काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । तीन वर्ष लामो निरन्तर प्रयासपछि त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण भएको हो । अस्पतालका प्रत्यारोपण शल्यचिकित्सक डा.रमेशसिंह भण्डारीको टोलीले शुक्रबार १६ घण्टा लामो शल्यक्रियापछि उक्त सफलता प्राप्त गरेको हो ।
लिभर ट्रान्सप्लान्ट सर्जन डा. भण्डारी नेतृत्वको टोलीले शुक्रबार एक बिपि रामीमा कलेजो प्रत्यारोपण गरेको हो । कलेजको प्रत्यारोपणमा लामो अनुभव बटुलेका भारतको अपोलो अस्पतालका विशेषज्ञको निरीक्षण र सहयोगमा नेपाली टोलीले ३३ वर्षीया छोरीको कलेजोको टुक्रा निकालेर ५८ वर्षे बाबुलाई प्रत्यारोपण गरेका थिए । भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली नेपाल आएको हो । बिरामीलाई उनकै ३३ वर्षीया छोरीले कलेजो दान गरेको अस्पतालले जनाएको छ ।
डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया राति साढे १२ बजे मात्र सकिएको थियो । डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको प्राविधिक एवं विशेषज्ञ संलग्न शल्यक्रियामा शल्यचिकित्सक मात्रै १२ जना संलग्न रहेको बताइएको छ । एनेस्थेसियामा डा. अमित भट्टराई र डा. पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा. सुवास आचार्य, डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. राहुल पाठक (लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी), रेडियोलोजीमा डा. दिनेश चटौत, डा. अजित थापा संलग्न रहेको अस्पतालले जनाएको छ । त्यस्तै प्याथोलोजीमा डा. अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा. सूर्यबहादुर थापा समेत संलग्न रहेका थिए ।डा. भन्डारीले भने, ‘अब विदेशमा गएर महंगोमा कलेजो प्रत्यारोपण गर्नुपर्ने बाध्यता हुँदैन । हामी नियमित रूपमा कलेजो प्रत्यारोपण गर्छौ
।’
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएसँगै अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल भएका छन् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्षअघि नै कलेजो प्रत्यारोपण सुरु गरेको थियो । त्यहाँ हालसम्म ४ जनाको कलेजो प्रत्यारोपण भएको छ । यता सरकारले निजी क्षेत्रका दुईवटा मेडिकल कलेजहरू कलेज अफ मेडिकल साइन्सेज भरतपुर र चितवन मेडिकल कलेजलाई समेत कलेजो प्रत्यारोपणका लागि लाइसेन्स दिइसकेको छ । यसअघि मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण सुरु गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन ।
प्रतिक्रिया