‘सेनालाई युद्धमा जानु र हामीलाई हिमाल चढ्नु उस्तै हो’

२४औँ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका कामिरिता शेर्पाको आरोहण कति वेला रोकिनेको हो उनैलाई पनि प्रष्ट छैन । राज्यका तर्फबाट सहयोग भएमा वर्षमा दुईपटकसम्म सगरमाथा आरोण गर्न सक्ने उनको दाबी छ । अनुकूल वातावरण भएमा अझै १५ पटक आरोहण गर्न सक्ने उनले बताए । केही दिनअघि मात्रै एकै हप्तामा दुईपटक आरोहण गरेर अर्को कीर्तिमान राखेका शेर्पासँग आरोहणकै विषयमा सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

२४औँ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभयो । पहिलोपटकको आरोहण र पछिल्लो आरोहणमा के फरक पाउनुभयो ?
पहिलो आरोहण र पछिल्लो आरोहणमा धेरै फरक छ । पहिलोपटक आरोहण गर्दा अहिलेको जस्तो उपकरणहरू केही पनि पाइँदैन थियो । आवश्यक टेक्निकल समान केही थिएन । त्यत्तिकै आरोहण गर्नुपथ्र्यो । अहिले आरोहणमा आवश्यक पर्ने सबै प्रकारको टेक्निकल सामान सहजै पाइन्छ । व्यावहारिक रूपमा पनि धेरै कुरा थाहा भयो ।

यो बीचमा अनुभव पनि धेरै हासिल गर्नुभयो, होइन ?
अनुभव भन्दा पनि समयअनुसार धेरै कुरा सिकियो । पहिला तालिमको व्यवस्था थिएन, पछि तालिम लिइयो । तीन वर्ष त मौसमसम्बन्धी मात्रै तालिम लिए । त्यस क्रममा माथि लेक लाग्यो वा मौसम बिग्रियो भने के गर्ने के औषधि प्रयोग गर्नेजस्ता तालिम पनि लिएँ । यसले पनि पछिल्ला दिनमा आरोहण सहज भयो ।

पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्दा कस्तो महसुस गर्नुभयो ?
पहिलोपटक सन् १९९४ मा चढेको हो । खास केही सम्झिन्न, मात्रै आफूसँग गएको समूहलाई कसरी सफलतापूर्वक माथि पुर्याएर तलसम्म ल्याउने भन्ने सोचेँ । त्यो भन्दा बढी सोच्नै भ्याइनँ । आरोहीलाई माथि लानु मात्रै ठूलो कुरा होइन, उनीहरूलाई सफलतापूर्व तल ल्याउनु पनि हाम्रो दायित्व हो । त्यति मात्रै होइन विदेशबाट आएकालाई उनीहरूको देश फर्कदासम्म हामीले जिम्मेवारी लिनुपर्छ । हामी आफू माथि पुग्नु मात्रै सफलता होइन आफूसँग गएको टिमलाई सफलतापूर्वक ल्याउनसक्नु नै सफलता हो । माथि जानुभन्दा तल आउन झन् जोखिम हुन्छ । विदेशीलाई तलसम्म ल्याउन सजिलो छैन । त्यसैले यात्रालाई कसरी सफल बनाउनेभन्दा अरू सोचिएन ।

पहिलोपटक कसको नेतृत्वमा जानुभयो ?
पहिलोपटक मेरो दाजुको नेतृत्वमा गएको थिएँ । त्यसपछि पनि केहीपटक दाजुको नेतृत्वमा नै गएँ । त्यस यता हरेक पटकको आरोहणमा मैले गाइडको साथै टोलीको नेतृत्व गर्दै आएको छु ।

पहिलो आरोण गर्दा युवा हुनुहुन्थ्यो जोश थियो । त्यति वेला सगरमाथाको चुचुरोमा पुग्न के कुराले आकर्षण गर्यो ?
१२ वर्षको उमेरदेखि विदेशी आरोहीको भरिया भने । २४ वर्षमा पहिलो आरोहण गरेको हुँ । हाम्रो गाउँ सोलखुम्बुको दुर्गममा पर्छ, थामे गाउँ । सगरमाथा हाम्रो जिल्लामा पर्ने प्रसिद्ध स्थान भए पनि गाउँ भने दुर्गममा पर्छ । गाउँमा स्कुल नभएकाले राम्रोसँग पढन पाएनौँ । चार कक्षासम्म पढाइ हुने स्कुल थियो । त्यसैले हाम्रो समूहका कसैले पनि धेरै पढ्न पाएका छैनन् । सगरमाथा हाम्रो बाँच्ने आधार पनि हो । सुरुमा भरिया बनेर नै यस क्षेत्रमा लागेँ । तेन्जिङ शेर्पाले हिमाल चढेपछि अरू शेर्पाहरूले हिमाल चढ्न थाले । बुबा पनि यसै क्षेत्रमा लाग्नुभएको थियो । थामे गाउँबाट सगरमाथा चढ्ने पहिलो मेरो बुबा हो । तेन्जिङ शेर्पा र एड्मन हेलारीले आरोहण गर्दा तीन रुपैयाँ ज्यालामा बुबाले उहाँहरूको सामान बोकेर बेस क्याम्प पुर्याउनु भएको थियो ।

तेन्जिङ शेर्पालाई राज्यले केही नगरेका कारण भारतले किनेर लग्यो । राज्यले उनको कामको कदर गर्न सकेको भए उनी पनि यही हुन्थे होला नि । राज्यले दिनसक्ने सुविधा पनि रोकेको छ । समयमा प्रमाणपत्रसम्म दिँदैन । त्यहाँ खटिने कर्मचारीका कारण पनि हामीले दुःख पाएका छौँ

पहिलोपटक चढेपछि पुनः पटकपटक किन चढ्नुभयो ?
हरेक काममा मान्छेको जिम्मेवारी हुन्छ । आरोहण मेरो कामजस्तै हो । रेकर्ड बनाउने कुरा थिएन । सुरुमा विदेशीको समान बोकेर गयौँ, उनीहरूको सहयोगी बन्यौँ । अहिले मेरो भूमिमा गाइडका साथै आरोहणमा जाने विदेशीको नेतृत्व गर्नु पनि हो । मेरो काम रेकर्ड बढाउन वा राख्नका लागि मात्रै होइन आफूले लगेको टिमका मान्छेलाई कसरी सफलतापूर्वक आरोहण गराएर फर्काउने पनि हो । हाम्रो सगरमाथा चढ्न करोडौँ रुपैयाँ खर्चेर आउने विदेशीलाई सफलतापूर्वक आरोण गराउन सकियो भने अर्कोपटक उसले अरू दुई जना ल्याउन् भन्ने हाम्रो चाहना हुन्छ । यसले राज्यलाई फाइदा दिन्छ भने हामीले पनि एकप्रकारको काम पाउँछौँ ।

हाम्रो उद्देश्य आफू मात्रै सफल हुँ भन्ने होइन, हाम्रो कामले राज्यले पनि केही आम्दानी गरोस् भन्ने हो । एउटा विदेशी आरोहणमा आउँदा रोयल्टी मात्रै तिर्दैन, उसले होटलमा खान्छ बस्छ, यहाँको हवाइ वा बस प्रयोग गर्छ । त्यसले हरेक क्षेत्रमा प्रभाव पर्छ । यसमा राज्यले सोच्नुपर्छ । नेपाललाई थोरै विदेशीले मात्रै चिन्छ । सगरमाथा र शेर्पाको देशभन्दा सबैले चिन्छन् । त्यसैले सगरमाथा हाम्रो पहिचान पनि हो । यसलाई राज्यले ख्याल गर्नुपर्छ ।

कति समय ट्रेकिङ गाइड बनेपछि सगरमाथा चढ्ने आँट गर्नुभयो ?
१२ वर्षको उमेरदेखि भरियाको रूपमा काम गरेँ । याकलाई भारी बोकाउने भएकाले मान्छेलाई पनि याक ड्राइभर भन्छन् । मैले पनि याक ड्राइभरको रूपमा धेरै भारी बोक्ने काम गरेँ । त्यसपछि सामान्य ट्रेकिङको काम गरेँ । ५-६ हजारको उचाइमा धेरैपटक गएँ । बेस क्याम्प त कतिपटक गएँ गएँ सम्झेर साध्य छैन । ट्रेकिङ गाइड बेसक्याम्पसम्म मात्रै जान पाउँछन् । त्यसरी कामका सिलसिलामा सगरमाथा चढियो ।

तपाईंका लागि सगरमाथाको चुचुरो पुग्नु सामान्य छ हो ?
सगरमाथाको चुचुरोमा पुग्नु कसैका लागि पनि सामान्य होइन । म धेरै गएँ भनेर मान्छेलाई सामान्य लाग्न सक्छ । हिमाल चढ्नका लागि लक्षता चाहिन्छ, देवीदेवताले पनि साथ दिनुपर्छ । हिमाल चढ्नु अति नै जोखिम र खतरा छ । मेरो २४औँ पटकसम्मको यात्रामा कुनै पनि कठिनाइ वा चोटपटक केही भएको छैन । म देवीलाई धेरै मान्छु । देवीको पूजा गरेर जाने गरेको छु । सगरमाथामा गएर रेकर्ड राख्ने धेरैको चाहना हुन्छ ।

तर, म रेकर्ड राख्नका लागि मात्रै होइन यो राष्ट्रका लागि पनि आरोहणको आवश्यकता छ भन्ने ठानेर गरेको छु । हाम्रो कारणले जति धेरै विदेशीलाई आकर्षण गर्न सक्यो राज्यलाई त्यति नै धेरै फाइदा हुन्छ । तर, राज्यले यस क्षेत्रमा केही पनि हेरेको छैन । म मात्रै होइन, यस क्षेत्रमा म भन्दा पहिला पनि धेरैले योगदान गर्नुभएको छ । तेन्जिङ शेर्पालाई राज्यले केही नगरेका कारण भारतले किनेर लग्यो । राज्यले उनको कामको कदर गर्न सकेको भए उनी पनि यही हुन्थे होला नि । राज्यले दिनसक्ने सुविधा पनि रोकेको छ । समयमा प्रमाणपत्रसम्म दिँदैन । त्यहाँ खटिने कर्मचारीका कारण पनि हामीले दुःख पाएका छौँ ।

हाम्रो उद्देश्य आफू मात्रै सफल हुँ भन्ने होइन, हाम्रो कामले राज्यले पनि केही आम्दानी गरोस् भन्ने हो । एउटा विदेशी आरोहणमा आउँदा रोयल्टी मात्रै तिर्दैन, उसले होटलमा खान्छ बस्छ, यहाँको हवाइ वा बस प्रयोग गर्छ । त्यसले हरेक क्षेत्रमा प्रभाव पर्छ । यसमा राज्यले सोच्नुपर्छ

यत्तिकापटक आरोहण गर्दा कहिलेकाहीँ अब त सकिँदैन गाह्रो होला भन्ने मनमा आयो कि आएन ?
एभरेस्ट ओरोहणमा मलाई अहिलेसम्म त्यस्तो कठिनाइ भएन । मेरो आरोहण २४औँ भने पनि त्यो भन्दा बढी गएँ रेकर्ड भएन । मैले यात्रामा कठिनाइ झेल्ने वा अब त आउँदिनँ भनेर आत्तिनुपर्ने अवस्था अहिलेसम्म आएको छैन । पहिलापहिला आरोहण गर्दा कुनै उपकरण हुँदैन थियो । आकाशको तारा हेरेको भरमा जानुपथ्र्यो । अहिले त मौसम कस्तो छ, हावाहुरी आउने, हिउँ पर्ने वा बादल लाग्ने सम्भावना छ छैन भन्ने बारेमा विभिन्न देशबाट जानकारी आउँछ । के कस्तो छ भनेर त्यसैको आधारमा माथि जाने हो ।

पहिला आरोहणमा जाने वेलामा बुढाबुढीले भन्थे, तारा हेरेर जानु हप्ता दिनसम्मको मौसम विचार गर्नु । आकाशमा तारा देखिए मौसम राम्रो मानिन्थ्यो । अहिले त्यो अवस्था छैन । सबै कुराको जानकारी पाइन्छ । ती अफ्ठ्यारा दिनमा त आत्तिएन । अहिले त सगरमाथा आरोहणमा धेरै कुराको सहयोग छ ।

चचुरोमा पुगेपछि कोसँग सम्पर्क गर्नुहुन्छ ?
जाने सबैसँग वाकीटकी (सञ्चार सेट) हुन्छ माथि पुग्ने बित्तिकै ‘टपमा पुगेँ’ भनेर बेसक्याम्पलाई जानकारी गराउँछौँ । हामी २४सै घण्टा बेसक्याम्पसँग सम्पर्कमा रहन्छौँ । त्यसपछि बेसक्याम्पको सहयोगमा घर परिवारसँग सम्पर्क हुन्छ । योपटक १५ तारिकमा माथिबाटै घरमा कुरा भयो । घरमा जानकारी गराएँ माथि पुगेँ भनेर । त्यसपछि तल झर्दा पनि जानकारी गराउँदै झर्ने हो कहाँ पुगियो भनेर ।

चुचोरोमा सबैभन्दा बढी समय कति बिताउनुभएको छ ?
सबैभन्दा बढी समय गतवर्ष २२औँ पटकको आरोहणमा एक घण्टा माथि बिताए । सँगै गएको टिम माथि उक्लँदै थियो उनीहरूलाई पनि कुरो । त्यो वेला मौसम एकदम राम्रो थियो । हावा कत्ति पनि चलेको थिएन । फोटो खिचेर बसेँ । त्यो पटक टिममा सात जना थियौँ । यसपाली पहिलोपटक आधा घण्टा बिताएँ पछिल्लोपटक २० मिनेट जति बिताए । पछिल्लोपटक हावा चलेकोले धेरै समय बिताइनँ ।

यति धेरै आरोहण गर्नुभयो परिवारले अब भयो नजानु भन्दैनन् ?
हिमाल जाने कसैलाई पनि परिवारले जाउ भन्दैन । नगए हुन्थ्यो भन्ने परिवारको चाहना हुन्छ । तर, पनि हामी जान्छौँ । सेनालाई युद्धमा जानु र हामीले हिमाल चढ्नु उस्तै हो । सेनाका परिवारले युद्धमा नगए हुन्थ्यो भन्छन् तर, जानै पर्छ । हिमाल चढ्नु जोखिम छ, त्यो परिवारलाई थाहा छ र उनीहरूलाई चिन्ता लाग्छ त्यो स्वभाविक हो ।

अबको आरोहण कहिले हुन्छ ?
अबको आरोण आउने वर्ष गर्छु । ५० वर्षको उमेरभित्रै २५ पटक पु¥याउनेछु । यो मेरो पहिलाकै अठोट हो ।

त्यसपछि चढ्नु हुन्न ?
त्यसपछि चढ्ने वा नचढ्ने अहिले नै भन्न सक्दिनँ । मेरो कम्पनीले के भन्छ त्यसैमा भर पर्छ । कम्पनीमा कन्ट्रयाक गरेको हुन्छ । मेरो कन्ट्रयाक अब दुई वर्ष बाँकी छ । त्यसपछि कन्ट्रयाक थपिन पनि सक्छ, नथपिन पनि सक्छ । त्यसपछि म चढ्न पनि सक्छु । कम्पनीले जा भनेको खण्डमा म फेरि पनि आरोहणमा जान सक्छु । २५ पटक आरोहण गरेर सन्यास लिने चाहिँ मेरो चाहना हो तर, त्यो नहुन पनि सक्छ ।

तपाईंले सगरमाथा आरोहणमा बनाएको रेकर्ड तपाईंकै जीवनकालमा अरू कसैले तोड्ने सम्भावना देख्नुहुन्छ ?
म त मेरो रेकर्ड अरूले कसैले ब्रेक गरुन् भन्ने चाहन्छु । त्यो भनेको यो क्षेत्रमा विकास हुनु हो । अरूले पनि यस क्षेत्रका लागि केही गर्नुपर्छ त्यो भनेको धेरै आरोहण गर्नु हो । मेरो रेकर्ड ब्रेक गर्नु भनेको सगरमाथामा धेरैपटक आरोही पुग्नु हो, त्यो हुनपर्छ । यसले व्यक्तिको मात्रै कुरा हुँदैन राज्यको अर्थतन्त्र र पर्यटन विकासको पनि फाइदा पुग्छ । जहाँसम्म मेरो आरोहरणको कुरा हो म अझै १५-१६ पटक आरोहण गर्नसक्छु । वर्षमा दुईपटक सहजै आँखा चिम्लेर आरोहण गर्न सक्छु ।

यति धेरै आत्मविश्वास हुनका कारण के हो ?
लामो यात्राले मलाई धेरै कुरा सिकाएको छ । कस्तो ठाउँमा खुट्टा टेक्दा के हुन्छ । कहाँ कसरी हिँड्नु पर्छ भन्ने सबै बुझेँ । बाटोको पाइला पाइला जानेको छु, कहाँ जोखिम छ सबै थाहा छ । त्यसैले अब मेरा लागि सगरमाथाको आरोहण गाह्रो छैन । तर, त्यसका लागि वातावरण बन्नुपर्छ ।

यति लामो यात्रामा अहिलेसम्म भोग्नुभएको समस्या के हो ?
यस क्षेत्रमा समस्या नै समस्या छ । राज्यले यो क्षेत्रमा लागेका आरोहीलाई विशेष भक्ता दिनुपर्छ । हामीले देशका लागि ज्यान जोखिममा राखेर आरोहण गर्छौं । तर, राज्यका तर्फबाट कुनै सेवा सुविधा छैन । यदि राज्यले यो क्षेत्रलाई बेवास्था गर्ने हो भने अबको १० वर्षपछि सगरमाथा चढ्ने शेर्पा पाउन मुस्किल हुन्छ । सगरमाथाको आकर्षण र शेर्पाको बहादुरी देखाएर मात्रै हुँदैन । राज्यको काम शेर्पाले विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याइदिएको रोयल्टी खाने मात्रै होइन । यस क्षेत्रमा लागेकाहरू पनि केही हुन् भनेर विचार पुर्याउनुपर्छ ।

प्रतिक्रिया