शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक विषयतगत अध्यपन अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाइसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने आयोगले जनाएको छ ।

माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको आयोगका प्रवक्ता डा. तुलसी थपलियाले जानकारी दिए । उनले भने, ‘पहिलो त योग्यता र तालिम पूरा गर्नेहरूले परीक्षा दिन पाउँनेछन् । अर्काे कुरा, शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभए पनि परीक्षा दिन पाउने व्यवस्था गरिँदैछ ।’ साथै, साबिकको उच्च माध्यमिक तहमा कार्यरत भएका कारणले अस्थायी लाइसेन्स पाउनेहरूका निम्ति पनि जाँच दिने अवसर दिन लागिएको हो ’। शिक्षा ऐनको आठौं संसोधनले लाइसेन्ससम्बन्धी गरेको व्यस्थाअनुरूप विज्ञापन खुलेको उनले बताए । साथै, पहिलो पटकअनलाइन प्रणालीमार्फत फारम भर्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।

जसअनुसार माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णांकसहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरूमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानुन, बाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साबिक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।

यस्तै, माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा तीन सय पूर्णांकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस परीक्षामा सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, प्राथमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णांकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, र निम्न माध्यमिक तहको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा दुई सय पूर्णांकसहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिना अवधिको तालिम लिएको हुनुपर्ने छ ।

लाइसेन्सका लागि असार २२ गतेसम्म फारम भर्न सकिनेछ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ । प्राविका लागि पाँच सय निमाविका लागि सात सय र माविको उल्लिखित तिनै प्रकारका लागि हजार रूपैयाँ दरखास्त दस्तुर तोकिएको छ । पछिल्लोपटक मावि र निमाविको लाइसेन्स ०७२ सालमा र प्राविको लाइसेन्स ०६८ सालमा खोलिएको थियो ।

प्रतिक्रिया