काठमाडाैँ । धादिङबाट केही दिन अघि पक्राउ परेका गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) लाई तत्काल नछाडे नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका धादिङ तरुण दलका उपाध्यक्ष समेत रहेका गुण्डा नाइके राधेले जनतालाई लुटपाटा गरेर दुःख दिने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पार्टी कार्यलय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन् ।
जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको अध्यक्ष बस्नेतले बताए ।
गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको बताए पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतको आरोप छ । घटनामा संलग्न नरहेका भण्डारीलाई गलत नियतले सरकारले फसाउन खोजेको आरोप लगाउँदै उनलाई पक्राउ गर्ने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको मागसमेत गरेको छ ।
नेपाली कांग्रेस भातृ संगठन तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनमा उत्रने शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ ।
प्रतिक्रिया