नेपाली समाजभित्रको यथार्थ पक्षलाई अंकन गर्दै आफ्नो परिचयलाई कायम राख्न पुगेका बास्तोला खासगरी समाजभित्रका अभाव, विसंगति, विकृति तथा यावत् पक्षहरूलाई शब्दले उधिनेर साराका सामु राखिदिने लेखक हुन् । साहित्यका अन्य विधामासमेत राम्रोसँग कलम चलाउने बास्तोलाले आफ्नो लेखनमा छुट्टै मूल्य र मान्यतालाई स्थापित गर्न प्रयत्न गरेका छन् । यस छोटो लेखमा गजलकार होमशङ्कर बास्तोलाको सामाजिक विषयमा आधारित गजलहरूलाई मात्र चर्चा गर्ने जमर्को गरिएको छ
गजलले नेपाली साहित्यमा पछिल्लो समय निकै हलचल मच्चाएको छ । उर्वर विधाको रूपमा अगाडि बढिरहेको यसले समसामयिक कालमा नेपाली साहित्यलाई नै प्रभावित पारिरहेको छ ।
यस विधामा लागेर यसका आरोह–अवरोह, दुःखसुख, उकाली–ओरालीमा यात्रारत प्रतिभाको नाम हो होमशंकर बास्तोला । ओखलढुंगामा जन्मिएका बास्तोला पचासको दशकदेखि नै थोक कृति लिएर देखापरेका प्रतिभा हुन् । नेपाली समाजभित्रको यथार्थ पक्षलाई अंकन गर्दै आफ्नो परिचयलाई कायम राख्न पुगेका बास्तोला खासगरी समाजभित्रका अभाव, विसंगति, विकृति तथा यावत् पक्षहरूलाई शब्दले उधिनेर साराका सामु राखिदिने लेखक हुन् । साहित्यका अन्य विधामासमेत राम्रोसँग कलम चलाउने बास्तोलाले आफ्नो लेखनमा छुट्टै मूल्य र मान्यतालाई स्थापित गर्न प्रयत्न गरेका छन् ।
यस छोटो लेखमा गजलकार होमशङ्कर बास्तोलाको सामाजिक विषयमा आधारित गजलहरूलाई मात्र चर्चा गर्ने जमर्को गरिएको छ । होमशङ्कर २०५८ सालमा नै आँसुका झरनाहरू (कथासंग्रह) लिएर देखापरे । उनका ‘घाम हराएको दिन’ (२०६१ गजलसंग्रह) दोस्रो साहित्यिक कृति हो । नेपाली समाजका मूल्यवान पक्ष जो अझै छायाँमा परेको छ त्यसलाई कवि एवं गजलकार बास्तोलाले चर्चाको विषय बनाएका छन् ।
यस संग्रहभित्र जम्मा बैसठ्ठी गजलहरू संग्रहीत भएका छन् । गजलसंग्रहभित्र प्रणयप्रेम, राजनीति चिन्तन तथा सामाजिक विविध विषयको चर्चा परिचर्चा गरिएको छ । जीवनभित्रका अनुभूतिलाई गजलकारले आफ्नो भावमा यसरी पोखेका छन्ः
सगरमा जून फूल्यो तारा फुलेन
आज बिहानीले दिन खुल्यो रश्मि खुलेन
आज नेपाली राजनीतिको क्षितिजमा देखिएका विविध समस्याहरूका कारण नेपालीले भोग्नुपरेको पीडालाई गजलले प्रतीकात्मक रूपमा उतारेको छः
आस्थाको बीउ छरेर बोटमा फूल फूल्दा
‘आँधी वा हुरी’ चलेर फल झुलेन आज
गजलकारले यो उल्टो समय भएर हो वा किन हो जीवनलाई आशावादी बनाउने फूल वा सिर्जनात्मक कर्महरू ओझेलमा परेका छन् । त्यतिमात्र होइन समय प्रतिकूल भयो भने आस्था पनि फैलनु र फस्टाउन सक्दोरहेनछ कविको अलि नमीठो अनुभूति यहाँ प्रकट भएको छः
स्वागत गर्न ढोकामा फूल देखिँदैछ
बाटोभरि रङ्गीचङ्गी तुल देखिँदैछ
गाउँका नदीमा तुहिन र फड्के छैन
सहरको पिच बाटोमा पुल देखिँदैछ
कविले वसन्तरूपी चाकडीवाजहरूले सहरलाई मात्र साजसज्जा गरेको तथा गाउँलाई पूर्णरूपमा उपेक्षाभावले हेरेको तथ्यलाई अत्यन्त कलात्मकरूपमा प्रकट गरेका छन् । कवि सहर हिडिसक्नु नभएर सडकमाथि पुल हाल्न बाध्य छ भने गाउँ एउटा झोलंगे पुल र तुहिन नभएर चिन्तित छ ।
यताको कुरा उता लैजाने तथा आदान–प्रदानमा कठिनाइ भोगेर गाउँ रुन्चे स्वरमा विकास माग्न बाध्य भएको विवशता यहाँ झल्केको छ । कवि एवं गजलकारले जिन्दगीलाई फरक ढङ्गले परिभाषित गर्ने चेष्टासमेत गरेका छन्ः
उराठ र निराश लाग्ने बगर जस्तो जिन्दगी
स्वतन्त्रले बाँच्न पाउँदा सगर जस्तो जिन्दगी
यहाँ कवि बास्तोला जिन्दगी त त्यो हो जो स्वतन्त्रतापूर्वक बाँच्न पाइन्छ । आनन्दको गीतमा नाच्न पाइन्छ । अभाव र पीडा बीचको जिन्दगी बगर जस्तो हुन्छ, स्वतन्त्र जिन्दगी खुल्ला आकाशमा कावा खाँदै रमाउन सकिने र पीडा र चिन्ता भुलेर नवीन सिर्जनामा अग्रसर भएको हुन्छ भनिएको छ । यसबाट पनि बुझ्न सकिन्छ कि कवि कलाकारहरू स्वतन्त्रता चाहन्छन् र स्वतन्त्रताको पूर्ण उपयोग गर्न सक्षम छन् भन्ने विचार । तथापि सँगैको प्रसङ्गमा कवि हतारिएर भनिहाल्न पुग्छन्ः
कर्कलाको पानी जस्तो एउटा सानो जीवन हो
मर्नु नै पो पर्ने रै’छ जगर जस्तो जिन्दगी ।
कवि संसारको भौतिक नियमलाई बुझेर पनि अलि बढी दुःखी भएका हुन् कि ? शंका गर्ने ठाउँ प्रशस्त छ तथापि निराशा बढ्नु आफैमा त्यति राम्रो देखिँदैन ।
धेरै कष्ठ हरेर नै पसिना बगाउँदा
श्रमिकको जीवनलाई न उचित माम छ
नेपाली जनताहरू माथिकै मुख ताक्छन्
सरकारको ढुकुटीमा न त दाम छ ।
यस प्रसंगमा कविले श्रम गरेर खाने श्रमिकवर्गको सम्मान गर्नुपर्ने र श्रमिकको पसिनाको मूल्यले नै समाजलाई फेर्ने तर्क अघि सारेका छन् । हाम्रो नेपाली संस्कारलाई कविले अत्यन्त पछौटे संस्कारका रूपमा स्वीकारेका छन् किनकि हाम्रो बानी भनेको केन्द्रको भरपर्ने खालको छ ः
प्रजातन्त्रभित्र पनि दास देखेँ मैले
बाटोमा क्षतविक्षत लास देखेँ मैले
सुविधाको लोभले गाउँलाई बिर्सदा
सहरमा फोहोरको रास देखेँ मैले
नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तिको जुन हल्ला चल्यो, त्यसले नेपाली जनतालाई समानता र न्याय दिएन । पक्षपात तथा शोषणको शृंखला नै रहेको कुरालाई कविले अत्यन्त यथार्थ प्रस्तुति गरेका छन् । लोभ र लालचमा फसेको सहरमा केवल फोहोरको थुप्रो मात्र रहेको तथ्य औल्याएका छन्ः
घामलाई बादलले आकाशमा छेक्यो आज
लुगा छैन शरीर ढाक्ने जाडोले सेक्यो आज
बुद्धिमान र विवेकीको छैन यहाँ मूल्याङ्कन
भनसुन र नातावादको मात्र हुने देख्यो आज
अझै पनि हाम्रो समाजमा प्रगति र विकासको परिदृश्य देखिन नसकेको र राम्रो गर्ने मानिसलाई धन्यवाद दिने प्रचलन नभएर भनसुन, नातावाद र कृपावाद नै हावी भएको तथ्यलाई उजागर गरेका छन्ः
शक्तिशाली आफू बन्न प्रजातन्त्रको हत्या गर्दा
जनता र राज्यबीच रगतको होली चल्छ
सडकमा रगतको जब खोलो बग्दै जान्छ
बन्दुकतिर छाती मोड्दै जुलुसको टोली चल्छ ।
राजा र जनताका बीचमा भएको द्वन्द्वका कारण विविध नराम्रा घटना घटेको कुरा कविले इतिहासपरक दृष्टि प्रस्तुत गर्न पुगेका छन् कवि बास्तोलाः
भोकमरीले बस्तीमा पेट भर्न गाँस छैन
रात काट्न ओत लाग्ने मान्छेको बास छैन ।
खडेरीको महामारीले गिठ्ठा पनि रित्तिएर पटुकाले भुँडी बाँधी अनुहारमा हाँस छैन । गजलभित्र कवि देशको दुख्ने घाउ भन्नु नै अनिकाल वा अभाव हो भन्दछन् । कतै गिठ्ठा खान नपाउनेहरू छन् त कतै खाएर नअघाउनेहरूले देशै खाइसकेको कुरा अत्यन्त महत्वपूर्ण तबरले उठाएका छन्ः
गर्छु भन्ने पौरखीलाई जो नि खुट्टा तान्छ
अघि बढ्दा हेर्दै हिँड काट्ला धार छ
शक्ति हातमा लिनेहरू सुरक्षितै हुन्छन्
त्यहाँ भित्र पसौँ भने काँडे तार छ ।
कविले समाजको यथार्थलाई अत्यन्तै सहजरूपमा उठाउन पुगेका छन् । किन यस्तो अत्यन्त जटिल र असहज भयो अनुत्तरित प्रश्न तेस्र्याउँछन् कविः
बजारमा बिक्री मन्द छ
आज नेपाल बन्द छ
भाग नपुगेर केन्द्रमा
साथी साथीमा द्वन्द्व छ ।
नेपाल बन्दको संस्कृतिले देशलाई डुबाएको छ त्यति मात्र होइन भागबण्डा गरेर खान पल्केका मानिसका बीचमा चरम द्वन्द्व रहेको तथ्यलाई कविले संक्षिप्त ढङ्गले उठाउन पुगेका छन्ः
धाँधली गरी चुनावमा जित्न नपाउँदा
जनताप्रति नेताको नमीठो झोक छ ।
रात्रिभोजको सम्मानमा बोतलै बोतल हुन्छ
पिएर हाँस्नुपर्ला अलिकति झोल छ कि ।
समाजभित्रको विकृति र विसङ्गतिलाई गजलकारले उठाउने क्रममा ‘हरूवा नेताको छेरुवा दाउ’ भन्ने उखान समेत पुष्टि गरेका छन् ः
आमाको सिउँदोबाट धेरै रगत झरेको छ
मनको पीडाभित्र आँसुको वर्षा परेको छ ।
राष्ट्र बचाउने वीरलाई सलाम
सहनै नसक्ने पीरलाई सलाम ।
देशलाई माया गर्नेहरूलाई सम्झिएर कविले सम्मान र अभिनन्दन गर्न पुगेका छन् । देशको पीडालाई कवि आफ्नो पीडाको रूपमा
अन्तरघुलन गर्न सफल भएका छन्ः
बस्तीमा चलेछ यो आँधीबेरी
खुसीको सुन्दर आकाश छैन
रावा सुसाउँदै दूधकोसी झर्छ
सोलु मुस्काउँदै दूधकोसी झर्छ ।
गजलकार एकातिर अनौठो पीडालाई पोख्छन् भने कतै आफ्नो जन्मभूमिलाई अत्यन्त हार्दिकताकासाथ सम्झन पुग्छन् । कवि एवम् गजलकार बास्तोला देशलाई सम्झिएर अत्यन्त द्रविभूत भएका छन् ।
समसामयिक राजनीति, सामाजिक चिन्तन तथा अग्रगामी विचारलाई अगाडि बढाउन तल्लीन देखिएका छन् । प्रगतिशील सोच, इमान्दार लेखन तथा विषयको विविधताले गजलकारलाई सामान्य विषय तर गहन प्रस्तुति, आयामको हिसाबले सानो तर मानव सभ्यताको यावत पक्षलाई समेट्न सकेको अवस्था छ । प्रणय प्रेम बाहेकका समग्र गजलले राष्ट्रलाई पूर्णरूपमा माया मात्र होइन युवाले दिनु पर्ने पूर्ण योगदान समेत ‘घाम हराएको दिन’ कृतिमा प्रतिबिम्बित भएको छ ।
प्रतिक्रिया