‘उडान’ एउटा प्रयत्न हो

साहित्यकार विजय सापकोटाको उपन्यास ‘उडान’ हालै प्रकाशन भएको छ । कथा, निबन्ध र कविता विधामा कलम चलाउने सापकोटा बाल र किशोर साहित्य लेखनमा पनि सक्रिय छन् । हाल ‘बाल उदय’ मासिक बालपत्रिकासित आबद्ध रहेका सापकोटाका यसअघि ‘गाउँ खोज्दै जाँदा’, ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’, ‘अनावरण’ र ‘आमाको माया’ गरी चार पुस्तक प्रकाशित भइसकेका छन् । पाँचौँ पुस्तकको रूपमा आएको ‘उडान’ उपन्यासमा केन्द्रित भएर सौर्य दैनिकका लागि शुकदेव थपलियाले गरेको कुराकानीः

साहित्यका विभिन्न विधामा क्रियाशील हुनुहुन्छ । के साहित्यको सबै विधामा कलम चलाउनु उचित हो ?
विभिन्न विधामा लेख्नु उचित अनुचित भन्दा पनि त्यो लेखकको व्यक्तिगत रूचिको कुरा हो । लेखकले आफूलाई अभिव्यक्त गर्न जुन विधामा बढी सहज महसुस गर्दछ उसले त्यही विधामा कलम चलाउँदछ । कहिलेकाहीँ लेखकले प्रस्तुत गर्न खोजेको ‘कन्टेन्ट’ र विचारले कहिलेकाहीँ विशेष विधाको खोजी गर्दछ, यस हिसाबले विधागत विभिन्नता आवश्यकताको कुरा पनि हो । मेरो हकमा पनि त्यही हो ।

तपाईँको पछिल्लो किताब ‘उडान’ लाई किशोर लक्षित उपन्यास भनियो । के यसरी कुनै वर्गलाई लक्षित गरेर उपन्यास लेख्नु उचित होला र ?
उमेर समूहका आधारमा आख्यान लेख्ने चलन विश्वका धेरै साहित्यमा छ । अझ आख्यानमा प्रस्तुत कन्टेन्टका आधारमा यसको प्रकृतिलाई छुट्याउने पनि चलन छ । हामीकहाँ भने बालसाहित्य र प्रौढ या वयस्क साहित्यलाई छुट्याइएको छ तर किशोर उमेरलाई वास्ता गरिने चलन छैन ।

एकदिन संयोगले बेलायती लेखक एन्थोनी लिसाकसँग कुराकानी गर्ने अवसर मिल्यो । उनी बालबालिका र किशोरहरूका लागि लेख्छन् । उनलाई आफू पनि केटाकेटीका लागि लेख्ने कुरा बताउँदा उनले कुन उमेरसमूहका लागि लेख्छौ भनेर सोधे । साँच्चै भन्नुपर्दा मेरो ख्यालख्यालको लेखनमा त्यो किसिमको सचेतता थिएन

लेखकले लेखेको सबै कुरा सबै उमेर र अवस्था विशेषका लागि उपयुक्त हुन्छ भन्ने छैन । चाहे त्यो कन्टेन्टका हिसाबले होस् अथवा विचार र प्रस्तुतिका हिसाबले होस् सबै उमेर समूहका लागि ग्रहणयोग्य नहुन पनि सक्दछ । झन् केटाकेटी र किशोरकिशोरीका निम्ति त यो छुट्याइनु अत्यन्तै जरूरी छ । हामीकहाँ यसको परम्परा नहुँदा कतिपय अवस्थामा गलत साहित्यको नकारात्मक प्रभावलाई उनीहरूले लिइरहेका हुन सक्छन् । आफ्नो उमेर र अवस्थाअनुसारको असल साहित्य पढ्न नपाउनु एक हिसाबले उनीहरूका लागि अन्याय पनि हो ।

‘उडान’ लेखनको योजना कसरी बनाउनुभयो ? बाल साहित्य र प्रौढ साहित्यको बजार मात्रै भइरहेको वेला तपाईँले यो जोखिमचाहिँ किन लिनुभयो ?
म एक दशकदेखि बेलायतमा छु । नेपालमा छँदा म करिब डेढ दशक शिक्षण पेशामा आबद्ध थिएँ । यस दौरान साना केटाकेटीदेखि किशोरकिशोरीसँग मेरो लामो संगत रह्यो । त्यसैले बालबालिका र किशोरकिशोरीसँग जोडिएका कतिपय सवालहरूप्रति मेरो चासो रहने गर्दछ । नेपालमा रहँदा पनि मैले बालबालिकाका लागि केही लेखिसकेको थिएँ । तर त्यो लेखन सचेत किसिमको लेखन थिएन । एकदिन संयोगले बेलायती लेखक एन्थोनी लिसाकसँग कुराकानी गर्ने अवसर मिल्यो ।

उनी बालबालिका र किशोरहरूका लागि लेख्छन् । उनलाई आफू पनि केटाकेटीका लागि लेख्ने कुरा बताउँदा उनले कुन उमेरसमूहका लागि लेख्छौ भनेर सोधे । साँच्चै भन्नुपर्दा मेरो ख्यालख्यालको लेखनमा त्यो किसिमको सचेतता थिएन । लिसाकले मलाई नेपाली बाल र किशोर साहित्यका बारेमा अरू कुराहरू पनि सोधे । मैले जसोतसो आफू जोगिने काम त गरेँ । तर लिसाकसँगको भेटले मलाई यो उमेरसमूहका लागि लेखिने साहित्यमा कतिको जिम्मेवारीबोध हुनुपर्छ भन्ने कुरा छर्लंग गराइदियो । एक हिसाबले फरक किसिमको आकर्षण पनि पैदा भयो । अनि म भेटेजति बालसाहित्य र किशोर साहित्यका किताब पढ्न थालेँ ।

यो बीचमा मैले अनेक प्रकृतिका किताब पढिसकेपछि किशोरकिशोरीका लागि किन नलेख्ने भन्ने विचार पैदा भयो । यो विचारलाई मित्रद्वय कथाकार दिनमानजी र कवि नरेन्द्रकुमारले हौस्याए । सबैभन्दा पहिले औसत नेपाली किशोर उमेरका समस्या र अन्यौलहरूलाई लेखौँ भन्ने कुरा आयो । ती समस्या र अन्यौलहरूलाई खोज्ने क्रममा केही किशोरकिशोरी र शिक्षक साथीहरूसँग पनि छलफल गरेपछि ‘उडान’ लेखनको योजना बनेको हो । बजारको हिसाबले हेर्दा यो जोखिम पनि हुनसक्थ्यो । तर प्रकाशक शाब्दिक बुक्सका साथीहरूको अठोटले यसमा आँट दियो । अहिले पाठक प्रतिक्रिया पाउँदा सही काम गरिएछ जस्तो ढुक्क महसुस भइरहेको छ ।

‘उडान’ उपन्यास पढ्ने कतिपयले विद्यालयको अवस्था र किशोरकिशोरीको दैनन्दिनीको बारेमा मात्रै आयो तर किशोरकिशोरीको मनोभावनालाई कम महत्व दिइयो पनि भने नि ! यसमा तपाईँ के भन्न चाहनुहुन्छ ?
यसमा दुईवटा कुरा छन् । पहिलो कुरा यसको लक्षित पाठकवर्ग किशोर उमेर समूह भएकाले भाषा, शैली र प्रस्तुतिका हिसाबले सकेसम्म त्यो उमेरसमूहका निम्ति सम्प्रेषणीय बनाउन खोजिएको छ । अर्को कुरा, यो उपन्यास लेखनको उद्देश्य औसत नेपाली किशोर किशोरीका शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक समस्या र उल्झनहरूलाई वैचारिक हिसाबले प्रस्ट बनाउन खोज्नु हो ।

त्यसो भएको हुँदा यसमा त्यही सेरोफेरोमा रहेर उनीहरूका मनोविज्ञान आएका छन्, नआएको पक्कै होइन । कुनै पनि आख्यानमा पात्रको मनोविज्ञान त्यो पात्र उभिएको पर्यावरण अनुसारको खोज्ने हो । पात्रको आर्थिक, सामाजिक, सांस्कृतिक र शारीरिक अवस्थाअनुसार उसको मनोविज्ञान प्रकट भएको छ कि छैन त्यो आधारमा मात्रै पात्रको मनस्थिति आए नआएको निक्र्यौल गर्ने हो । यस हिसाबले ‘उडान’ मा उपन्यासको पर्यावरण र यसले स्थापना गर्न खोजेको विचारकेन्द्रित भएर आउनुपर्ने पात्रगत मनोभावना आएको छ ।

के साँच्चै नेपालीमा किशोर साहित्यको कमी नै छ ? ‘उडान’ लाई किशोर साहित्यको कुन स्थानमा राख्न सकिन्छ ?
सबैभन्दा दुःखको कुरा नै यही छ । हामीकहाँ किशोरकेन्द्रित लेखन त छँदै छैन, भए पनि त्यो विषाक्त छ । एकाध किताब लेखिएका छन्, तर, तिनको कुनै चर्चा नै हुँदैन । बौद्धिक र ठूला कुरा गर्ने होडबाजीमा हामीले धेरै महत्वपूर्ण कुराहरूलाई छाडिरहेका छाैँ । तिनमा बालसाहित्य र किशोर साहित्य पनि पर्छ । केटाकेटी र किशोरकिशोरीका निम्ति लेख्नेलाई लेखक मान्न कोही तयार नै छैन ।

केही जिम्मेवार लेखकलाई छाडेर अधिकांशले लक्षित उमेरसमूहका लागि भन्दा पनि बसिबियाँलोका लागि लेखेजस्तो देखिन्छ । यो अवस्थामा ‘उडान’ एउटा प्रयत्न हो । नेपाली किशोरहरूका लागि लेख्नुपर्ने कुरा धेरै छन् । तिनका लागि हामीले ‘एडभेन्चर’ लेख्नु छ, रहस्य र उल्लास लेख्नु छ । तिनका लागि हामीले स्वस्थ किसिमको ह्युमर पनि लेख्न बाँकी छ । उनीहरूलाई आफू सँगसँगै जगत्लाई माया गर्न उत्प्रेरित गर्ने, सिर्जनशील बनाउने र आत्मविश्वास सिर्जना गर्ने किसिमका आख्यानहरू पनि नेपालीमा चाहिन्छन् ।

‘उडान’ मा कविता मिस विशेष पात्र देखिन्छिन् । विचार र प्रयोगमा विशिष्ट यस्ता पात्रको चयन कसरी गर्नुभयो ? के कविता मिसजस्ता पात्र हाम्रै वरिपरि पनि भेट्टाउन सकिन्छ ?
क्याम्पस पढ्न सुरु गरेदेखि नै मैले शिक्षण गर्न थालेको हुँ । म ‘उडान’ लेख्नुअगाडि मैले आफ्नो करिब डेढ दशक लामो शिक्षण पेशालाई इमान्दारीपूर्वक समीक्षा गरिहेरेँ । त्यति लामो शिक्षण जीवनमा म पनि अरू जस्तै औसत शिक्षक मात्रै बनेछु !

यो आत्मालोचना मलाई गहिरो गरी बिझ्यो । हुन त म अरूजस्तै शिक्षक थिएँ विशेष योग्यताविनाको । तैपनि आफूले सामान्य तर महत्वपूर्ण कस्तो किसिमको भूमिका निर्वाह गर्न सक्नेथिएँ भनेर मैले आफैँलाई प्रश्न गरेँ । त्यही प्रश्नले कविता मिसको चरित्र निर्माण गर्न सहयोग पु¥यायो । त्यसैले एक हिसाबले भन्दा यो औसत शिक्षकभन्दा माथि उठ्न नसकेको मेरो शिक्षक जीवनको क्षतिपूर्ति पनि हो । अब यस्ता शिक्षक भेट्न सकिन्छ या सकिँदैन भन्दा पनि ‘उडान’ पढ्ने सरोकारवालाहरूले यस्ता शिक्षक खोजून् भन्न चाहन्छु ।

 आजका किशोर किशोरी प्रेम गर्न रूचाउँछन् । तपाईँले त ‘उडान’ मा प्रेम गर्नु उचित छैन भन्ने सन्देश दिन खोज्नुभएजस्तो लाग्छ नि ?
‘उडान’ ले प्रेमलाई अनुचित भनेको छैन । यसले त प्रेम उपभोक्तावादी बजारमुखी अर्थ र प्रयोगभन्दा सुन्दर कुरा हो भन्न खोजेको छ । किशोर उमेर शारीरिक र मानसिक दुवै हिसाबले संक्रमणकालीन उमेर हो । त्यसैले यो अवस्थामा उनीहरूमा पर्ने प्रभावले उनीहरूको जीवनकै हालतलाई बदलिदिन सक्दछ ।

‘प्रेम’ को नाउँमा बरबाद भएका किशोरकिशोरी तपाईँ हाम्रै आँखा अगाडि छन् । परिवार, समाज र राज्यले किशोर उमेरजन्य शारीरिक र मानसिक अवस्थालाई सही हिसाबले सम्बोधन गर्न नसक्दा एउटा किशोरको भविष्य मात्रै संकटमा पर्दैन सँगसँगै ऊसँग जोडिएको परिवार, समाज र आउने समयलाई नै घाटा हुन जान्छ । त्यसअर्थमा किशोर किशोरीको उमेरलाई संवेदनशीलतापूर्वक हेर्नुपर्छ भन्ने मेरो आग्रह हो । प्रेमको सवालमा पनि कुरा त्यही नै हो । किशोर किशोरीका बीचको विपरीत लिंगीप्रतिको प्राकृतिक आकर्षणलाई उपभोक्तावादी दृष्टिले ‘ग्लामराइज्ड’ गरिँदा धेरै किशोर किशोरीको जीवन बरबाद भएको छ । त्यसैले यो किसिमको प्रेमचाहिँ उचित छैन भनेर ‘उडान’ ले सन्देश दिएको छ ।

‘उडान’ को चर्चा चुलिइरहेको यसवेला किशोरकिशोरीलाई लक्षित गरेर फेरि केही लेख्ने योजनामा हुनुहुन्छ ? अब पाठकले तपाईँबाट केही आशा त गरेकै छ, तपाईँको आगामी योजना पनि बताइदिनुस् न ।
‘उडान’ पढ्ने पाठक विशेषगरी किशोरकिशोरी, तिनका अभिभावक र शिक्षकहरूबाट जुन किसिमको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ, त्यसबाट म उत्साहित छु । किशोरकिशोरीका लागि केही विषयहरू सोचिरहेको पनि छु । हेरौँ, त्यसलाई कतिको साकार स्वरूप दिन सकिनेछ । बाल र किशोर साहित्यबाहेक केही कथा र निबन्धहरू लेख्ने योजना पनि छ ।

प्रतिक्रिया