प्रदेशलाई कलाका निम्ति सचेत गराउनुपर्छ

बिपिन घिमिरे, सदस्यसचिव – ललितकला प्रज्ञा प्रतिष्ठान

बिपिन घिमिरे नेपाली कला क्षेत्रमा परिचित कलाकार हुन् । उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव हुन् । लामो समय ललितकला क्याम्पसमा प्राध्यापन गरेका घिमिरेले रूसबाट कलामा स्नातकोत्तर गरेका हुन् । यतिवेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी राष्ट्रिय ललितकला प्रदर्शनी, नेपाली कलाक्षेत्रको विकासका लागि प्रतिष्ठानले गर्नुपर्ने कार्ययोजना तथा यस क्षेत्रमा चलेका शैली र चिन्तनका बारेमा सदस्यसचिव घिमिरेसँग सौर्य दैनिकले गरेको कुराकानीः

० राष्ट्रिय ललितकला प्रदर्शनी चलिरहेको छ । यस प्रदर्शनीका बारेमा जानकारी दिनुस् न ।
वर्तमान नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका पदाधिकारीले पदीय दायित्व सम्हालेको ४ महिनाभित्रै नवौं राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न सफल भएको छ । सो राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न सफलता पाएकोमा प्रतिष्ठानका हामी सबै पदाधिकारी सन्तुष्ट छौँ । तथापी प्रदर्शनीका लागि पर्याप्त ठाउँ नभएको समस्या, क्याटलग छपाईमा सम्बन्धित जिम्मेवार व्यक्तिको कारणबाट उत्पन्न समस्या रहेको छ ।

नेपालको सातै प्रदेशबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा भाग लिन आएकामध्ये छनोटमा परेका ४ सय ५३ जना कलाकर्मीका ५ सय १५ वटा कला सिर्जना प्रदर्शनीमा समावेश गरिएका छन् । राष्ट्रिय ललितकला पुरस्कार आधुनिक चित्रकलातर्पm १ जना, आधुनिक मूर्तिकलातर्पm १ जना, लोककलातर्पm १ जना, हस्तकलातर्पm १ जना, परम्परागत चित्रकलातर्पm १ जना, परम्परागत मूर्तिकलातर्पm १ जना, प्रतिस्थापनकलातर्पm १ जनालाई प्रदान गरिएको छ । त्यसैगरी विशेष पुरस्कार आधुनिक चित्रकलातर्पm ३ जना, आधुनिक मूर्तिकलातर्पm २ जना, लोककलातर्पm २ जना, हस्तकलातर्पm २ जना, परम्परागत चित्रकलातर्पm २ जना, परम्परागत मूर्तिकलातर्पm २ जना, स्थापत्य र अन्य सिर्जनात्मककलातर्पm ४ जनालाई प्रदान गरिएको छ । ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने कलाकर्मीमध्ये प्रत्येक प्रदेशका १ जनालाई प्रादेशिक पुरस्कारबाट पुरस्कृत गरिएको छ । यसवर्षको ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान–२०७६’ दुई जनालाई र ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०७६’ १ जना र ललितकला पत्रकारिता पुरस्कार १ जनालाई प्रदान गरिएको छ ।

यस प्रदर्शनीमा भाग लिन सबै नेपाली कलाकर्मीलाई समान अवसर प्रदान गरिएको छ । कलाको शैलीगत आधारमा भेदभाव गरिएको छैन । प्रतियोगीको सिर्जनालाई पुरस्कार प्रदान गर्ने निर्णय सम्बन्धित विधा हेर्ने समितिले नै गर्ने र त्यससम्बन्धी उठ्ने प्रश्न वा समस्या आदिको सम्पूर्ण जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ ।

० प्रदर्शनीमा राखिएका कलाले नेपाली राष्ट्रको समग्र प्रतिनिधित्व गर्न सकेको छ त ?
अहिले जारी रहेको राष्ट्रिय ललितकला प्रदर्शनीमा नेपालका ७ प्रदेशकै कलाकारले भाग लिएका छन् । प्रदर्शनीमा भाग लिने यिनै कलाकर्मीहरूका कलासिर्जनाले नै प्रदर्शनीमा प्रतिनिधित्व गरेका छन् । यसैले प्रदर्शनीमा राखिएका तिनका कलाले सिद्धान्ततः नेपाली राष्ट्रको समग्र प्रतिनिधित्व गर्न सकेको छ भन्ने मलाई लाग्छ ।

० नेपाली कलालाई बृहत् ढंगले विस्तार गर्दै अगाडि बढाउन के गर्नुपर्दछ ?
नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान नेपाली ललितकला क्षेत्रको सर्वोच्च संस्था हो । यसले समग्र नेपालको कला क्षेत्रलाई हेर्छ । यसैले कलाको विकास विस्तारका लागि प्रतिष्ठानले प्रत्येक प्रदेशमा पनि सक्रियता बढाउने सोच राखेको छ । प्रत्येक प्रदेशमा प्रतिष्ठानको शाखा राख्ने व्यवस्था गर्न सकियो भने कला क्षेत्रको गतिविधि बृहत् ढंगमा विस्तार गरी कला र कलाकारलाई अगाडि बढाउन सकिन्छ । यसका लागि प्रदेशसँगको सहकार्य आवश्यक छ । जबसम्म प्रदेशले यस क्षेत्रको विकास र विस्तारको लागि चाख देखाउँदैनन्, तबसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको एकतर्फी प्रयास सफल हुन सक्तैन ।

नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानले नेपाली कलालाई बृहत् ढंगले विस्तारित गर्न दीर्घकालीन योजनाहरू प्रस्ताव गरिसकेको छ । यही प्रस्तावमा नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको कार्य योजना र नीतिनिहीत रहेको छ । जसअनुसार सातै प्रदेशमा प्रतिष्ठानको कार्यालय स्थापना गर्ने, ललितकलासम्बन्धी नीति तयार गर्ने, राष्ट्रिय कला संग्रहालय स्थापना गर्ने, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक कला ग्यालरी तथा सभाकक्षको निर्माण गर्ने, कलाग्रामको स्थापना गर्ने, कला नगर तयार गर्नेजस्ता बृहत दीर्घकालीन योजना प्रस्तावित गरिसकिएको छ ।

यसैगरी कला क्षेत्रको विकासका लागि कलाको बजार विस्तार व्यवस्था गर्ने कानुन बनाउने, होटल, मल, कार्यालयहरूको निर्माण लागतको ५ प्रतिशत बराबरको रकम ललितकला साजसज्जाका लागि छुट्याउने व्यवस्थाको लागि सम्बन्धित इकाइसँग सहकार्य गर्ने, हरेक वर्ष ५ देखि १० जना स्नातकस्तरका गरिब तथा जेहेन्दार विद्यार्थी प्रत्येकलाई १ लाखको छात्रवृत्ति दिने व्यवस्था गर्ने, हरेक वर्ष अरनिको स्मृति दिवसलाई कला दिवसको रूपमा मनाउने, हरेक वर्ष प्लस टुमा अध्ययनरत् ५ जना कलाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, हरेक वर्ष ललितकलाका विभिन्न विधामा सीप र अनुसन्धानका लागि फेलोसिप ३ जनालाई दिने, अन्तर्राष्ट्रिय कला प्रदर्शनी हरेक ३ वर्षमा आयोजना गर्ने, र अरनिको राजमार्गमा अरनिकोको सालिक स्थापना गर्नेजस्ता योजना प्रतिष्ठानले प्रस्ताव गरिसकेको छ । नियमित विभागीय तथा केन्द्रीय कार्यक्रमबाहेक अन्य थप कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानले लक्ष्य लिएको छ । जसानुसार ‘सुखी र समृद्ध नेपाल’ सम्बन्धी बृहत् कला कार्यशाला, प्रत्येक वर्ष प्रादेशिक कला गतिविधि र प्रतियोगिता, अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०७८ (त्रिनाले), नेपाली कलालाई विश्वव्यापिकरण गर्न आवश्यक सम्बन्ध विस्तार, युवा ललितकला प्रतियोगिता, वरिष्ठ कलाकार सम्मान कार्यक्रम, बालकला विकास कार्यक्रम रहेका छन् ।

० खासगरी नेपालमा ललितकलाको जग केन्द्रीकरणमा आधारित रहेको छ । यसलाई फराकिलो पार्न र सातै प्रदेशमा लैजान के गर्नुपर्ला ?
यस सम्बन्धमा प्रतिष्ठानले प्रत्येक प्रदेशमा प्रतिष्ठानको शाखा र कला संग्रहालय खोल्ने सोच राखेको कुरा व्यक्त भइसकेको छ । जसले नेपालको ललितकलाको केन्द्रीकरणको जगलाई भत्काएर विकेन्द्रिकरणको व्यवस्था गर्ने छ । यसको सफलता प्रत्येक प्रदेशले कला क्षेत्रमा राख्ने चाखमाथि पनि भरपर्ने हुन्छ । यस सम्बन्धमा प्रतिष्ठानका कुलपतिज्यूले प्रदेशका मुख्यमन्त्रीहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

० नेपाली कलाले नेपाली समाजको मनोविज्ञानलाई उठाउन किन सकिरहेको छैन नि ?
नेपाली कलाले नेपाली समाजको मनोविज्ञानलाई विस्तारै उठाउँदै छ । नेपाली समाज नेपाली कलाप्रति सचेत छ । राष्ट्रको कला वैभवबाट प्रभावित नेपाली समाज वर्तमान नेपाली कला गतिविधिबाट खासै प्रभावित नहुनुले नै नेपाली समाजको मनोविज्ञानलाई कलाले उठाउन नसकिरहेको भान पर्न गएको मात्र हो । नेपाली समाजको मनोविज्ञान उठाउन नेपाली कलाकर्मीले इमान्दारिताका साथ काम गर्नुप¥यो ।

० राष्ट्रिय कला प्रदर्शनीमा यस्ता विषय निकै कम मात्रै आएका छन् ?
यदि मेरो अन्दाज गलत छैन भने यो प्रश्नमा तपार्इंले समाजवादी कलाबारे कुरो उठाउन खोज्नु भएको जस्तो लाग्यो । हो, यस विषयमा नेपाली कला क्षेत्रमा खासै चर्चा गरिएन । तर, नेपालमा समाजवादी कलामा आधारित चित्रकला सन् १९८० मा नेपाल–भारत सांस्कृतिक केन्द्रमा आयोजना भएको थियो । चित्रकार थिए तात्कालीन सोभियत संघको राजधानी मास्कोमा चित्रकला विधामा अध्ययनरत् चित्रकार रामकुमार भौकाजी । सन् १९८१ मा मेरो एक व्यक्ति चित्रकला प्रदर्शनी नेपाल भारत–सांस्कृतिक केन्द्रमा भएको थियो । जसमा समाजवादी कला शैलीमा बनाइएका चित्रहरू राखिएका थिए । सो प्रदर्शनी हुनुभन्दा धेरै पहिले राजा महेन्द्रबाट सोभियत संघमा भएको तीनहप्ते राजकीय भ्रमण दलमा चित्रकार चन्द्रमान सिंह मास्के समावेस थिए । उनका कलामा पनि समाजवादी कलाको प्रभाव देखिएको थियो । तर, उनले प्रभावित चित्रहरूको प्रदर्शनी नगरेकाले त्यो छायाँमा नै रहे । कलाको उच्च अध्ययन समाप्त गरी स्वदेश फर्किएपछि चित्र कलाकार विशेषज्ञ तथा कला विज्ञानका डाक्टर रामकुमार भौकाजीका कयौँ चित्रकला प्रदर्शनी काठमाडौंमा भएपछि त्यसको प्रभाव नेपाली कला क्षेत्रमा प्रत्यक्ष प¥यो । अहिलेको राष्ट्रिय कला प्रदर्शनीमा पनि जनजीवनसम्बन्धी कयौँ चित्रहरू समाजवादी कला शैलीबाटै प्रभावित रहेका छन् ।

० नेपालमा प्रचलित कलाका विभिन्न शैली र चिन्तनलाई समेत प्रदर्शनीले समेट्न नसकेको भन्ने गुनासो पनि आएका छन् ?
नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानले आयोजना गरेको यो राष्ट्रिय ललितकला प्रदर्शनीमा जोजो भाग लिन आए ती सबै स्वस्थ्य प्रतिस्पर्धाका लागि आ—आफ्ना कलाकृतिसहित आए । तिनले जे सिर्जना गरे ती तिनैको शैली र चिन्तनमा आधारित रचना हुन् । प्रतियोगितामा आएका सवै कला शैली र चिन्तनमा आधारित कलालाई हामीले काखापाखा नगरी प्रदर्शन योग्य कलाकृतिलाई प्रदर्शनीमा समावेश गराएकै छौँ । जुन तपाईले पनि हेर्नु भएकै छ । प्रदर्शनीमा नल्याइएका विभिन्न शैली र चिन्तन समावेश भएका कला नसमेटिएको गुनासो गर्नुको कुनै तुक छैन । मेरो विचारमा विभिन्न शैली र चिन्तनलाई प्रदर्शनीले समेट्न नसकेको भनाइ केवल पूर्वाग्रह मात्र हो ।

० यहाँले नेपालमा समाजवादी यथार्थवादी कलालाई अगाडि बढाउने बताइरहनुभएको छ । यो कसरी सम्भव छ ?
नेपालमा समाजवादी यथार्थवादी कला व्याप्त छ । नेपाली कला क्षेत्रमा समाजवादी यथार्थवादी कला नौलो कुरो होइन । सामाजिक यथार्थवादी कला त नेपालमा कयौँ दशक अघिदेखि निरन्तर अगाडि बढी नै रहेको छ । यथार्थवादी कलाको सबैभन्दा पछिल्लो विकासित रूप नै समाजवादी कला हो । जसले सामाजिक जीवन र जगतलाई चित्रमा रूपान्तरित गरेको हुन्छ । समाज कै घटना, कथाव्यथा, परिवेशलाई प्रस्तुत गर्ने कला शैली समाजवादी यथार्थवादको मूल रूप हो ।

० संविधानले समाजवादमा जाने परिकल्पना गरेको छ । यहाँले त्यसैको जगमा रहेर कलामा पनि समाजवादी दृष्टिकोणको परिचर्चा गरिरहनु भएको छ । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश अनुकूल छ त ?
नेपालको संविधानले नै मुलुक समाजवादतर्पm जाने परिकल्पना गरेको छ भने कलामा समाजवादी दृष्टिकोणको प्रसंग आउनु स्वाभाविक कुरो हो । समाजवादी कलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशले केही असर पार्दैन किन कि यो यथार्थवादको एक परिमार्जित रूप हो । समाजवादी कला जुनसुकै परिस्थिति र परिवेसमा पनि विस्तारित हुन्छ ।

० ललितकलाको राष्ट्रिय प्रदर्शनी भव्य बनाउन के गर्नुपर्ला ?
प्रत्येक प्रदेशलाई कला जागरणको निम्ति सचेत गराई प्रदेशबाट बढीभन्दा बढी सहभागिता गराउने प्रयास गर्नु पर्छ । प्रतियोगिलाई पुरस्कार दिदा कलाको मूल्यांकनको आधारमा दिइनुपर्छ । सिर्जनाको मूल्यांकन जब सही हुन्छ तब सहभागीको संख्या बढ्ने छ । देशको सबै ठाउँबाट कलाकर्मीको सहभागिता बढ्दा सिर्जनाको संख्या बढ्ने र ती सिर्जनाबीच आपसमा प्रतिस्पर्धा हुने भएकोले ती सिर्जनाको गुणस्तर पनि बढ्ने हुन्छ । यसबाट ललितकलाको राष्ट्रिय प्रदर्शनी गुणस्तरीय र प्रदर्शनी भव्य हुनेछ ।

प्रतिक्रिया