ।

रिमालले नेपालका महत्वपूर्ण सम्पदामध्ये सहिदढोका, नारायणहिटी दरबारको भू–दृश्य वास्तुकला, मंगल सदन र नानीगञ्ज, नेपाल प्रज्ञा प्रतिष्ठान, सोल्टी होटल, भरतपुरको दियालो बंगला, पशुपतिनाथको उन्मत्त भैरव, देवघाटको नर्मदेश्वर र हरिऔनको चतुर्भुजेश्वर मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर, सिंगापुरमा विष्णु मन्दिर र अमेरिकामा हिन्दू मन्दिर, हिँड्ने र खुट्टेघर, सिंहदरबारस्थित पहिलेको परराष्ट्र मन्त्रालय भवन, जनकपुर चुरोट कारखाना, जनकपुरस्थित रामानन्द चोकको ढोका, देवघाटको सन्न्यास आश्रम, नक्साल काठमाडौंको रेयुकाई भवन, स्याङ्जाको गोरखा स्मारकलगायत थुपैै्र निजी भवनको समेत डिजाइन गरेका छन् ।

नेपालको राष्ट्रिय झण्डाको स्तरीकरण गर्ने मापदण्ड उनले नै तयार गरेका हुन् जुन नेपालको संविधान २०१९ देखि हालसम्म कायम नै छ । स्पेस म्यागाजिनको आयोजनामा गर्न लागेको उक्त प्रदर्शनीको उद्घाटन वाङ्मय शताब्दी पुरुष जोशीले गर्ने जनाइएको छ । प्रदर्शनी चार दिनसम्म चल्नेछ ।

प्रतिक्रिया