अभावै अभावमा आवासीय विद्यालय सञ्चालन

मुगु । यार्सा संकलन समयमा पूर्णरूपमा बन्द रहने मुगुम कार्मारोङ गाउँपालिकाका १७ वटा विद्यालय मध्ये अहिले एक मात्र आवासीय विद्यालय समस्या र अभावैअभावमा पनि चलिरहेको छ ।

गाउँपालिकाको ताखा गाउँको १ कक्षादेखि ३ कक्षासम्मको विद्यालयलाई आधार बनाएर आधारभूत विद्यालय पुलमा यो वर्षदेखि आवासीय विद्यालय सञ्चालनमा ल्याए पनि प्रारम्भिक चरणमा भवन, खानेपानी, शौचालयको समस्या देखिएको छ । तर, पहिले गाउँको विद्यालयमा जाँदा शिक्षक नभेटाउने विद्यार्थीले अहिले बिहान, बेलुकी र दिउँसो राम्रोसँग पढ्न पाएका छन् । ‘गाउँमा कहिले पनि सरहरू नबस्ने अनि हामीले पढ्न पनि पाउथेनौँ । अहिले आवासीय भएपछि राम्रोसँग पढ्न पाएका छौँ । तर, खानेपानी शौचालय र बस्ने कोठाको केही समस्या छ,’ कक्षा ५ मा अध्ययन गरिरहेकी रिउस गाउँकी छेञ्जोङपाल्मुले बताइन् ।

आवासीय विद्यालय सञ्चालनको सुरु वर्ष भौतिक पूर्वाधारको अभाव, पुरानो शौचालय, नदी र खोलाको खानेपानी लगायतका केही समस्या रहे पनि विद्यालय सञ्चालन भइरहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ताखाका प्रधानाध्यापक कुशलबहादुर शाहीले बताए । अहिले ४ र ५ कक्षाको आवासीय विद्यालय चलिरहेको सरस्वती आधारभूत विद्यालयका ४३ जना विद्यार्थी सबै यार्सा टिप्न हिमालतिर गएका छन् । उक्त विद्यालयमा ताखा, खारी रिउसमा १ देखि ३ कक्षा पास गरी आएका ४ र ५ कक्षाका ३६ जना विद्यार्थी पढिरहेका छन् । मुगु, चिताई, किम्री, दाउरा, सेरोगका विद्यालयका विद्यार्थी यार्सा टिप्न हिमालतर्फ गएकाले यार्साबाट फर्केपछि मात्र उनीहरू विद्यालय आउने शाहीले बताए ।

यस क्षेत्रको शैंक्षिक अवस्था बिग्रिएको आलोचना हुन थालेपछि मुगुम कार्मारोङ गाउँपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने संसद्हरूको पहलमा आवासीय विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयले स्वीकृति दिएपछि यो विद्यालय सञ्चालनमा आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए ।

तत्काल आवासीय विद्यालय सञ्चालन अनुमति दिँदा शिक्षा मन्त्रालयले स्थानीय स्रोतबाट अनुमति दिएपछि चालु आवका लागि गाउँपालिकाले १५ लाख बजेट व्यवस्था गरेको र आगामी वर्षका लागि पनि यसलाई निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको जनाएको छ । यसै गरी आवासीय विद्यालय सञ्चालन गर्न प्रदेश सरकार र संघीय सरकारले आगामी आर्थिक वर्षका लागि केही बजेट व्यवस्था गरेको बताइएको छ ।

यता विद्यालय सञ्चालनका लागि विभिन्न गैरसरकारी संस्थाले स्टेसनरी, भाँडाकँुडा, कपडा व्यवस्था गरिदिएका छन् भने कतिले खानेपानी, शौचालयको व्यवस्था गरिदिन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइका अनुसार ४ देखि ७ कक्षासम्म सञ्चालन भइरहेको यो विद्यालयलाई अहिले ४ र ५ कक्षाको आवासीय बनाइए पनि बिस्तारै १० कक्षासम्म आवासीय बनाउँदै लैजाने लक्ष्य रहेको छ ।

प्रतिक्रिया