समालोचक कोटरीवादभन्दा माथि उठ्न सकेका छैनन्

तीन दशकपछिकै लेखन प्रगतिवादी अर्थात् यर्थावादी लेखन हाबी भएको लेखन हो तर, यथार्थता के देखिन्छ भने आजको नेपालको शासन सत्तामा वामपन्थीहरूको दुईतिहाइ छ ।

तर, नेपालको आर्थिक क्षेत्र र सञ्चार माध्यममा अरूकै दुईतिहाइ छ ।

सिर्जना सापेक्ष, व्याख्याका क्रममा वा सर्जक र सिर्जनालाई त्यतातर्फ उत्तरदायी बनाएर उक्त कार्य गर्न सक्छ, जुन कार्य प्रगतिवादी समालोचनाले केही हदसम्म गरेका भए पनि प्रायः प्रगतिवादी समालोचक आफँै उच्चता ग्रन्थियुक्त दम्भबाट साधारणीकृत हुन नसकेको अनुभव हुन्छ ।

डा. मधुसुदन गिरी, कविता, गजल, हाइकु, कथा, समालोचना, लोकवार्ता, हाँस्य व्यंग्य, निबन्ध लगायतका क्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा हुन् । पादुका–६, दैलेखमा जन्मिएका डा. गिरीले नेपाली साहित्यमा विद्यावारिधी गरेका छन् । ‘नेपाली हाइकुः परम्परा प्रवृत्ति’ विषयमा अनुसन्धानमूलक कृतिका साथै उनले ‘धर्तीकी परी (बाल कवितासंग्रह), मेरो सानो खुत्रुके (बालकथा), बूढो रूखको आत्मकथा (बालकथा), जिन्दगीको सन्धिसर्पन (कविता संग्रह) तथा बाल संगातीलाई पत्र (कविता, गजल, हाइकु) संग्रह प्रकाशित गरिसकेका छन् ।

नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका डा. गिरी प्रगतिवादी नेपाली साहित्यले समाजको गहिराइलाई गम्भीर ढंगले उठान गरेको दाबी गरेका छन् । उनले व्यावहारिक समालोचनामा वाम राजनीतिक दलजस्तै आआफ्ना समूहमा सीमित प्रायः समालोचकहरू पनि कोटरीवादभन्दा माथि उठ्न सकेको जिकिर गरे ।

नेपाली समालोचनामा अलि अगाडि इन्द्रबहादुर राई आदिले ‘माक्र्सवादः साहित्यको चीरहरण’ भन्ने प्रकृतिका आक्रामक वैचारिक समीक्षा प्रस्तुत गरेथे, पछि मोहनराज शर्माले वस्तुपरक प्रयोगात्मक भनेर शैली विज्ञान भित्र्याए । विश्वविद्यालयीय केही शोध कार्यबाहेक त्यो पनि आफैमा सीमित भयो ।

त्यस्तै, प्रायः प्रगतिवादी समालोचक आफै उच्चता ग्रन्थियुक्त दम्भबाट साधारणीकृत हुन नसकेको उनले सुनाए । नेपाली साहित्य, समालोचना, लोकवार्ता तथा कविताका बारेमा डा. गिरीसँग सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानीः

आजकल केमा व्यस्त हुनुहुन्छ ?
-आफ्नाभन्दा अरूकै कामलाई प्राथमिकता दिने बानी परेछ क्यार, आफ्ना ठूला काम छोडेर झिनामसिना फुटकर लेखनतिर अल्झेको छु । पश्चिम नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल दैलेखको दुल्लुमा भानुभक्तदेखि कृष्ण सेन इच्छुकसम्मका ३१ जना साहित्यकारका सालिक स्थापना गर्ने कार्ययोजना छ । त्यसको संयोजकको रूपमा काम गरिरहेकाले त्यसमा पनि समय दिनुपरेको छ ।

नेपाली साहित्यको वर्तमान अवस्थाबारे बताइदिनुस् न
-नेपाली साहित्यको वर्तमान अवस्था नेपालको संसद्कै जस्तो छ, संख्यामा र गुणस्तरमा पनि दुईतिहाइ । तीन दशकपछिकै लेखन प्रगतिवादी अर्थात् यर्थावादी लेखन हाबी भएको लेखन हो तर, यथार्थता के देखिन्छ भने आजको नेपालको शासन सत्तामा वामपन्थीहरूको दुईतिहाइ छ, तर नेपालको आर्थिक क्षेत्र र सञ्चार माध्यममा अरूकै दुईतिहाइ छ । अझ मूलधारभन्दा पर बसेका वामपन्थीसमेत मिलाउँदा त त्यो प्रतिशत सायद ७०–७५ कति पुग्ने हो भन्न सकिन्न । यही अवस्थाबाट रन्थनिएका भाङ, धतुरा दिएको नशायुक्त लेखनको आरोप लाग्दै आएका केही अराजकतापन्थी लेखकले यथार्थवादी लेखनले नेपाली साहित्य ध्वस्त पा¥यो भनेर पनि प्रतिक्रिया दिएका छन् ।

यत्ति भए तापनि नेपालको प्रगतिवादी लेखन अझै गम्भीर बन्नुपरेको छ । विचार चिनी हो त्यसलाई सोझै फाँको हालेर होइन सर्वत बनाएर पस्किनुपरेको छ र लेखक जीवनवादी राज्य लक्षित समाजवादी लक्ष्यतिर समाजलाई डो¥याउने जिम्मेवार बन्नु परेको छ । बजारमा सशक्त हस्तक्षेप गर्न सक्नुपरेको छ लेखनद्वारा । उत्तरआधुनिक महाजालसँग प्रतिस्पर्धा गरेर त्यसमा अन्तर्निहित उद्देश्यलाई भन्डाफोर गर्न सक्नुपरेको छ । त्यस्तो लेखन केही कवि लेखकले गरेका पनि छन् ।

नेपाली समालोचनामा के–कस्ता प्रवृत्ति हाबी छन् ?
-नेपाली समालोचनामा अलि अगाडि इन्द्रबहादुर राई आदिले ‘माक्र्सवादः साहित्यको चीरहरण’ भन्ने प्रकृतिका आक्रामक वैचारिक समीक्षा प्रस्तुत गरेथे । पछि मोहनराज शर्माले वस्तुपरक प्रयोगात्मक भनेर शैली विज्ञान भित्र्याए । विश्वविद्यालयीय केही शोध कार्यबाहेक त्यो पनि आफैमा सीमित भयो । कृष्ण गौतम, गोविन्दराज भट्टराई, लक्ष्मणप्रसाद गौतम आदिले उत्तर आधुनिकतालाई अगाडि बढाए ।

अगाडिबाटै वासुदेव त्रिपाठी, तारानाथ शर्मा, अभि सुवेदीलगायत एउटा ठूलै कित्ता सैद्धान्तिक एवं प्रभाववादी लेखनलाई अपनाएर अगाडि बढे । प्रगतिवादी कित्तामा हृदयचन्द्र सिंह प्रधानदेखि आजका मोहन वैद्य किरण, निनु चापागाईं, ऋषिराज बराल, राजेन्द्र सुवेदी, देवी गौतम, सुधा त्रिपाठी, रमेश भट्टराई, ताराकान्त पाण्डे, गोपिन्द्र पौडेल, जगदीशचन्द्र भण्डारी आदिको एउटा ठूलै समूह क्रियाशील छ ।

वर्गीय पक्षधरता र पार्टी प्रतिबद्धता एवं प्रगतिवाद र प्रगतिशीलतामै मतैक्य नदेखिए पनि यी प्रायः सैद्धान्तिक व्याख्या, चर्चामै बढी केन्द्रित छन् । यसबाहेक व्यावहारिक समालोचनामा वाम राजनीतिक दलजस्तै आ–आफ्ना समूहमा सीमित यी प्रायः समालोचकहरू पनि कोटरीवादभन्दा माथि उठ्न सकेको अनुभव हुँदैनन् ।

के समालोचकले समाजलाई चेतना दिने खालका समालोचना गरिरहेका छन् ?
-त्यसो त आज समालोचनालाई साहित्यको अलग विधाका रूपमा लिइनुपर्ने धारणा आउन थालेको भए पनि यो स्वतन्त्र विधा हुन सक्ने कि, नसक्ने भन्ने सम्बन्धमा मतमतान्तर छन् । त्यसैले, समालोचना आफैँले छुट्टै स्वतन्त्र रूपले आफैँ समाजलाई चेतना दिनु सम्भव नहुन सक्छ । यसले सिर्जनासापेक्ष, व्याख्याका क्रममा वा सर्जक र सिर्जनालाई त्यतातर्फ उत्तरदायी बनाएर उक्त कार्य गर्न सक्छ, जुन कार्य प्रगतिवादी समालोचनाले केही हदसम्म गरेका भए पनि प्रायः प्रगतिवादी समालोचक आफै उच्चता ग्रन्थियुक्त दम्भबाट साधारणीकृत हुन नसकेको अनुभव हुन्छ ।

कस्तो समालोचनाले साहित्यलाई सही दिग्दर्शन दिन्छ ?
-समाजप्रति उत्तरदायी, युगको आवश्यकतालाई बुझेका, सामाजिक न्यायमा आधारित समालोचकले साहित्य र साहित्यमार्फत समाजलाई सही दिग्दर्शन गर्न सक्दछन् ।

प्रसंग बदलौँ, नेपाली लोकवार्ताको स्थिति र गति के–कसरी अघि बढिरहेको छ ?
-नेपाली लोकवार्ताको क्षेत्र अत्यन्त समृद्ध छ । यसले हाम्रो प्राचीन कालदेखिको मानव सभ्यताका विविध पाटाहरूलाई उद्घाटित गर्दै भविष्यको बाटो निर्देशित गर्दछ । तर, आज यसका केही पाटाकै पुरानै ढंगबाट थोरै थोरै खोज अध्ययन सुरु भएको भए पनि आधुनिक वैज्ञानिक ढंगले सात नम्बरदेखि छैटौँ कर्णाली प्रदेश हुँदै अन्य सबै क्षेत्र र प्रदेशमा आएको रूपान्तरणको अध्ययन, विश्लेषण हुन बाँकी नै छ । यसले हाम्रो सभ्यताको बाल्यकाल र वर्तमानको विम्ब दिई भविष्यको बाटो देखाउन मद्दत गर्नेछ ।

लोकवार्ताका क्षेत्रमा निकै कम काम भएका हुन् ?
-लोकवार्ता भन्नाले प्रायः लोकसाहित्य भन्ने बुझेको देखिन्छ । यसमा त लोकसाहित्य, संस्कृति, जीवन, जीवनपद्धति र यससँग सम्बन्धित सम्पूर्ण पक्षपक्षान्तरहरू पर्दछन् । यसैले हिमाल, पहाड र तराईका सम्पूर्ण जात, जाति र तिनका प्राचीन नवीन सम्पूर्ण सभ्यता, संस्कृति, परम्परा, रहनसहन आदि यावत् कुराको इतिहास र वर्तमान पर्गेेल्नु आवश्यक पर्दछ । फरक के मात्र हो भने कुनै जातको प्राचीन टोटेम, आद्यावशेष खोज्न कुनै क्षेत्र बढी महत्वपूर्ण हुन्छ भने त्यसको रूपान्तरित स्वरुप खोज्न अर्को क्षेत्र महत्वपूर्ण हुन सक्छ ।

किन यसप्रति चासो कम भइरहेको छ ?
-लोकवार्ता लोकजीवनसँग सम्बन्धित कुरा भएको र लोक आफैलाई त्यसको खोज, अध्ययन र विश्लेषण गर्न नसक्ने र पढेलेखेका बौद्धिक समुदायले गर्ने भएकाले, त्यस्तो भएको होला ।

नेपाली कविता लेखनलाई यहाँले कसरी मूल्यांकन गरिरहनु भएको छ ?
-महाकवि लक्ष्मीप्रसाद देवकोटाले लगभग सात सय (६४४+ १+ थप संग्रह) जति कविता लेखे जसमध्ये आफ्नो विद्यावारिधी अध्ययनका क्रममा चारवटालाई मात्र कुमारबहादुर जोशीले उच्चतम्मा राखेका छन् । त्यसैले, लेख्ने सबै कवि र लेखिएका तिनका सबै कविता उच्चतम् हुँदैनन् । कतिलाई एउटै दुइटै मात्र उच्चतम् रचनाले स्थापित प्रतिष्ठित गरिदिएका हुन्छन् । समग्र नेपाली कवितामा पनि यस्तै हो । समग्रमा थुप्रै नेपाली कविता उच्च कोटिका छन् ।

नेपाली प्रगतिवादी कविताको काल (२०३०–हाल) को शिल्प एवं अन्तर्वस्तुगत आफ्नै पहिचान छ, आफ्नै अलग रूप, रंग र स्वर युक्त सरल, सम्प्रेषणीय विम्ब र प्रतीकहरूको प्रयोग भएको छ । तिनले आआफ्नो युगको यथार्थलाई प्रतिविम्बित गरेका छन् । ०३० सालपछि पञ्चायतकालको यथार्थ र त्यस विरुद्धका प्रतिरोधी आवाजका विम्बको धार मूल थियो भने ०५२ सालपछि जनयुद्धका पक्ष विपक्षका स्वर प्रमुख थिए । ०६२-०६३ पछि पहिचानको मुद्दा प्रबल भएर आएको छ । त्यसो त शास्त्रीयवाद, स्वच्छन्दतावाद र छिटफुट केही उत्तर आधुनिक संकेतहरू पनि नदेखिने होइनन् तर ती गौण प्रवृत्ति भएका छन् ।

अहिले लेखिएका कविताले नेपाली समाज र जनताका पक्षलाई उठान गरेको पाउनुहुन्छ ?
-यसको उत्तर अघिल्लै प्रश्नमा आइसकेजस्तो लाग्छ । आज लैंगिक, पहिचान, क्षेत्रीय पहिचान, जात जनजाति, भाषा, संस्कृतिदेखि मुग्लानी (डायस्पोरिक) पहिचानसमेत मूल पहिचान बनेर त्यही समाजमाथिका शोषण, दमन, उत्पीडन विरुद्धका आवाज उर्लिरहेका छन् ।

नेपाली संस्कृतिलाई प्रगतिशील बाटोमा रूपान्तरण गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले रूपान्तरणका सिद्धान्त निर्माता, नारा लगाउने रूपान्तरकहरू आफू रूपान्तरित हुनुपर्छ । सनातन सामन्तवादका सट्टा आज जन्मेका अनुभव वामपन्थी नवसामन्तवाद, नवधनिक नवपुँजीवादी, निम्न पुँजीवादी र दलाल पुँजी एवं सामन्तवाद, साम्राज्यवादी, उपभोक्तावादी संस्कार र संस्कृति समाप्त हुनु पर्दछ । प्रत्येक प्रगतिशील विचार राख्ने व्यक्तिले त्यस्तो प्रगतिशील रूपान्तरण आफैँबाट थाल्नुपर्छ । हाँसो लाग्दो कुरा के छ, भने आज हामी कैयौँ प्रगतिवादी र अझ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी बाटोमा हिँड्नेहरू सत्तरी वर्षका सोम शर्माले सात वर्षकी चन्द्रिका ब्राह्मणीसँग बिहे गरेको सामन्तवादी युगको संस्कार र व्यवहारयुक्त कथालाई आदर्श मान्दै अघि बढ्दै छौँ ।

प्रतिक्रिया