प्रारुप स्विकृत नहुँदै छापियो पाठ्यपुस्तक

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय अर्न्तगत निजामति कर्मचारीहरुको आधिकारीक ट्रेडयुनियनले राष्ट्रिय पाठ्यक्रम प्रारुप स्विकृत नभएको अवस्थामा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रंले पाठ्यत्रपुस्तकको छपाइ तथा वितरणको कार्य भनेको भन्दै आपत्ति जनाएको छ ।

केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पारित भइसकेको भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको तथा विना स्वीकृति कक्षा १ को ‘मेरो नेपाली’ पुस्तकको नाम परिवर्तन गरी ’भाषा संसार’ बनाएको भन्दै ट्रेड युनियनले आपत्ति जनाएको हो । युनियनले मंगलवार शिक्षा सचिव खगराज बराललाई ज्ञापन पत्र बुझाएको हो ।

यसअघि नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन शिक्षा विभागीय समितिले पनि शिक्षा मन्त्रालयलाई यही विषयमा ज्ञापन पत्र बुझाएको थियो । पाठ्यकम विकास केन्द्रबाट प्रकाशन गरिएको आधारभूत तह कक्षा १–३ को पाठ्यकम, २०७५ को प्राक्कथन लगायत विभिन्न पृष्ठहरूमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७५ भनी उल्लेख गरिनुलाई ट्रेड युनियनले कानूनी राज्यको उपहास भएको दाबी गरेको छ ।

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप नेपाल सरकारबाट स्वीकृत हुनुपर्ने यथार्थलाई वुझ्दाबुझ्दै स्वीकृतिको चरणमा रहेको प्रारूपका सिद्धान्तलाई आधार भन्दै उल्लेख गर्नुले कानूनी राज्यको उपहास भएको छ । उक्त कार्य प्रचलित विधि र प्रक्रिया पुरा गरेर यथाशिघ्र सार्वजनिक गरियोस्’ ज्ञापन पत्रमा भनिएको छ ।नेपाल सरकारले परीक्षणमा रहेका पुस्तकहरू मध्ये मेरो नेपाली पुस्तकको नाम परिवर्तन गरी भाषा संसार नामाकरण गरिनुलाई विज्ञप्तिमा नेपाली पहिचान र भाषा माथिको प्रहार भनिएको छ ।

‘मेरो नेपाली नामले पुस्तकको नाम मात्र हैन आम नेपालीको राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्दछ । देशमा राष्ट्रियताको बहस हुँदै गर्दा नेपाल र नेपाली शब्द समेत परिवर्तन गरी भाषा संसार राख्नुले समग्र नेपाली भावनालाई ठेस पुयाउनुका साथै आफ्नो मौलिक पहिचान समेत मेटिने अवस्था छ ’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, विज्ञप्तिमा विद्यालय शिक्षामा नेपाली विषयको स्थान कमजोर बनाउँदै नेपाली विषयको महत्व र मर्मलाई लोप गराउने नियोजित कार्यको छानविन गर्न यस ट्रेड युनियन मन्त्रालय मार्फत नेपाल सरकारको ध्यान आकृष्ट गराइएको छ ।

युनियनका अध्यक्ष हरिभक्त पौडेलले पाठ्यक्रम प्रारुप समग्र शिक्षा क्षेत्रको मेरुदन्ड भएको बताउँदै केन्द्रले प्रारुप सार्बजनिक गरेपछि मात्रै पाठ्यपुस्तक छपाइ तथा वितरणको काम सुरु गर्ने पर्ने बताएका छन । उनले भने‘हाम्रो माग पाठ्यक्रम प्रारुप सार्बजनिक गरियोस् भन्ने हो । साथै, ‘मेरो नेपाली’ पुस्तकको नाम परिवर्तन गरी ‘भाषा संसार’ नबनाइयोस । प्रारुप शिक्षाको मेरुदन्ड हो, यसलाई भाँच्ने काम केन्द्रबाट नहोस भनेर सचेत गराएका हौं ।’

प्रतिक्रिया