कृति समीक्षा : जनता जगाउने कविता

नेपाली कविता यात्रामा चालीसको दशकबाट विद्रोही काव्य स्वरलाई लिएर अगाडि बढेका कवि विष्णु भण्डारी प्रगतिवादी स्रष्टाका रूपमा परिचित छन् । ०२० सालमा गुल्मीमा जन्मिएका भण्डारी काव्य तथा आख्यान विधामा बढी क्रियाशील छन् । उनका झण्डै आधादर्जन भन्दा बढी काव्यसम्बन्धी कृति प्रकाशित भइसकेका छन् । आन्दोलनलाई स्वागत गर्ने र आन्दोलनमा जुझारु ढंगले लाग्ने राजनीतिक स्वभावले उनलाई मुक्तिको बाटोमा साहित्यले धेरै साथ दिएको छ । निरन्तर क्रान्ति र क्रान्तिलाई नै मूलबाटो बनाउने सर्जकको जीवन पीडादायीमात्र होइन, साहसको उर्जाले चम्किएको हुन्छ । त्यही उर्जा नेपाली समाजको आजको सम्पत्ति बन्न सकेको छ । कवि भण्डारी यी र यस्तै विषयलाई कविताको सामग्री बनाउन तल्लीन छन् । गद्य कविताको यात्रामा सफल यात्रीका रूपमा चिनिएका भण्डारी विचारलाई कतै सन्तुलित बनाएर लठ्याउने त कतै आह्वानका आगो सल्काउने गर्न पुगेका छन् । यसै सन्दर्भमा कवि भण्डारीको पछिल्लो कृति देखिन पुगेको छ, ‘देश जागेको बेला’ (२०६३) ।

नेपाली मौलिक क्रान्तिको आफ्नै स्वरूप संरचना र सीमाहरू मात्र होइन, यसको सौन्दर्य, उचाइ र आकर्षणसमेत रहेको पाइन्छ । नेपाली क्रान्तिको सुदीर्घ परम्परामा ज्वारभाटाको कालका रूपमा ०५२–०६३ देखापरेको छ । एकातिर लाखौं जनताको सहभागिता साथमा हजारौंको बलिदानी सायद नेपाली कविताको बिजभूमि यही नै हो भण्डारीको । स्रष्टाका लागि हराभरा भूमि मात्र होइन बाँझो धर्ती पनि सिर्जनाको क्षेत्र बन्न सक्छ । जीवनभित्रको अशिक्षा र अज्ञानता मात्र होइन अज्ञानताभित्रको सुन्दर पक्षलाई पनि स्रष्टाले नै बाहिर ल्याउन सकेको हुन्छ । नेपाल भित्रका उत्कर्ष र निष्कर्षलाई कविले ठीक ढंगले सम्बोधन गर्न आफ्नो नाममा केही नवीन चिन्तनसहित शब्द खर्चेका छन् । चैत्र २४, ०६२ देखि वैशाख १२, ०६५ सम्मका दैनिकी कविताको रूपमा प्रस्तुत भएकाले जनआन्दोलन काव्य दस्तावेजभन्दा पनि अत्युक्ति नहुने यस कवितासंग्रहभित्र जीवन गुमाएर उचाइ लिने सहिदप्रति सच्चा सम्मान गरिएको छ । उनका कविताभित्र देशको कुन भागमा कुन दिन आन्दोलन कसरी उचाइमा पुग्यो सो कुरा पनि पढ्न सकिन्छ ।

कविकै शब्दमा,
रातको मस्त निद्रामा सहर सुतेको छ
र जागेका छन् विषालु सर्पहरू
रातको शून्यतामा सबै हराउँदै छन्
र लुटाउँदैछन् सपनाहरू

(सपना र कीर्तिपुर, पृ.२)
कवि कविताभित्र स्वतन्त्रताको चाहनालाई कतै छाड्नुपर्ने त होइन ? यही चालले कडा सुरक्षा घेरामा देश जकडिए झन् असुरक्षित बन्ने हाम्रो सपना कसरी अगाडि बढ्ला प्रतिप्रश्न र सम्भावना दोहो¥याउँछन् । यसै प्रसंगमा आमासँग एकालापको ढंगमा सम्वादसमेत भर्छन् र आमा भन्छिन्ः

हो बाबु ! सदियाँैदेखि मेरो छातीमाथि
यिनीहरू यसै गरी हिँड्ने गर्छन्
र तर्साउँछन् मान्छेलाई ।
(सपना र कीर्तिपुर, पृ.३)

कविले सदियौँदेखि दबेर बसेका नेपाली जनतामा आएको चेतनाले कालो–कालो नै हो र यसको शृंखला अत्यन्त भयानक भएको तथ्यसमेत उठाएका छन् । एकातिर चुनौती र अर्कोतिर सम्झनाका बीचमा बाँचेका हामीहरू अझै दोधारमा लत्रिएर हिंड्न नहुने लत्रिएर हिँडेमा दास मात्र बन्नुपर्ने विषयलाई कविले कलात्मक ढंगले चित्रण गरेका छन् ।

दासताका विरुद्धमा उठेको कीर्तिपुर हारेर पनि नलत्रिएको क्रान्तिकारी भूमि हो भन्दै उनले समग्र चेतनाको केन्द्र कीर्तिपुरलाई मानेका छन् । जागेको सहर कीर्तिपुर हो भनी स्वीकार गरेका छन्ः
साहस वीरता र पीडाबोधको
प्रतिमूर्ति हो कीर्तिपुर
दमन उत्पीडन र अत्याचारको
जीर्ण छाती हो कीर्तिपुर
सधैं सधैं हेपिँदै आयो
तर हरेस खाएन,
सधैं सर्धै हार्दै आयो तर पिठ्यूँ फर्काएन ।

(सपना र कीर्तिपुर, पृ. ५)
‘कीर्तिपुर भन्दै थियो’ कवितामा कविताले कीर्तिपुरको आदिम विदेशी स्वरलाई कवितामा पोखेका छन्ः
कीर्तिपुर पोख्दै थियो वर्तमानका यथार्थहरू
कीर्तिपुर हात फैलाउँदै भन्दै थियो
संचेतनाका सङ्ग्रामी शब्दहरू

(कीतिपुर भन्दै थियो, पृ. ७)
यावत् खाले मानिसलाई अल्मल्याउने मात्र होइन भ्रममा पार्ने खालका विचारलाई फ्याँकेर निरन्तर अगाडि बढ्न उत्प्रेरित गर्ने कीर्तिपुर हामी सबैको गुरुको रूपमा बाँचेको आफ्नो जीवनयात्रालाई क्रान्ति कै निम्ति साँचेको भनूँ क्रान्ति र विद्रोहको पर्यायवाची बनेको कीर्तिपुर ‘वैशाखी’ टेकेर बाँच्न नजानेको सन्दर्भसमेत कवितामा प्रतिनिधित्व भएको छ । राजनीतिलाई मागीखाने भाँडो नबनाउनसमेत कीर्तिपुर सचेत रूपमा सबैलाई आह्वान गर्दैछः
दास बन्यो दासता स्वीकारेन
पराजित भयो, हार स्वीकारेन
सँधै–सँधै एउटा वीरताको कहानी बनी
उठ्दै–उठ्दै रह्यो
लड्दै–लड्दै रह्यो ।

नयाँ इतिहास रच्ने कीर्तिपुर गर्जनका साथ पुराना तमाम अगिल्ला भ्रमलाई चिर्ने र रगतले इतिहास लेख्ने प्रण गरेकोतर्फ समेत काव्यवाणी प्रस्तुत गरेका छन्ः
आज ऊ पुनः उठेर गाउँदै थियो
नयाँ समरका नयाँ भाकाहरू
आज ऊ फेरि उठेर लेख्दै थियो
नयाँ इतिहासका नयाँ कथाहरू
रगतमा रमन गर्ने जनताका वैरीहरू ।

(पूर्ववत, पृ.८)
कीर्तिपुर पृथ्वीनारायण शाहकै पालादेखि एउटा विद्रोही दमन नसहने निडर र निर्भिक अभिव्यक्तिको प्रतीक हो । कविले यस्तो भूमि जहिले पनि चेतनामा उभिएको तथ्यलाई उजागर गर्न सफल भएका छन् । ‘बलिदानको एउटा कविता हो पोखरा’ जनआन्दोलन ०६२÷६३ को आन्दोलनलाई सबैभन्दा सार्थक बनाउने श्रेय पोखरालाई दिँदै कविले यस चरणका प्रथम सहिद भीमसेन दाहाल र भीमसेन जन्माउने पोखरालाई सलाम गरेका छन् । अन्याय र दमनका विरुद्धमा जाग्ने पोखरा कहिल्यै सहेर बस्दैन दमन र अत्याचार प्रतिकारमा उठ्ने उसको स्वभाव साँच्चै माछापुच्छ«ेको लालिमाजस्तै रक्तिम छ, सेतीको बहावजस्तै रहस्यमय र सशक्त छ । पोखराको बलिदानीलाई कविले खेर जान नदिने आश्वासनसमेत प्रस्तुत गरेका छन् ।

‘बनेपा अर्को सहिद बन्यो’ एकपछि अर्को बलिदानी गर्नेक्रममा बनेपा दोस्रो सहर बनेको छ । नेपाली आमाका सपूतलाई समानताका निम्ति चढाउने बनेपाले साँच्चै गतिलो काम गरेको कुरामा कविले खुलेर समर्थन गरेका छन् । मानौँ देशका विभिन्न भू–भाग बलिदानीको निम्ति संघर्ष गर्दै थिए यही क्रममा बनेपा सबैलाई उछिन्दै अगाडि देखियो । राजधानीलाई समेत अझै तताउँदै, भीमसेन दाहालको जन्म जिल्ला काभ्रे होमियो र संग्राममा कविको शब्दमा
म तिम्रो मृत्यु बोकी
सडकभरि उठेको छु
र सडकभरि हिँड्दै हिँड्दै गर्दा
अर्को सहिद बनी खसेको छु ।

(बनेपा अर्को सहिद बन्यो, पृ. ११)
तानाशाहको अन्त्यका निम्ति बनेपाले गरेको योगदानको उच्च मूल्यांकन गर्दै साँचो अर्थमा कविले सन्तुलित शब्दगुच्छाले अभिनन्दन गरेका छन् बनेपा सहरलाई कवि फेरि थप्छन्ः
मेरा आवाजदेखि डराएकाहरू
मेरा हातदेखि तर्सिएकाहरू
आए र लाठी बर्साए
आए र रगतको खेती गरे
रगतको आहालमा आफ्नो भविष्य देख्नेहरू
आए र गोली चलाए
तर म अझै डराएको छैन
र कतै जाने छैन ।
(पूर्ववत, पृ.१२)
स्वतन्त्रताको आन्दोलनलाई दबाउन चाहनेलाई ठाडो चुनौती दिँदै कवि भन्छन् आफ्नो प्रतिबद्धतामा भाग्ने कायरका रूपमा जनतालाई नलिन सचेतसमेत गराउँछन् ।

साँच्चै देशको चिन्ता गर्ने मल्हमपट्टि लगाउने डाक्टरलाई सम्बोधन गरेर आफ्ना काव्यिक भनाइलाई अगाडि सारेका छन् ‘डाक्टर ! वर्तमान जल्दै छ’ शीर्षकमा देशमा चलेको न्यायिक आन्दोलनलाई सडकमा उत्रेर समर्थन गर्ने चिकित्सकलाई अभिनन्दन र सम्बोधन गर्दै कविले एउटा बिरामीलाई मात्र बचाउनु के बचाउनु ? संकट परेको वेला देशलाई बचाउन र निकास दिन अगाडि बढ्नु न्यायसंगत छ भन्दै कवि भन्छन्ः
आकाशमा चम्किने ताराजस्तै
तिमी लम्किँदै गरेको देख्दा
सिरिन्ज समाउने तिम्रा हातहरू
मुठी कसेर विद्रोही भै उड्दै गरेको देख्दा
साँच्ची ! म खुसीले उफ्रँदै गाउँगाउँ डुलेँ ।
(डाक्टर ! वर्तमान जल्दै छ, पृ. १४)
एकता र विश्वासले नै जनआन्दोलनलाई उचाइमा पु¥याएको भन्ने कुरालाई अत्यन्त कलात्मक हिसाबले कविले प्राविधिकको विद्रोही चेतले आफूलाई र आफूजस्तै लाखौँलाई उर्जा दिएको कुरा स्वीकार गरेका छन् ।

‘गोंगबु ! म गाउँला तिम्रो गीत’ कवितामा कविले जनताको आन्दोलनलाई दबाउन र आप्mनो फुली थप्न चाहने प्रहरी अधिकृतलाई व्यंग्य र आक्रोशपूर्ण रूपमा प्रश्न ठड्याउँदै जनताको आन्दोलनले उत्कर्षतर्फको यात्रा तय गरेको तर्फ इंगित गरेका छन् । कविले व्यक्तिलाई नै तोकेर नशामा लठ्ठिएकाले निहत्था जनताको रगतमा होली खेलेको कुरालाई ठाडै प्रस्तुत गरेका छन् र जनताको गगनभेदी नारा र आन्दोलनप्रतिको उत्कर्षलाई सलामसमेत गरेका छन् । एकातिर दमन गर्नेलाई दुत्कार्ने र अर्कोतर्फ जनताको न्यायिक आवाजलाई सम्बोधन गर्न यो कविता सफल भएको छः
गोंगबु ! मैले घृणाले थुकिदिएँ
लाखौँ मान्छेको तर्फबाट
रगतको प्यासी त्यस महामूर्खलाई
तिम्रो छातीमा बर्बर बनी
उफ्रिने त्यस महादुष्टलाई
तिम्रो सौर्य र तिम्रो पराक्रम
दुश्मनविरुद्धको तिम्रो बलिदान
गोंगबु ! म गाउँला सधैँ सधैँ
तिम्रो त्याग र उत्सर्गको मृदुल गान ।

(गोंगबु म गाउँला तिम्रो गीत, पृ.१६)
‘न कलम झुक्यो, न रङ सुक्यो’ शीर्षकमा कविले चैत्र ३० गतेका दिन स्रष्टाले गुरुकूल बानेश्वरमा गरेको कार्यक्रममा नांगो रूपमा सेनाको हस्तक्षेपका विरुद्ध सबै सर्जक लागेको प्रसंगलाई उठाएका छन् । सिर्जनालाई न कसैले मार्न सक्छ न प्रतिबन्ध लगाउन नै जसले प्रतिबन्ध लगाउन खोज्छ त्यो नै अप्ठ्यारोमा पर्ने कुरालाई सोही घटनासँग सत्ता लज्जित बन्नुपरेको कुरामा कविले जोडेका छन् ।

साँच्चै संकटकालमा चाहे एकेडेमीबाट निस्किएको जुलुसलाई पुतलीसडकमा गरिएको हस्तक्षेप होस् चाहे ०६२ चैत्र ३० गते गुरुकूलको हस्तक्षेप त्यसले त केवल सत्तालाई नांगो देखाइदिएको छ र अलिकति पनि विवेक नभएका मानिसको राज्य वा शासन भन्ने ठह¥याएको छ भनेका छन् । सपनालाई सत्यमा बदल्न लागेका स्रष्टाको सिर्जना रोक्नु सृष्टिको सिर्जनालाई अस्वीकार गर्नुजस्तै भएकाले बहुलाएको सरकारको आयु छोटिने उद्घोष कविले गरेका छन् ।

लामो समयदेखि भारतीय सीमा अतिक्रमणबाट पीडित बनेका र न्यायपूर्ण आन्दोलनमा निरन्तर लागेका नवलपरासीवासी सचेत जनताको विशाल जुलुसमा गोली चल्दा बलिदानी अमरता हासिल गर्ने विष्णु पाण्डेको सम्झनामा ‘परासी र विष्णुका पदचापहरू’ तयार भएको हो । साँच्चै सबैलाई सन्देश दिनेगरी जीवनका उचाइलाई छुने विष्णु सच्चा सपूत छन् भन्ने प्रमाण उनको बलिदानीले दिएको छ र उनको पदचापमा सबै लाग्न प्रेरित गरेको सन्दर्भलाई कविले सम्मानित र गर्विलो ढंगले पेश गरेका छन् । आमाको मुक्तिका खातिर छोराको यो बलिदानीलाई कविले अत्यन्त उच्च मूल्यांकनसमेत गरेका छन् । एउटा बर्बरतापूर्ण आक्रमणबाट स्वतन्त्रताको द्वार छेक्न नसकिने कविताको सार हो ।

ग्रीष्मको मध्य घाम, सडकमा लागेका जिन्दावाद र मूर्दावादका नारा, सोही नाराभित्र उत्साहित उन्मुक्त हुन चाहने स्वाभावका घाइते भएका आफन्तको उद्धार आफ्नो स्वाभिमानको कदर सबै सबैको प्रतिनिधित्व गर्नेे सहिद पाण्डेको शहादतको सम्झनामा लेखिएको यो कविताले सबैलाई भावुकमात्र होइन थप जिम्मेवार बनाउने महान् सुरुआत गरेको छ । आमाको काखमा ढल्नुको गौरव र देशप्रतिको भूमिका साँच्चै उच्च मूल्यांकन योग्य हुन्छ ।

‘एउटा बुख्याँचा र न्यायमूर्तिका आवाजहरू’ कविताले चैत्र ३१ मा वकिल वा न्याय सम्पादनमा लाग्ने व्यक्तित्वको जुलुसमाथि भएको निर्मम दमनको खुलेर विरोध गरेको छ । जुन देशमा न्याय सम्पादन गर्ने मानिसमाथि त दमनको वर्षा गरिन्छ भने सामान्य नागरिकको के हाल होला ? यी तथ्य वा पक्ष नै यस कविताभित्र परेका छन् । यस कविताले निरंकुशसमेत प्रष्ट रूपमा देखाइदिएको छ । जसले जनताको मन सिउनुपर्ने हो त्यसैले दुःख दिन थालेपछि कति नै दिन पो टिक्न सक्ला र ? अत्यन्त कडा भाषामा कविले यथार्थपरक दृष्टिकोणलाई प्रस्तुत गर्न पुगेका छन् । निकम्मा सत्ताको खिल्ली उडाउने वकिलका नायक शम्भु थापालाई केन्द्रमा राखेर र प्रशंसासमेत गरिएको छ । त्यसो त आँटी र साहसी जो कसैको समर्थन गर्नु, सत्यमा लाग्नेलाई सघाउनु हो । साँच्चै चेतनाविनाको मानिस बुख्याँचा शिवाय के नै कहलिन सक्छ र ! कवि बेजोड ढंगले ओकल्छन् कवितामार्फत ।

जनआन्दोलनको दौरानमा विभिन्न स्थानमा गरिएको प्रशासनिक दमनको एउटा उग्ररूप कालोपुल पनि हो । यस स्थानमा भएको दमनलाई ‘कालोपुलको अन्तव्र्यथा’ कवितामा पोखिएको छ । प्राकृतिक वा कृतिम पक्ष वा वस्तुलाई मानवीय भावनामा बदलेर कविले स्वतन्त्रताको आन्दोलनमा पछि नहट्न प्रत्येक स्थानले सन्देश दिएको बताएका छन् । मानौँ भूत वा पिसाच जागेर जनताको जनआवाज दबाउन वा जनतालाई चबाउन खोजिरहेको छ त्यसको प्रतिकारमा जनता उत्रेको कुरालाई कविले अत्यन्त चोटिलो ढंगले व्यक्त गरेका छन् ।

कविता संग्रहभित्रको कविताले एकदिन एक वा बढीमा दुई विषय वा सम्बन्धित पक्षलाई अंकन गर्ने चेष्टा गरेको फलस्वरूप वैशाख २ को दिन पत्रकारको धर्नामा निर्ममतापूर्वक उत्रेको प्रहरी प्रशासनको तीव्रविरोध गर्दै कविले यी पत्रकार स्वतन्त्रताका लागि जे गर्न पनि तयार छन् भन्ने कुरा नबुझ्ने बेकम्मा प्रशासनको खिल्ली उडाउँछन् । हरेक कोणबाट असफल सिद्ध भइसकेको सरकार अब बौलाउन थालेको तथ्यलाई गौशालाको घटनाले पुष्टि गरेको छ । ‘डसिए सूचनाका संवाहकहरू’ शीर्षकमा कविले राज्यको चौथो अंगमाथिको नांगो हस्तक्षेप फलदायी र क्षम्य नहुने तर्कअघि सारेका छन् ।

म देख्छु अँध्यारो रातभरि
मेरी आमाको लिलाम गर्दै गर्ने विकृत छायाँहरू
म हेर्छु कालो चर्तिकला
मान्छेको लासमा रमाउने
अजीर्ण बनेका मसानहरू ।

(डसिए सूचनाका संवाहकहरू, पृ. २८)
भाषिका पंक्तिमा अलि बढी पुनरावृत्ति पाइनु कवि सीमा होकि जस्तो लाग्दछ । जसले कवित्वलाई पुनः परिष्कारको यात्रामा निस्कन जरुरी ठानेको छ । विश्वका हरेक स्थानमा पुगेर अत्यन्त साहसिक ढंगले समाचार संकलन गर्ने पत्रकार आफैँ सिकार हुनुमा राज्यको बेकम्मा प्रवृत्ति हो भन्छन् कवि । यही कविताभित्र उनको कलात्मक प्रस्तुतिको नमूना पनि अत्यन्त सशक्त छः
समयको आगोले हिटलर जलेर खरानी भयो
समयको तुफानी झड्काले मुसोलिनी बेपत्ता भयो
समय बलवान छ र बलवान छन् जनताहरू
समयको बहावसँगै
बग्ने छन् वर्तमानका कलंकहरू ।

(डसिए सूचनाका सम्बाहकहरू, पृ. ३०)
सही अर्थमा कविले विश्व जगत्लाई सूचना दिने सूचना÷सञ्चारकर्मीलाई दमनको शिकार बनाइनु लज्जापूर्ण कुरा हो भन्दै कविले सामाजिक जीवनलाई सकारात्मक मोडमा लैजानसमेत प्रेरित गरेका छन् । ‘सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची’ शीर्षकको कविताले ०५९ सालमा भएको अर्घाखाँची लडाइँको (वीरताको) कथालाई समेटिएको छ । यस आक्रमण वा लडाइँले नेपालमा एउटा सुदिनको आशा पलाएको कविको भनाइ छ ।

आन्दोलनकै सन्दर्भलाई कविद्वारा अत्यन्त उत्साहित भएर वर्णन गरिएको छ । ‘चावहिल ! तिमीलाई बधाई छ’ कवितामा कविले भिन्न विचार र चिन्तन प्रस्तुत नगरे पनि आन्दोलनको स्वरूप वा संरचनाले पाएको मान्यता तथा जन–जनमा परेको प्रभावका कारण बलशाली बन्दै गएको जनआन्दोलनको प्रतिबिम्बन यस कवितामा भएको छ । ‘अनाहक ! मलाई माफ गर्दियौँ’ शीर्षकको कवितामा नेपालीले मात्र होइन विदेशीले समेत अनाहकमा लाठी खानुपरेको पीडादायक सन्दर्भलाई कविले कविताको सामलको रूपमा प्रस्तुत गरेका छन् । विदेशी पाहुनालाई पिटेर झन् निर्लज्ज बनेको सरकारलाई धिकार्दै कविले अत्यन्त आक्रोशपूर्ण आलोचना मात्र गरेका छैनन्, उनले ती पर्यटकलाई हामी वा नेपालीलाई माफ गरिदिनसमेत भने छन् । कविको कर्तव्यबोध र जवाफदेहीता काव्यमार्फत सुन्दर ढंगले झल्केको छ । देशको कुना–कुना चहारेर नेपालको सुन्दरताको वर्णन गर्नेहरूलाई पिट्नु कति नाजायज हो कवि आक्रोश व्यक्त गर्दछन् ।

कविले जनआन्दोलनले उत्कर्षता पाउँदै गरेको बखतमा हिरालाल गौतमले निजगढमा गरेको सहादतलाई दस्तावेजीकरण गरेका छन् । जति निरंकुशहरू कठोर बन्छन् त्यति स्वतन्त्रताका सेनानी जुर्मुराउँछन् यस भनाइलाई यस कविताले प्रष्ट पारेको छ । नेपालको भौगोलिक एकीकरण र राजनैतिक नेतृत्वको जस गोरखालाई दिँदै कविले गोरखाले जति पीडा भोग्नु भोग्यो अब पीडा भोग्नका लागि तयार छैन बरू मर्न परोस् भन्दै नयाँ जोशलाई उन्मुक्तिको गीतसँग मिलाएका छन् ।
ऐतिहासिक जनआन्दोलनमा कर्मचारीवर्गको पनि अत्यन्त महत्वपूर्ण भूमिका थियो भन्ने प्रमाणलाई वैशाख ५ गते गृह मन्त्रालयमा कर्मचारीले गरेको आन्दोलनको चर्चाले पुष्टि गर्दछ ।

कवि भन्छन्ः
छोरी ! म एकमुरी खुसीको लागि
गृहको ढोकाभित्रै जुलुस बनी जुलुस सुरु गरेँ
छोरी म त्यहीँ दीप्तिको लागि
काँधमा जुलुस बोकेर हिँड्दै हिँड्दै गरेँ ।
(जुलुस बोकेर हिँडेको छु, पृ. ४१)
स्वतन्त्रताको चाहना सबैमा हुन्छ, निरंकुशताका विरुद्ध कर्मचारीले चेतनाको प्रदर्शन गर्नु अन्यथा होइन र मनपरी सत्ताको विरोध गर्नु ठीक हो भन्छन् कवि ।

आन्दोलनमा नेपालगञ्ज पनि कम तातेको होइन । सेतु विकको हत्याले त झन् सबै जनता जुरुक्क उठे निरंकुशता फाल्न । त्यति मात्र होइन, जनताको पसिनाले बन्न लागेको फटाहा राजाको शालिक आवश्यक छैन भन्ने पुष्टि गरिदिए जनताले । जनता जाग्दा हुने क्रियाकलाप यस कविताको सामल बनेको छ । स्वतन्त्रताको अग्रणी सेतुमा कविता समर्पण गरिएको छ ।
कवि भण्डारीका कविताबाट इतिहास लेखनमा महत्वपूर्ण सामग्री बटुल्दै जान विभिन्न कविताको शृंखलाले सहयोग पु¥याउँछ । तथापि पछिल्ला रखाइमा परेका कविताहरू भाव र संरचनाको केही खण्ड पनि दोहोरिने क्रम अलि तीव्र भएको छ । वैशाख ६ गते झापामा हत्या गरिएका राजन गिरी, सुरज विश्वास र झापाको आन्दोलनको सेरोफेरोलाई कविले ‘वीरताको ज्यूँदो कहानी हो झापा’ शीर्षकमा लिपिबद्ध गरेका छन् ।

गणतन्त्रको यात्रा संविधानसभाको गठनसम्म आउँदा कति अपराधी जेल परे ? तथ्य कतै बोल्दैन तथापि सनक र निर्देशनमा वैशाख ७ गते चलेको गोलीको जिम्मेवार व्यक्तिका विरुद्ध जनतामा छाएको आक्रोशलाई कविले भावपूर्ण ढंगले प्रस्तुत गरेका छन् ः
चन्द्रागिरी ! उनलाई थाहा छ
बलिदानको उच्च भावना
बन्दुकको पिँजडामा थुनिएको माटो
त्यसै स्वाधीन हुन्न
र बग्नुपर्छ युवाका रगतका छिर्काहरू ।

(जागे कलंकीका स्वजनहरू, पृ. ४७)
इतिहासको साक्षी बनेको चन्द्रागिरी हो साँच्चै आफ्ना फेदीका जनतालाई कलंकीमा ओरालेर अत्यन्त सशक्त ढंगले उपस्थित भयो कि तानाशाहको सपना पूरै भंग हुने अवस्था आयो । जनताको आन्दोलन करिब करिब निर्णायक मोडमा पुग्न लागेको वेलामा जनता सामान्य जनताले चक्रपथ पूरै घेरेको तथा साँच्चै अब कसैले दबाउने क्षमता नराख्ने आफैँ विजित जतनाको प्रदर्शनीले वातावरण अनौठो देखियो । विस्तारै जनताका वैरीहरू कमजोर मात्र होइन पलायनसमेत हुन थाले । ‘जनता जागेको दिन’ र वीरतापूर्ण उत्सर्गको कथा लेखिएको दिन कविताको मर्म उही खालको छ किनकी जनता गाउँले सहर घेर्ने भनेजस्तो चक्रपथबाट भित्र पस्न थालेको अवस्थालाई कविताले मार्मिक र कलात्मक हिसाबले प्रस्तुत गरेका छन् ।

कविको अड्कल र भोगाइमा इतिहासको कविताकरण गर्ने कार्यसमेत भएको छ ।
कविले अन्तिम दुई कवितामा अझै आन्दोलनको बहाबले जनतालाई छुन नसक्ने संकेत गरेका छन् । त्यसो त मानिसले सम्झौताको स्वरूप हेर्दा नै अड्कल काटिसकेका थिए ।
नेपाली कविता लेखनको क्षेत्रमा नवीन विषयको प्रस्तुतिले आमपाठकलाई फाइदा पु¥याएको छ । पक्कै पनि आन्दोलनको दस्तावेजीकरण हुनु सामान्य कुरा होइन । नेपाली जनताको दिललाई प्राथमिकता दिनुपर्छ भन्ने सद्भाव हो । कविले अतीतलाई कविताभित्रै पोखेर आफ्नो काव्यात्मक सुवासलाई छर्ने प्रयत्नसमेत गरेका छन् । अहोरात्रको खटाइले धेरै मानिसलाई नेपालमा केही हुन्छ र हुनैपर्छ भन्ने चिन्तनको विकास गरेको कुरा कविले समग्र कवितामार्फत व्यक्त गरेका छन् ।

म तिम्रो छातीमा ढलेका
सहिदको सम्झना गर्न आएको थिएँ
अत्याचारका बलशाली ढुंगाहरू
सदियौँदेखि तिम्रो छातीमा
जर्जर भै फैलिएका जरा काट्ने महायात्रामा ।

(कलंकी ! म फर्किने वेला भयो, पृ. ६९)
अन्त्यमा सरल भाषामा लेखिएका कविता केही बाहेक मध्य र छोटा आकारका छन् । त्यसका साथै बिम्ब र प्रतीकको अत्यन्त सुन्दर र सन्तुलित प्रयोग कवितामा पोखिएको छ । मूल कुरा त कविको हिसाबले आन्दोलनलाई चर्चामा मात्र होइन जनताको मन–मनमा पु¥याउन कवि लागेका छन् । अबको यात्रा पनि कविको स्तरपूर्ण रचना आउने नै छन् । जनयुद्ध र जनआन्दोलनका सबै पक्षलाई नभए पनि १९ दिने जनआन्दोलन र १२ वर्षे जनयुद्धको मूल प्रवृत्तिलाई चित्रण गर्न सफल यी कविता भण्डारीका काव्यकसीमा खरो उत्रन सकेका छन् । प्रगतिशील विचार शान्ति र क्रान्तिको फ्युजनले साहित्य, भाषा, संस्कृतिमा ल्याउन सक्ने नवीन सम्भावनालाई कविले रोचकता साथ प्रस्तुत गरेका छन् । जनता जागेका वेलाको यो दस्तावेज नेपाली साहित्यको महत्वपूर्ण सामग्री हो । गद्यकवितामा सुन्दर भावलाई कविको वित्यस्त गर्न कवि तथा कलाकार सफल देखिएका छन् ।

प्रतिक्रिया