स्वास्थ्य सेवा गुणस्तर सुधार हुँदैछ : थापा

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन कुमार थापाले ठूला दलका नेताहरू उपचारको लागि विदेसिने क्रम कम भएको भन्दै यो नेपालको स्वास्थ्य सेवामा गुणस्तर सुनिश्चितताको प्रमाण भएको बताएका छन् । नेताहरूले देशकै स्वास्थ्य सेवालाई विश्वास गर्ने अवस्था आउने र स्थानीय तहमा उपलब्ध सेवामा पनि सोही ठाउँका जनप्रतिनिधिले त्यहाँका अस्पताललाई विश्वास गर्नसक्ने ठाउँ बनाउन सके मात्रै स्वास्थ्य सेवाको गुणस्तरीयतामा आम जनताको विश्वास बढ्ने बताए ।
‘दल्यान्ड सेट कमिसन फर हाइ क्वालिटी हेल्थ सिस्टम’ को विश्व स्वास्थ्य अवस्था सम्बन्धी प्रतिवेदनले सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  सरकारले कुनै पनि अस्पताललाई सञ्चालन अनुमति दिएका निजी क्षेत्रका अस्पतालहरूको स्वतः गुणस्तरसमेत सुनिश्चितताको जिम्मेवारी सरकारकै हुने उनले बताए । ‘सरकार सेवा प्रदायक होइन, व्यवस्थापक हो, जहाँबाट सेवा लिएपनि त्यसको गुणस्तरीयताको सुनिश्चिता सरकारले गर्नुपर्छ,’ उनले भने ‘अहिलेसम्म पनि बेड गनेर अस्पतालको स्तर मूल्यांकन गरिन्छ । सेवा दिने तरिका, लिने मान्छेको सन्तुष्टि र सेवाको प्रभाव के रह्यो भन्ने पनि अब हेरिनुपर्छ, ’ उनले भने ।

थापाले स्वास्थ्य सेवामा अवलम्बन गरिएको सोच, शैली, नीति र कार्यक्रमले दिनसक्ने जति उपलब्धि निकालिसकेको भन्दै नयाँ ठाउँमा पुग्नका लागि नयाँ प्रस्थान चाहिने औँल्याए । उनले अबको नयाँ गन्तव्य भनेको स्वास्थ्य सेवाभन्दा माथि उठेर गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्ने भन्दै त्यसका लागि संघीयता नयाँ अवसर भएको बताए ।

त्यस्तै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्यलाई संविधानले नै मौलिक हकको रूपमा स्थापित गरेको भन्दै स्वास्थ्य सेवाको गुणस्तर वृद्धि विना स्वस्थ जनशक्ति र शान्तिसमेत नहुने बताए । उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको सुनाए । नेपालमा बिहीबार सार्वजनिक गरिएको विश्व प्रतिवेदनअनुसार स्वास्थ्य संस्था र सेवा प्रदायकले दिने स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सके प्रत्येक वर्ष ८६ लाख मृत्युलाई रोक्न सकिन्छ ।

प्रतिवेदनले स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्दा ५६ लाख मानिसलाई स्वास्थ्य संस्था सेवासम्म पुगेर पनि बचाउन नसकिएको औँल्याएको छ । ‘द ल्यान्डसेट कमिसन फर हाइ क्वालिटी हेल्थ सिस्टम’को विश्व स्वास्थ्य अवस्था सम्बन्धी प्रतिवेदनअनुसार स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्दा ५६ लाख मानिस स्वास्थ्य संस्था गएर सेवाको गुणस्तर लिन नसकेका कारण मृत्यु हुने र ३० लाख मानिसहरूको सेवा प्रणालीसम्म पहुँच नपुगेको जनाएको छ ।

ग्लोबल कमिसन बनाएर उपलब्ध तथ्यांकको व्यवस्थित र प्रमाणिक विश्लेषण गरेर प्रतिवेदन निकाल्ने ल्यान्डसेट कमिसनको मौलिक अनुसन्धान विधिबाट प्रतिवेदन बाहिर ल्याउँछ । कमिसनका राष्ट्रिय संयोजक अमित अर्यालले एउटा व्यक्ति समस्या लिएर फेमेली फिजिसियनकोमा जाँदादेखि संस्था र आवश्यक सेवा लिन जाँदा पार गर्ने प्रत्येक चरणमा पाएको उपचार, परीक्षण र अवस्था सिस्टमले चिन्नु पर्ने बताए । अर्यालले अहिलेको अभ्यास भइरहेको उपचारको तरिकालाई स्वास्थ्य प्रणाली भन्न नमिल्ने भन्दै स्वास्थ्य प्रणालीमा बिरामी हुँदा उपचार मात्रै नभएर ‘पूर्ण स्वास्थ्य हेरचाह’ समेत समेटिने बताए ।

कमिसनका नेपाल उपाध्यक्ष डा. भगवान कोइरालाले नेपालको सन्दर्भमा उत्पादित जनशक्तिको सीप र क्षमतामा प्रश्न उठिरहेको भन्दै स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चत गर्न चुनौतीपूर्ण रहेको बताए । उनले नयाँ चिकित्सा शिक्षा ऐनमार्फत त्यसको सुधार प्रयास भइरहेको बताए ।

प्रतिक्रिया