अस्वभाविक मुल्यवृद्धि

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा मुल्यवृद्धि बढेको छ । एक महिनामै शुन्य दशमलव ९ प्रतिशतले मुल्य बढेको हो । चैतमा ४.४ प्रतिशत रहेको मूल्य बृद्धि दर बैशाखमा आउँदा ५.३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा मूल्यवृद्धि बढी देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ४ दशलमव १ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको मूल्यवृद्धि २० प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ । भारतको मूल्य बृद्धि दर घटेको भएपनि नेपालमा मूल्य बृद्धि दर बढ्नुलाई अर्थविद्ले समेत आश्चर्य प्रकट गरेका छन् । लक्ष्यभन्दा तलै भए पनि एकै महिनामा करिव १ प्रतिशत बिन्दु हाराहारीले मूल्य बृद्धि बढ्नु भनेको अस्वभाविक रहेको उनिहरुको भनाई छ ।

राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको बैशाखसम्मको विवरणमा खाद्यान्नको मूल्य बृद्धि उच्च देखिन्छ । गत चैतमा खाद्यान्नको मूल्य बृद्धि दर २.८ प्रतिशत थियो । बैशाखमा यो बढेर ५.८ प्रतिशत पुगेको छ । गैरखाद्यान्न जस्तो, लुगाफाटा, फर्निचर, यातायात सेवाको भाउ खासै बढेको छैन । गैर खाद्य समूहको मूल्य बृद्धि चैतमा ५.७ थियो भने बैशाखमा ५.८ प्रतिशत मात्र पुगेको छ ।

यस्तै, चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा (शोधनान्तर स्थिति) ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको हो ।

यो वर्षको सुरुदेखि बढ्दो दरमा रहेको शोधनान्तर गत माघ महिनासम्म सुध्रिदो अवस्थामा देखिएको थियो । त्यो सुधार धेरै समय टिकेन । फागुन र चैतदेखि पुनः उकालो लाग्न थालेको हो । यही क्रममा बैशाखसम्म शोधनान्तर घाटा सवा ६८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । गत चैतमा मुलुकको शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो। ०७५ चैतमा शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ थियो । त्यसो त भुक्तानी सन्तुलन ऋणात्मक भएको यो पहिलो घटना होइन । गत दुई आर्थिक वर्षका अधिकांश महिना शोधनान्तर ऋणात्मक थियो ।

यस्तै, रेमिट्यान्स आप्रवाहमा भने वृद्धि भएको छ । यो १० महिनामा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको हो । १० महिनामा रेमिट्यान्स बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया