सुशासन, पारदर्शिता र सदाचारतर्फ उन्मुख भीरकोट नगरपालिका

कृष्णहरि बास्कोटा

गत वर्ष पालिकाले फोहोरबाट मात्रै पैतीस हजार आम्दानी गरेको थियो, जवकी अन्य पालिकाले फोहोर व्यवस्थापनमै ठूलो धनराशी खर्चिएका छन् । यस पालिकाले भविष्यमा फोहोरलाई व्यवस्थित गर्न ल्यान्डफिल्ड साइट निर्माणका लागि २० रोपनी जमिनको प्रबन्ध गरिसकेको छ ।

 

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका ०७२ साल असोज १ गते घोषणा भएको हो । पालिकाको वेभसाइटको जानकारी अनुसार मध्यकालीन आँधिखोलाको सभ्यताभित्र भीरकोटराज्यको स्थापना विक्रम संम्बत १४७५देखि १५००को बीचमा भएको थियो । स्याङ्जाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला–कोट मानिएको पाइन्छ । उहिले आँधिखोलादेखि पश्चिम खिलुङ भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकटभीरकोट शीतल हावा चल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरूले राज्य चलाएको पाइन्छ ।

भीरकोट नगरपालिका एउटा सुन्दर पहाडि सहरको रूपमा परिचित छ । कूल ९ वडामा विभक्त यस पालिकाभित्र २५ हजार ८ सय ८३ जनसंख्या छ । साबिकका छाङ्गछाङ्गदी, बानेथोक देउराली, दर्सिङ्ग दहथुम, स्वरेक, ढापुक सिमल भञ्ज्याङ खिलुङ देउराली र कालिकाकोट गाउँ एकीकृत भएर यो पालिका बनेको हो । कृषि र पशुपालनको विकासमा अग्रसर यस पालिकाले आफ्ना किसानलाई ५० थान हाते ट्याक्टर र १०० थान टनेल ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि भीरकोट नगरपालिका बिषयमा यस पंक्तीकारको कान ठाडो भएको हो । यसै क्रममा भीरकोटका मेयर छायाराम खनाल र प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुगांनाले यस पंक्तिकारलाई सो पालिकामा आई प्रशिक्षण दिन आमन्त्रण गर्नुभयो ।

जसअनुसार ०७५ असोजमा सो पालिका पुग्दा, मेयर, उपमेयर, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका नेताहरू, नागरिक समाजका अगुवा र बुद्धिजिवीहरूको ठूलो संख्यामा उपस्थिति थियो । सो भव्य उपस्थितिमा यस पंत्तीकारबाट सूचनाको हक, सुशासन, सदाचार, पारदर्शिता, विधिको शासन, स्थानीय सरकार सञ्चालनको विधि लगायतका विषयमा जानकारी दिने काम भयो । साथै नेपालभरीका पालिकाले सम्पादन गरेका असल अभ्यासहरू प्रस्तुत गरेपछि उपमेयर सिमा केसी कर्माचार्य र वडाअध्यक्ष लगायतले पनि भीरकोटबाट सम्पादित काम बताउन सुरु गर्नुभयो । जसलाई आलेखको स्वरूप दिई प्रकाशन गर्दा अन्य पालिकालाई पनि लाभ पुग्ने महसुस गरी कलम चलाएको हुँ ।

भीरकोट नगरपालिकाले हालसम्म २३ ओटा ऐन, नियम, कार्यविधि र निर्देशिका तर्जुमा गरी लागू गरेको छ । यस पालिकाले छाडा पशुको व्यवस्थापनमा उच्च प्राथमिकता दिएको छ । जसअनुसार यस पालिकाले छाडा पशु व्यवस्थापन केन्द्र नै सञ्चालनमा ल्याएको छ । यसैगरी भीरकोटले आफ्नो क्षेत्रभित्र बसपार्क निर्माण गरी पार्किङलाई व्यवस्थित गरेको छ । यस पालिकाको निर्वाचन हुनु अघिल्लो बर्ष करिब १२ लाख मात्रै आम्दानी भएकोमा निर्वाचन पछिको पहिलो वर्षमै यसको आन्तरिक स्रोत रु १ करोड पुगेको छ । यस पालिकाले एकीकृत सम्पत्ति कर लागू गरेको छ । भीरकोट आफूलाई पूर्ण सरसफाइ पालिका बनाउन तल्लीन छ । पालिकाले अति विपन्न, अल्पसंख्यक तथा दलित समुदायलाई लक्षित गरी शौचालय नभएका र कच्ची शौचालय भएकालाई प्रत्यक्ष सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरेको छ । जस अनुसार शौचालय निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट, जस्तापाता, प्यान र रड वितरण गरेको छ । यसबाट हालसम्म तीन सय घरमा पक्की चर्पी निर्माण भइसकेको छ । यस्तो प्रणाली अन्य पालिकाहरूका लागि अनुकरणीय हुने ठानेको छु ।

नगरभित्रको फोहोर नियमितरूपमा संकलन गरी त्यसलाई पृथकीकरण गर्न भीरकोट पालिका अग्रसर छ । यसबाट पालिकाले फोहोरलाई मोहोरमा रूपान्तरित गरेको छ । गत वर्ष पालिकाले फोहोरबाट मात्रै पैतीस हजार आम्दानी गरेको थियो, जवकी अन्य पालिकाले फोहोर व्यबस्थापनमै ठूलो धनराशी खर्चिएका छन् । यस पालिकाले भविष्यमा फोहोरलाई व्यवस्थित गर्न ल्यान्डफिल्ड साईट निर्माणका लागि २० रोपनी जमिनको प्रबन्ध गरिसकेको छ । साथै यस काममा पालिकाले टोल विकास संस्था र निजी क्षेत्रसँग सहकार्य आरम्भ गरेको छ । यो पालिकाले नगरपालिका घोषणा हुनुपूर्व निर्माण भएका पक्की घरहरूको अभिलेखीकरणको कामलाई अघि बढाएको छ । साथै अब निर्माण हुने घरमा निश्चित मापदण्डका आधारमा नक्शा पासको अनुमति लिएर मात्रै भवन निर्माण गर्न पाईने व्यवस्था गरेको छ ।

यो पालिका स्वरोजगार योजनामा पनि अग्रसर छ । जस अनुसार यस पालिकाले ८० जना महिलालाई अगरबत्ती, ५० जना पुरुषलाई सिकर्मी तथा डकर्मी, १०० जना महिला र पुरुषलाई मौरी पालन, ५० जनालाई उद्यमशीलता विकास र ५० जनालाई बेत बाँसका सामाग्री निर्माणको तालिम दिएर आफ्नै खुट्टामा उभिन सक्ने वातावरण तयार गरेको छ । यस अतिरिक्त भीरकोटले २०० जना महिलालाई तीन महिने सिलाइ–कटाइ तालिम पनि दिएको छ । यसरी नगर क्षेत्रभित्र उपलब्ध साधन, स्रोत, सीप र अवसरलाई छोप्न यस पालिकाले उठाएको कदम अन्य पालिकाका लागि अनुशरणयोग्य रहेको छ ।

भीरकोट नगरपालिकाले पत्राचारमा हस्तलेखन गर्न कार्यालयलाई पूर्णरूपमा बन्देज लगाएको छ । यो पालिका पेपरलेस अवधारणामा पनि अघि बढेको छ । यस पालिकाले व्यक्तिगत घटना अनलाईन दर्ता हुने प्रणाली लागू गरेको छ । सूचनाको आदान–प्रदानमा इमेलको प्रयोग बढाइएको छ । कार्यालय परिसरलाई वाईफाई फ्रि जोन बनाइएको छ । यस पालिकाले एक गाउँ एक नर्सरी, एक घर एक करेसाबारीको कार्यक्रम लागू गरेको छ । आम किसानलाई यस पालिकाले सबै किसिमको मौसमी र बेमौसमी तरकारीका बिउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । साथै यस पालिकाले आफ्नो क्षेत्रभित्र उत्पादनको संभावना भएका सुन्तला तथा कागती र निबुवाको ७ हजार ओटा बेर्ना किसानलाई वितरण गरेको छ । यो पालिका सबै वडामा कार्यालय भवन निर्माण गर्न खोज्दैछ भने रु. ८ करोड लागतमा नगरपालिका भवन निर्माणमा जुटेको छ ।

उज्यालो भीरकोट अभियानअन्तर्गत यस पालिकाले सडकबत्तीको व्यवस्था गरेको छ । सडक कालोपत्रे गर्ने र घर नम्बर राख्ने काममा पनि भीरकोट अघि सरेको छ । यो पालिका आफूलाई बालमैत्री पालिकाको रूपमा परिचित गराउने अभियानमा पनि जुटेको छ । यसैगरी, भीरकोट नगरपालिकाले गर्भवती भएको चार महिनादेखि बच्चा प्रसूति नहुन्जेलकोे समयसम्म सबै महिलालाई प्रतिदिन एउटा कुखुराको अन्डा वितरण गर्दै आएको छ । साथै प्रसूतिलगायतका बखत महिलालाई सघाउने स्वयंसेवीकाहरूलाई उत्प्रेरित गर्न यस पालिकाले उनीहरूलाई मासिक पाँच सय सञ्चार खर्च प्रदान गरिरहेको छ । यसैगरी, प्रति आमा समूहलाई मासिक खाजा खर्च बापत रु एक हजार पनि उपलब्ध गराउँदै आइरहेको छ । यस पालिकाले पाँच वर्षमुनिका सबै बालबालिकालाई वर्षमा दुई पटक निःशुल्क जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै आएको छ । यसैगरी पाँच वर्षमाथिका बालबालिकालाई वर्षमा दुईपटक निःशुल्क जुकाको औषधि खुवाउँदै आएको छ । यस पालिकाले चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा पनि सञ्चालन गरिआएको छ । साथै ९ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा पनि आरम्भ गरेको छ । यस्ता कार्य अन्य मुलुकका पालिकाका लागि उत्प्रेरणाको विषय हुने देख्दछु ।

भीरकोट पालिकाले २ हजार ६ सय जेष्ठ नागरिकलाई परिचयपत्रसहित मासिक भत्ता वितरण गर्दै आएको छ । साथै जेष्ठ नागरिकको सम्मान कार्यक्रम पनि आरम्भ गरेको छ । यस पालिकाले धार्मिक स्थलको मर्मत सम्भारको काममा पनि अग्रसरता देखाएको छ । साथै यस पालिकाले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गर्दै अपांगमैत्री संरचना निर्माणमा जोड दिएको छ । यस पालिकाले आर्थिक सुशासनका लागि प्रत्येक महिनाको खर्च वेवसाइटमा राख्ने गरेको छ । नियमितरूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेको छ । उपभोक्ता समूहले गरेको कामको पारदर्शिताका लागि उपभोक्ता डायरी प्रकाशित गर्ने गरेको छ । साथै योजना र जिन्सी दुवै तर्फ सफ्टवेयर तयारी गरी आधुनिक ढंगले काम गर्दै आईरहेको छ । चालू आब. ०७५÷७६ को बजेट मार्फत भीरकोटले पारदर्शिता, भ्रष्टाचारमा शुन्य सहनशीलता र सुशासन कायम गर्ने आफ्नो उद्देश्य रहेको जनाएको छ । यो पालिका ५० शैयाको अस्पताल निर्माणमा जुटिरहेको छ भने भीरकोट मेयरकप भलिबल प्रतियोगितालाई निरन्तरता दिँदैछ । साथै यस पालिकाले सेवाग्राहीसँग मेयर, सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण लगायतका कामलाई पनि उच्च महत्व दिएको छ ।

चालू आ.ब. ०७५÷७६ का लागि भीरकोट नगरपालिकाले रु ३८ करोड ९५ लाख ८ हजार ३ सयको बजेट जारी गरेको छ । यस बजेटबाट ल्यान्डफिल्ड साईटको पूर्वाधार विकास गर्ने, बसपार्क र खेलकूद मैदान निर्माण गर्ने, क्रिया घर, अस्पताल निर्माण गर्नेजस्ता काममा पालिकाले रकम विनियोजन गरेको छ । यो पालिका सडकहरूको राईट अफ वे र सडकको वर्गीकरणमा पनि जुटेको छ । साथै अधुरा सामुदायिक भवनलाई पूरा गर्ने अभियान आरम्भ गरेको छ । यस पालिका प्रत्येक वडामा कम्तीमा एक–एक ओटा खेलकूद मैदान निर्माणको अभियानमा पनि अघि बढेको छ । मेयरसँग जेष्ठ नागरिक कार्यक्रमअन्तर्गत विश्राम स्थल र जेष्ठ नागरिक चौतारी बनाउन पनि भीरकोट सक्रिय छ । आफ्नो नगर क्षेत्रमा रहेका भाषाभाषीको संरक्षणमा पनि पालिका लागिपरेको छ । असहाय बालबालिकाको पहिचान गरी तिनको उचित व्यवस्थापन गर्नुपर्ने बोध यस पालिकामा छ । यो पालिकाले शत प्रतिशत स्वास्थ्य संस्थामा प्रसुती गराउने अभियान घोषणा गरेको छ, अर्थात् जिरो होम डेलिभरी र पूर्ण खोप सुनिश्चिततामा भीरकोट पूर्ण प्रतिबद्ध छ ।

भीरकोट नगरपालिकाले एक विद्यालय एक प्राविधिक शिक्षा अध्यापन गराउने कार्य आरम्भ गरेको छ । पालिकाले पूर्वाधारको निर्माण गर्दा अपांग तथा बालमैत्री हुने गरी पूर्वाधार निर्माण गर्ने संकल्प लिएको छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउने र एक घर एक करेसाबारी, एक गाउँ एक नर्सरीको अवधारणालाई साकार बनाउन पनि भीरकोट निरन्तर अघि बढिरहेको छ । कृषि उब्जनी बढाउन माटो परीक्षण गर्ने र पशुपालन व्यवसाय पकेट क्षेत्र तोकी यसको प्रवद्र्धनमा पालिका लागिपरेको छ । एक गाउँ एक उत्पादनको संभावना खोजी गर्ने, सुन्तला, कागती, निबुवा र कफीखेतीमा देखिएको संभाव्यतालाई छोप्ने ध्येयमा भीरकोट छ । साथै फलफूल र तरकारीको उत्पादनमा आफू आत्मनिर्भर हुने पालिकाको लक्ष्य छ । यसैगरी दुध, मासु र अन्डामा पनि पालिका आत्मनिर्भर हुने अभियान छ । साथै माछा र मौरी पालन व्यवसायमा पनि सफलता हासिल गर्ने ध्येय राखिएको छ । कृषि उत्पादनको बजारका लागि हाट बजारको व्यवस्था गर्ने, घरवास पर्यटन (होमस्टे) को विकास गर्ने, सुन्दरचौर वनस्पती सूचना केन्द्रलाई पर्यापर्यटनको रूपमा विकास गर्न गुरुयोजना तर्जुमा गर्ने काममा पनि यो पालिका जुटेको छ ।

भीरकोट नगरपालिका आफूभित्र बजेट वितरणका लागि सूत्रमा आधारित सफ्टवेयर प्रणाली अनुसार काममा जुटेको छ । कुनै पनि कार्यक्रम आयोजना गर्दा तोकिएको समयभन्दा १५ मिनेटमा ढिला नगर्ने, यसका लागि उपस्थित पदाधिकारी मध्ये जेष्ठ÷वरिष्ठले कार्यक्रम आरम्भ गर्ने घोषणा यस पालिकाले गरेको छ, जो अन्य पालिकाका लागि अनुशरणयोग्य छ । यस पालिकाले कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने र भोज भतेरलाई नियन्त्रण गरेको छ । यो पालिका पुस्तकालय र वाचनालयको स्थापनामा पनि जुटेको छ । सञ्चारकर्मी र मिडिया हाउससँग सहकार्यको अभियान थालेको छ । बजार अनुगमन गरेको छ । आम जनतामा नगरपालिका स्थापना भएको अनुभूति दिने प्रयास गरेको छ ।

यस पालिकाले नगरिकको सूचनाको हकको सम्मन गर्दै ३ महिने स्वतः प्रकाशन जारी गरेको छ । एक नेपाली एक फलपूmल विरुवा रोपण कार्यक्रम अन्तर्गत सुन्तताका ७ हजार बोट, कागतीको २ हजार बोट, केरा र लप्सीकोे हजार बोट तथा अम्रिसोको २ लाख बोट वृक्षारोपण गरेको छ । यसका अतिरिक्त भीरकोट पालिकाबाट विशेष उत्साहका साथ अन्य थुप्रै काम भएको छ ।

प्रतिक्रिया