गुठी विधेयक सच्याइन्छः प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याउने बताएका छन् । युरोपकको औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने बताए ।

उनले भने, ‘जनतालाई सर्वोपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याइने छ ।’ कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ ।

आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिए । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको युरोप भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी दिए ।

प्रतिक्रिया