मधेसी संस्कृतिमा नयाँ वर्ष

सञ्जय मित्र

मधेसमा तीनवटा पर्व मात्र विक्रम सम्वतको गणनाले मनाइन्छन् । वैशाख, असोज र माघ संक्रान्तिको दिन मधेसको लोकजीवनमा विशेष पर्वको रूपमा मान्यता पाएका छन् । बाँकी सम्पूर्ण चाडपर्वहरू चन्द्रमास अनुसार मनाइन्छन् ।

हरेक संस्कृतिको आफ्नै जीवन कला हुन्छ । आफ्नै किसिमले समाजमा संस्कृति बाँचेको हुन्छ । संस्कृतिले मानिसको पहिचानलाई बचाएको हुन्छ । समाजलाई जीवन्त बनाएको हुन्छ र गतिशीलता पनि प्रदान गरेको हुन्छ । हरेक समाजमा संस्कृतिको आफ्नै मूल्य हुन्छ, मान्यता हुन्छ । मूल्य र मान्यताले समाजमा आफ्नो अलग्गै पहिचान कायम गरेको हुन्छ ।

हुन त संस्कृतिको पछाडि इतिहास हुन्छ, इतिहास पनि अलग किसिमले आएको हुन्छ । एउटै कथा, घटना वा पात्रलाई अलग अलग रूपमा विभिन्न मिथकहरू जोड्दै संस्कृति बनिसकेको हुन्छ । जसले गर्दा एउटै संस्कृतिका विभिन्न रूप र मान्यताहरू बनिसकेका हुन्छन् । मान्यता, प्रथा, संस्कृति तथा अन्धविश्वास वा सामाजिक मनोविज्ञान सदैव एकै किसिमको रहँदैन । निरन्तर परिवर्तन भइरहेको हुन्छ । परिवर्तनको क्रम कतै तीव्र हुन्छ र कतै यसको गति भने कमजोर हुन्छ । यसले गर्दा समाजको अन्य गतिलाई पनि प्रभावित पारेको हुन्छ, समाजका विभिन्न तत्व प्रभावित हुन्छ ।

नेपालको आधिकारिक सम्वत विक्रम सम्वत हो । विक्रम सम्वतको औपचारिक सुरुआत पनि तिथिको आधारमा हुन्छ भनेर मानिन्छ तर तिथिलाई गणना गर्न सजिलो नहुने र संसारमा प्रायः एक वर्षमा तीन सय पैसठी दिन हुने भएको मान्यता प्रचलनमा रहेकोले तिथिलाई अस्वीकार नगरी नयाँ मापन निर्धारण गरिएको हुनुपर्छ । विक्रम सम्वतको सुरुआत वैशाखदेखि मानिएको छ । यसकारण वैशाखको संक्रान्ति अर्थात पहिलो दिनलाई नयाँ वर्षको रूपमा स्वीकार गरिएको छ । विक्रम सम्वतलाई नेपालको आधिकारिक र सरकारी कामकाजको सम्वतको रूपमा मान्यता प्राप्त भएपछि यस सम्वतको स्वीकारोक्ति र विस्तार देशव्यापी भइसकेको कुरामा दुई मत छँदैछैन । यस नयाँ वर्षले तराई मधेसमा पनि उत्तिकै महत्व र औपचारिकता पाइसकेको छ ।

मधेसमा तीनवटा पर्व मात्र विक्रम सम्वतको गणनाले मनाइन्छन् । वैशाख, असोज र माघ संक्रान्तिको दिन मधेसको लोकजीवनमा विशेष पर्वको रूपमा मान्यता पाएका छन् । बाँकी सम्पूर्ण चाडपर्वहरू चन्द्रमास अनुसार मनाइन्छन् ।
वैशाख संक्रान्तिको दिन मधेसी लोकजीवनमा सतुआन र खिचडी मनाइन्छ । सतुआन भनेको सातु खाने दिन हो । यस दिन बिहानै घर लिपपोत गरी घरका सबै सदस्य नुहाइ घरको देवतालाई जौको सातु, आँपको चिचिलाको चटनी अनिवार्य चढाउने गरिन्छ । जौको सातुमा नून हालेर मुछेर र आँपको चिचिलाको चटनी बनाएर अन्य विभिन्न सामग्रीसहित देउताको पूजा गरेर सबैले कमसे कम एकचोटि सातु अवश्य खान्छन् ।

आयुर्वेदाचार्य डा. सञ्जीवकुमार यादव भन्दछन् “वैशाखदेखि गर्मी सुरु हुने भएकोले पौष्टिक र सुपाच्य भोजन आवश्यक हुन्छ । जौको सातु चना, मकै, गहुँ र अन्य अन्नको तुलनामा निकै सुपाच्य र सबैभन्दा बढी पौष्टिकयुक्त हुन्छ । जौको सातुको अर्को विशेषता भनेको यसले प्रदान गर्ने शीतलता हो । यसले दिनभर शरीरलाई शीतलता प्रदान गर्दछ । गर्मीमा शरीरलाई पानीको आवश्यकता बढी पर्ने र गर्मीको प्रकोपबाट जोगिन शीतलता आवश्यक हुने भएकोले हाम्रो मधेसी संस्कृतिमा सबैले सातु खानुपर्ने चलन चलेको हुनसक्छ ।” वैज्ञानिक दृष्टिले पनि तराई मधेसको जनजीवनका लागि बिहान खाली पेट सातु खानु राम्रो मानिने यादवको दाबी छ ।

नयाँ वर्षको दिन सतुआन नमनाइने क्षेत्र वा कतिपय समुदायमा खिंचडी मनाइन्छ । खिंचडी भनेकै पानीको मात्रा बढी भएको र दाल वा अन्य गेडागुडीसमेत मिसाइएको गिलो भात हो । यो पनि एकातिर सुपाच्य हुन्छ भने अर्कोतिर पौष्टिक पनि हुन्छ । गर्मीको दिन सुरु भएकोले खानपानमा बढी ध्यान दिनुपर्छ र रसिलो खानेकुरो बढी खानुपर्छ भन्ने सन्देश यसले दिएको छ । सतुआनभन्दा पहिले सातु र आँपको चिचिला खानुहुँदैन भन्ने मान्यता ग्रामीण लोकजीवनमा कायमै रहेकाले बूढापाकाहरू यो पर्व सम्पन्न नहुँदासम्म सातु र आँपको चिचिला खान सुरु गर्दैनन् ।

नयाँ वर्ष मनाइने वैशाख महिनाको दोस्रो दिन जूडशीतल मनाइन्छ । जूडशीतलको दिन एकाबिहानै घरका सबैभन्दा ज्येष्ठ वरिष्ठले घरका सबै सदस्यको जीउमा पानी छम्कन्छन् । पानी छम्केर जुडाएके भन्दै आशीर्वाद दिन्छन् । जुडाएके अर्थ अभ्यन्तरमै शीतलता आओस् भन्ने हो । मन, वचन र कर्मले मानिसलाई आफैँप्रति सन्तुष्टि प्राप्त होओस् भन्ने कामना गरिने यो पर्व अहिले विस्तारै परिवारमा मात्र सीमित भएको छ । पहिले यसलाई कादोपानीको दिन पनि भनिन्थ्यो । बाटो हिँड्ने जसकसैको पनि हिलो, गोबर घोलेको पानी, नालाको पानी, मोबिल, मोही आदि जे पायो त्यहीँ नै जीउमा फालिन्थ्यो । यसले निकै विकृतिको रूप लिइसकेको थियो । अब सामान्यतया टोल र मन मिल्ने छिमेकीसम्म शुद्ध बासी पानी छम्किने र आशीर्वाद लिने–दिने पर्वको रूपमा सीमित भएको छ । पहिले दिनभर चल्ने यो पर्व अहिले बिहानमा सीमित भएको छ । पहिलेभन्दा सभ्य र नरम बनेको जूडशीतल विस्तारै लोप हुनेतिर केन्द्रित छ ।

जूडशीतलले गर्मीको दिन आयो, हरेक दिन बिहान अनिवार्य रूपमा चिसो पानीले नुहाउनु पर्छ जसले शरीरलाई स्वास्थ्य प्रदान गरोस् भन्ने हो । गर्मीमा तराई मधेसमा सबै जनालाई नुहाउन पुग्ने पानीको सम्भवतः अभाव हुन्थ्यो वा बासी पानीको उपयोग नगरी फाल्ने चलन थियो तर स्वास्थ्यको दृष्टिकोणले बासी पानी महत्वपूर्ण हुने हुनाले यसको उपयोग गर्नुपर्छ भनेर पितापुर्खाले बासी पानीको उपयोगिता बनाएको हुनुपर्छ । पानीको हरेक थोपा महत्वपूर्ण हुने यस पर्वको सन्देश हो । गर्मीको दिनमा जति बिहान नुहायो शरीरले उति धेरै शीतलता पाउने सामाजिक मनोविज्ञान रहेको छ । जूडशीतल सम्पन्न भएपछि अझै पनि धेरै परिवारमा गाग्री वा लोहोटामा राती पानी राखेर भोलिपल्ट बिहानै पिउने चलन छ । बिहान खाली पेटमा पानी पिउनु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुने स्पष्ट छ ।

वैशाख संक्रान्ति र त्यसको भोलिपल्ट गरी दुवै दिन सांस्कृतिक दृष्टिकोणले मधेसी जनजीवनमा विशेष महत्व राख्दछन् । लोकजीवनमा यी दुई दिनले आफ्नो विशिष्टतालाई कायम राखेका छन् तर पनि नवयुवाहरूको आकर्षण भने न त सतुआनप्रति छ र न त जूडशीलतप्रति नै ।

पहिले पहिले लक्ष्मीपूजा÷दीपावलीलाई पनि ग्रामीण समुदायमा नयाँ वर्षको रूपमा लिइन्थ्यो । दीपावलीको भोलिपल्टको दिनलाई सालको नयाँ दिनको रूपमा लिइन्थ्यो र यस दिन ग्रामीण समुदायमा पशुलाई एकापसमा लडाएर मनोरञ्जन लिने चलन थियो । यसको अवशेष अझै पनि कतिपय गाउँमा रहेको छ । दीपावलीको भोलिपल्टदेखि नयाँ साल सुरु हुने हुँदा मुख्यतः कोही कसैले सापटी लिएको छ भने फिर्ता नगर्दा दीपावलीको भोलिपल्ट स्वतः ऋणमा परिणत हुने चलन थियो ।

यसै गरी कसैले नगद वा जिन्सी ब्याजमा लिएको छ भने त्यो जुनसुकै महिनामा लिएको किन नहोओस् तर दीपावलीको दिनसम्मको ब्याज अनिवार्य बुझाउनुपथ्र्यो हैनभने दीपावलीको भोलिपल्टदेखि ब्याज पनि स्वतः मूलधनमा परिणत हुन्थ्यो र सबै ब्याज तथा मूल धनको ब्याज एकसाथ बढ्न सुरु हुन्थ्यो । यद्यपि, वर्तमानमा यो चलन सम्पूर्णतः हराइसकेको छ ।
थारु समुदायले मुख्यरूपमा नयाँ वर्ष माघे संक्रान्तिलाई मान्ने चलन थियो । आफ्नो संस्कृतिको हकमा अझै पनि थारु समुदायले नयाँ वर्ष माघे संक्रान्तिलाई नै मान्दछन् ।

नयाँ वर्षको रूपमा विक्रमको वैशाख संक्रान्तिलाई अब हरेक समुदायले स्वीकार गरिसकेको छ । आफ्नो विशेषता तथा विशिष्टता हुँदाहुँदै पनि फरक किसिमले नयाँ वर्षलाई हरेकले स्वागत गर्ने गरेका छन् । मधेसी समुदायमा पनि नयाँ वर्षले विशेष उत्साह ल्याउने गरेको कसैबाट लुकेको छैन ।

प्रतिक्रिया