लोक दोहोरीमा क्रेज बढ्दै छ

लोक दोहोरी गीत ‘लाउँछ माया’ पछिल्लो समय निकै चर्चामा रहेको छ । नेपाली गीत संगीतमा मौलिक पक्ष हराउँदै जान थालेको छ । गीत अनुसारका मौलिक पोशाकको प्रचलनमा कमी आए पनि पछिल्लो समय यसप्रति चासो बढ्न थालेको छ । यसैबीच मौलिक पक्षलाई ध्यानमा राखी तयार पारिएको ‘लाउँछ माया’ लाई दर्शककले निकै मनपराएका छन् ।

सुन्दर दृश्य कैद गरिएकोे उक्त गीतको भिडियोले सामाजिक सञ्जालमा समेत खुबै तारिफ बटुल्न सफल भएको छ । गीत राम्रो हुनुमा भिडियोले मात्र हुँदैन शब्द, स्वर, गायकी एवं लय राम्रो हुनुपर्दछ । यससँगै गीतमा स्वर दिएकी गायिका सरिता कार्कीको पनि ह्वात्तै चर्चा बढेको छ । कार्कीमा आफैँमा नेपाली सांगीतिक क्षेत्रमा परिचति नाम हो । तर, यस गीतले उनको चर्चा थपेको छ । गोरखामा जन्मिएकी गायिका कार्कीले विगत १४ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् ।

उनले लोक दोहोरी क्षेत्रमा थुपै सफल गीत गाइसकेकी छन् । ‘कति रुनु छ र ?, लाखौँ तारा, हर हर महादेव, खोली म जलुँला, मायालु हजार, जुनकिरी, गुराँस फुल्ने ठाउँतिर, पञ्चेबाजा, बदमास, लाउँछ माया’ लगायत दर्जनौं सफल गीतमा स्वर दिएकी गायिका कार्कीसँग उनको जीवन भोगाई तथा गीत संगीतको क्षेत्रका विषयमा केन्द्रित रही सौर्य दैनिकका लागि केशव भट्टले गरेको संक्षिप्त कुराकानीः

 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
-गीत संगीतमा नै व्यस्त छु । पछिल्लो समय मेरो नयाँ गीत आएको छ ‘लाउँछ मायाँ’ । त्यही गीतको प्रमोसनको कार्यमा व्यस्त छु ।

 

‘लाउँछ मायाँ’ कस्तो खालको गीत हो ?
-‘पूर्व, पश्चिम, उत्तर दक्षिण, कही गएनी बिर्सनै सकिनँ लाउँछ माया नलाउने हैननी, माया तिम्ले वास्तै गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भैननी’ यस्ता शब्द रहेको यो लोकदाहोरी गीत हो । यसमा चर्चित लोकसर्जक शिव हमालको शब्द, संगीत रहेको छ, भने चर्चित गायक कुलेन्द्र विश्वकर्मा र मेरो आफ्नै स्वर रहेको छ । गीतलाई मेरो आफ्नै नामको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतमा नायिका सुरक्षा पन्त र मोडल महेन्द्र गौतमको अभिनय छ ।

 

तपाई काठमाडाैं छिर्नुभएको कति भयो ?

-लगभग १३, १४ वर्ष भयो ।

 

तपाईको गीत संगीतको यात्रा कसरी सुरु भयो ?
-म गोरखामा जन्मिएकी म, १४ वर्षको उमेरदेखि नै दोहोरी साँझमा प्रवेश गरेँ र काठमाडौं आएपछि पनि दोहोरी साँझमा संघर्ष गरेर गीत संगीतको क्षेत्रमा आएकी हुँ ।

 

तपाई जब गोरखाबाट काठमाडौं छिर्नुभयो त्यो बेलाको संघर्ष र भोगेका पीडा कस्ता थिए ?
-दोहोरी साँझ भन्नेबित्तिकै समाजमा हेर्ने दृष्टिकोण अहिले पनि नकारात्मक नै छ । झन् त्यो बेलामा पनि रातिको काम घरबेटीले पनि नबुझ्ने एकदम दुःख थियो ।

 

तपाईं गोरखादेखि काठमाडौं के उद्देश्य लिएर आउनु भएको थियो ?
-काठमाडौंमा मेरा दिदी भिनाजु हुन्नुहुन्थ्यो । उहाँहरूलाई भेट्न आएँ । खासमा म बच्चैदेखि गीत गाउँथेँ । काठमाडौंमा आइसकेपछि गाउँका एकजना दाईको नमस्ते दोहोरी साँझ थियो । त्यहाँ गीत गाउन थालेँ यहीँँबाट मेरो काठमाडौंको औपचारिक गायन यात्रा सुरु भएको हो ।

 

काठमाडौंमा संघर्ष गर्दै गर्दा कसरी आफ्नो गायक क्षेत्रलाई अघि बढाउनु भयो ?
-दोहोरी साँझहरूमा काम गर्दागर्दै अग्रज गायक दाई दिदीसँग भेट भयो । ६८ सालमा ‘कति रुनु छ र’ भन्ने मैले एल्बम निकालेँ । त्यो गीतलाई दर्शकले धेरै नै मन पराइदिनु भयो र मैले अवार्ड समेत पाएँ । अनि मैले पोखरा दोहोरी साँझमा काम गर्थेँ र मेरो गीत सबैले मनपराइदिनुभएका कारण व्यस्त हुन थालेँ । दोहोरी साँझमा काम गर्न छोडँे र ५–६ महिनापछि धुम्बाराहीमा आफैँले सुनखानी रोदीघर भनेर दोहोरी साँझ खोलेकी हुँ ।

आफ्नै दोहोरी साँझ खोल्दाको खुसीको क्षण सुनाइदिनुस् न ?
-सुरुआतमा रमाइलो नै भयो । एउटी केटीमान्छेले ३०-४० जना कर्मचारी राखेर दोहोरी साँझ चलाउँदा दुःख त भइ नै हाल्छ । तर, मसँग अनुभव थियो । तीनजना मिलेर खोलेका थियौँ र मेरो कार्यव्यस्तता र दर्शकको मायाले देश तथा विदेशमा बोलाउन थाल्नुभयो र मैले समय दिन नसक्दा त्यो रोधीघर पनि बेचेँ ।

 

पछिल्लो समय दोहोरी साँझको व्यापार खस्किएको हो ?
-पहिला कतैकतै मात्र हुन्थे रोधीघरहरू । अहिले त जताततै दोहोरी साँझ खुलेको हुनाले धेरै खस्किएको छ ।

 

पहिलो गीत रेकर्ड कहिले गराउनु भयो ?
-पहिलो गीत ०६७ सालको अन्तिममा ‘कति रुन छ र’ यम क्षेत्री दाई र मेरो स्वरमा रेकर्ड गराएकी थिएँ । अहिलेसम्म २ दर्जनभन्दा बढी गीत गाइसकेकी छु । पहिलो गीत नै मेरो गायन यात्रामा धेरै नै चर्चामा रह्यो । मलाई सरिता कार्की भनेर चिनाउने ‘कति रुन छ र’ गीत नै हो । त्यसकारण हिजो आज पनि स्टेजमा पनि यही गीत गाउन रुचाउँछु ।

 

तपाईंले कस्ता खालका गीत बढी गाउनु भएको छ ?
-मैले सबै किसिमका लोक दोहोरी गीत गाएकी छु ।

 

तपाईंलाई गीत संगीत क्षेत्र छोड्छु विदेशतिर बस्न जान्छु भन्ने कहिल्यै लागेन ?
-गीत संगीत छोड्छु जस्तो त लागेन कहिले पनि तर, आफ्नो कामलाई पनि निरन्तरता चाहिँ दिइरहेकीे छु ।

 

तपाईंको पछिल्लो समय आएको गीतका बारेमा जानकारी गराइदिनु न ?

‘लाउँछ माया’ यो पछिल्लो गीत हो । शिव हमालको लय शब्द र कुलेन्द्र बि.सी र मैले गाएका छौँ । नसोचेको सफलता पाइरहेको छ गीतले ।

 

तपाईंको पहिलो गीत बजारमा आउँदा बाबा आमासँग कसरी खुसी साट्नु भयो ?
-त्यो बेलामा सिआरबिटी, पिआरबिटी राख्ने चलन थियो । सबैले राख्नुभएको थियो । मेरो गीत पनि गोरखामा धेरै एफएम रेडियो भएका कारण धेरै नै बजाइदिनुहुन्थ्यो । मेरो गीत बुबा आमाले सुनेर एकदम राम्रो छ भन्नुहुन्थ्यो ।

तपाईंको भावी योजना के छ ?
-त्यो त पछिको कुरा हो । तर, म जहाँ भए पनि गीत संगीत मेरो मनमा रहिरहन्छु र गाइरहन्छु ।

 

गीत संगीतमा पछिल्लो समय विकृति आएको छ । यसमा तयाईंको धारणा के रहेको छ ?
-केही समयअघि चाहिँ लोक दोहोरीमा छाडापन र विकृति थियो । त्यो दर्शकको मागले हो की के हो ? तर, जब ‘सालको पात’ भन्ने गीत आयो त्यो गीतबाट लोकगीतमा केही उन्नति, विकास र प्रगति भइरहेको छ जस्तो लाग्छ ।

 

तपाईंले हालसम्म कुन विधाका कुन कुन अवार्ड पाउनुभएको छ ?
-मैले पहिलो गीतमा नै अवार्ड पाएकी थिएँ, राष्ट्रिय लोकदोहोरी पूजा अवार्ड अनि दोस्रो छायाँछवि तीज अवार्ड पाएँ । त्यसपछि, जुनकिरी भन्ने गीतबाट इमेज अवार्ड पाएकी छु ।

प्रतिक्रिया