राष्ट्रियतामाथि विभिन्न स्वरूपमा संकट थपिँदै छ

आरएम डंगोल, महासचिव – प्रगतिशील लेखक संघ (प्रलेस)

नेपालको प्रगतिशील साहित्यकारको साझा संस्थाको रूपमा रहेको प्रगतिशील लेखक संघ (प्रलेस) का महासचिव तथा साहित्यकार आरएम डंगोल मूलतः कविता तथा समालोचनाका क्षेत्रमा सक्रिय छन् । नेपाली समाजमा परिवर्तनकारी आन्दोलनलाई सशक्त बनाउन प्रलेसले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्दै डंगोलले राजनीतिले समाजको तल्लो वर्गलाई छाम्न सक्नुपर्नेमा जोड दिँदै आएका छन् ।

उनले भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रभाव बढ्दै गएको अवस्थामा हाम्रो जस्तो मुलुकमा प्रगतिशील स्रष्टाले सबल रूपमा आवाज सिर्जनामार्फत उठाउनुपर्ने बताएका छन् । स्रष्टा डंगोलसँग प्रलेसको आसन्न राष्ट्रिय सम्मेलन, यसका बारेमा उठेका पछिल्ला बहसका बारेमा गरिएको संक्षिप्त कुराकानीः

राष्ट्रिय सम्मलेनको तयारी के–कसरी गर्दै हुनुहुन्छ ?
हामीले यही चैत्र २२ र २३ गते ११औँ राष्ट्रिय सम्मेलनका लागि मिति तय गरेअनुसार तयारी हुँदै छ । हामी विभिन्न नौवटा समितिहरू गठन गरी सम्मेलनलाई व्यवस्थित गर्ने प्रयासमा छौँ । यस बीचमा जिल्ला र प्रदेशमा धमाधम सम्मेलन हुँदै छन् । यसपटक ५० भन्दा बढी जिल्लामा जिल्ला शाखा, र सातवटा प्रादेशिक समिति गठन भएअनुसार प्रतिनिधित्व पनि बढ्ने देखिन्छ । एकप्रकारले प्रलेसको सांगठनिक जीवनमा यो उत्साहप्रद स्थिति हो ।

 

तपाईंहरूको नेतृत्वले वैचारिक कामलाई भने त्यति अगाडि बढाउन नसकेको भन्ने आरोप छ नि, के भन्नुहुन्छ ?
सिर्जनात्मक आन्दोलनलाई विचारसँग जोड्ने मूल ध्येय प्रलेसको प्रस्तावनामै उल्लेख छ । विश्व दृष्टिकोणमा हामी स्पष्ट छौँ । हामी समतामूलक समाज निर्माणका लागि सामाजिक सांस्कृतिक रूपान्तरणमा आफ्नो लेखकीय ऊर्जाको सदुपयोगमा जोड दिन्छौँ । साहित्यका जुनसुकै विधा वा सिर्जना भनौँ यसले आममानिसमा प्रगतिशील विचार निर्माणमा बल पु¥याउनुपर्छ । हिजोको घिसेपिटेको सामाजिक, सांस्कृतिक रूढी, पुरातन कर्मकाण्डीय परम्पराबाट मुक्त हुनुपर्छ । सामन्ती संस्कार र सोच हामीभित्रै जीवित छ । हाम्रो घर आँगनमा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रभाव बढ्दै छ ।

उपभोक्तावादी हाम्रो बजार सांस्कृतिक साम्राज्यवादीहरूको क्रीडास्थल बन्दै छ । यता जनजीविकाका समस्या ज्यूँकात्यूँ छन् । राष्ट्रियतामाथि विभिन्न स्वरूपमा संकट थपिँदै छ । यस्तो वेला लेखकहरूले विचारकै माध्यमबाट यस्ता प्रवृत्तिविरूद्ध जुध्नुपर्ने हुन्छ । हामीले यसैअनुसार विभिन्न वैचारिक कार्यक्रमहरू सम्पन्न गरेका छौँ । प्रलेस केन्द्रीय कार्यालयमा मासिकरूपमा विभिन्न विषयमा विद्वान् वक्ताहरूलाई निम्त्याएर प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न गरेका छौँ । नियमितरूपमा वार्षिक पत्रिका प्रकाशन गरेका छौँ ।  ११औँ राष्ट्रिय सम्मेलनको लगत्तै पछि बसेको सचिवालय बैठकले विभिन्न १३ वटा विभागहरू गठन गरी सिर्जनात्मक वैचारिक कार्यक्रम गर्ने योजना तय गरेका थियौँ त्यसमा भने अपेक्षाकृत सफलता प्राप्त गर्न सकिएन ।

प्रगतिशील लेखक संघले सत्ताविरोधी प्रतिरोधी चरित्र गुमाउँदै गएको भन्ने भनाइप्रति यहाँको के प्रतिक्रिया छ ?
प्रलेसको स्थापनाको ६ दशक लामो इतिहास हेर्दा नेपाली राजनीतिको अनेकौँ कालखण्डलाई पनि यससँगै जोडेर हेर्नुपर्ने हुन्छ । राणाशासन विरोधी आन्दोलनका राजनीतिक अगुवाहरू यस संस्थासँग प्रत्यक्ष अप्रत्यक्षरूपमा जोडिएको हो ।

राजाको सक्रिय शासन सुरु भएदेखि त्यसको अन्त्य नभएसम्मको कालखण्डमा वैचारिक दृष्टिले प्रतिबद्ध नेपाली स्रष्टाहरूले यसै संस्थाका माध्यमबाट राजनीतिक हक, अधिकार, स्वतन्त्रता प्राप्तिको आन्दोलनमा आफ्नो सिर्जना सोचको अधिकतम प्रयोग गर्दै आएका हुन् । राजतन्त्र अन्त्य र गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली प्रगतिवादी/प्रगतिशील स्रष्टाहरूको प्रहारकेन्द्र स्पष्ट थियो । ४६ साल होस् वा ०६२÷०६३ को आन्दोलन, कलम र विचारका माध्यमबाट सामन्तवादी सत्ताका बन्दुक र बुटका विरुद्ध गरिएको आन्दोलनको भूमिका गरिमामयी छ ।

०६२÷६३ सालको आन्दोलनपछि हिजोको जस्तो परिस्थिति रहेन । यतिवेला परिवर्तनकामी भनिएका शक्तिहरू सत्तामा छन् । सडकमा पनि परिवर्तनकामी शक्तिकै प्रभाव र पहुँच छ । सामाजिक सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको एजेन्डालाई अहिले पनि यथोचित सम्बोधन गरिएको छैन । सत्तासँग राजनीतिक मत भिन्नता राखिँदा उनीहरूमाथि सत्ताकै आडमा असहिष्णु व्यवहार गर्ने परम्पराको अन्त्य भएको छैन । हामी त्यसविरुद्ध सजग छाँै ।

प्रलेसमा आबद्ध स्रष्टाहरूले अहिले पनि आफ्ना असहमतिको स्वरलाई सघन ढंगले उठाउँदै आइरहेकै छन् । व्यंग्य, विरोध, असन्तुष्टि, स्रष्टाहरूको लेखकीय अधिकार पनि हो । यसलाई संस्थागत गर्ने काम प्रलेसले गर्नुपर्छ र गर्छ पनि ।

यतिवेला लेखक संघमाथिको मुख्य चुनौती के देख्नुहुन्छ ?
पहिलो कुरा, संगठनलाई सांगठनिक हिसाबले चुस्त दुरुस्त बनाइनुपर्छ । केन्द्रीय नेतृत्वको संरचना भद्दा बन्न पुगेको छ । संस्थालाई संघीय संरचनामा ढाल्न खोजिँदा व्यावहारिक हिसाबले केही समस्याहरू देखिएका छन् । अहिले स्थानीय शाखा (जिल्ला), प्रादेशिक समितिको गठन भइरहेको छ । अब केन्द्रीय नेतृत्वको संरचनालाई पनि सोहीअनुसार कामकाजी बनाइनुपर्छ । तर, यसो गर्दा संस्थाको विधानको प्रस्तावनाको मूल मर्मभन्दा बाहिर जानुहुँदैन ।

दोस्रो कुरा, प्रगतिवादी÷प्रगतिशील चिन्तन÷व्यवहार अनुकूल स्रष्टाहरूले संगठनप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । संस्थामा स्वतन्त्र स्रष्टाहरूले पनि सिर्जनात्मक भूमिकाद्वारा नेतृत्व गर्न सक्दछन् । कुनै विचार समूहसँग आफू सम्बद्ध नरहेकै भनेर संगठनको विधि विधानलाई नाघिनु हुँदैन । संगठनभित्रै आफ्ना असन्तुष्टिहरू राख्ने र संगठनलाई आफ्नो विचारले अझ परिष्कृत बनाउने हो । पछिल्लो समय यस कोणबाट केही समस्याहरू देखिएका छन् ।

तेस्रो कुरा; देशका वामशक्तिहरूले प्रलेसलाई कुन भूमिकामा राख्न चाहन्छन् त्यो स्पष्ट हुनुपर्छ । प्रतिध्रुवीय लेखन शिविरमा यस्तो सांगठानिक स्वरूप र क्रियाशीलता देखिँदैन । यता यसको आफ्नै गरिमामयी ऐतिहासिकी छ । पार्टी सम्बद्ध सांस्कृतिक मोर्चाहरूले प्रलेसको शक्ति र सीमालाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।

देशका वाम स्रष्टाहरूको संयुक्त मोर्चाका रूपमा यसलाई अझ गतिशील बनाउन के गरिनुपर्छ भन्ने लाग्छ ?
लेखक स्रष्टाहरूले कुनै न कुनै रूपमा आस्थाको कार्य व्यापार गरिरहेका हुन्छन् । देशमा विभिन्न वामशक्तिहरू क्रियाशील छन्, अस्तित्ववान् छन् । तिनका आआफ्नै सांस्कृतिक मोर्चाहरू छन् । प्रलेस वामशक्ति सम्बद्ध स्रष्टाहरूको साझा लेखकीय मोर्चा हो । आ–आफ्ना विचार आस्थाको ऐजन्डाको क्रीडास्थल प्रलेसलाई बनाइनु हुन्न ।

भूमिकाका हिसाबले यसमा साना–ठूला घटक भनेर भेदभाव गरिनु हुँदैन । कमसेकम जनजीविकाका यावत् समस्या, राष्ट्रियतासँग सम्बद्ध समस्या, देशीय सामन्तवाद, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध स्रष्टाहरू एकै ठाउँमा उभिन सक्छन् । यसका विरुद्ध संयुक्तरूपमा सिर्जनात्मक ऊर्जाले नै संगठनलाई अझ व्यापक र संगठित बनाउन सकिन्छ ।

पछिल्लो समय प्रलेसको विवाद सार्वजनिक भएको छ, यसबारे तपाईं के भन्नुहुन्छ ?
यो समस्या आजको मात्र होइन । यस्ता समस्या वेला वेलामा संस्थाले व्यहोर्दै आएको हो । प्रलेसले यस्तो गरे हुन्थ्यो भनेर साथीहरूले केही गरेर देखाइदिनु भए हामीलाई पनि बाटो पछ्याउन सजिलो हुन्थ्यो । तर, कुरा त्यस्तो छैन, प्रलेसबारे विमत्ति राख्न सकिन्छ तर सँगसँगै कुन नैतिकताको जगमा उभिएर भन्ने पनि प्रश्न उठ्छ ।

वर्तमान प्रलेसको विधानको मस्यौदा तयार गर्ने साथीहरू यसअघि पनि प्रलेसको नेतृत्वदायी भूमिकामै रहनुभएको हो । त्यसवेला पनि प्रलेसको चरित्र यस्तै थियो । जसरी अहिले उहाँहरू प्रलेसको वर्तमान चरित्रमाथि आक्षेप लगाइरहनु भएको छ । न्वारनदेखिको बल लगाएर प्रलेसभित्रै कित्ताकाट गराउने अस्वस्थ्य वैचारिक विलासिताले उहाँहरूको वैकल्पिक सोचको धरातल स्पष्ट हुँदै छ । यसबाट आत्तिनुपर्ने देखिँदैन ।

प्रतिक्रिया