काठमाडौं । सरकारले लगानी सम्मेलनका लागि साढे ३० खर्बका ६३ वटा आयोजनामा लगानी गर्न आह्वान गर्ने तयारी गरेको छ । चैत १४ र १५ गते राजधानीमा हुने सम्मेलनका लागि सरकारका तर्फबाट ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ ।
सबै आयोजनामध्ये सरकारले विशेषगरी ऊर्जा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । ऊर्जामा मात्रै सरकारले ११ खर्ब १ अर्ब २४ करोडको लगानी गर्न आह्वान गर्ने तयारी गरेको लगानी बोर्डका प्रवक्ता बलराम रिजालले भने । यसैगरी, निजी क्षेत्रबाट १ खर्ब ६२ अर्ब २२ करोड २० लाख रुपैयाँका आयोजना छनोट गरिएको छ । सम्मेलनमा औद्योगिक, कृषि, पर्यटन, यातायात, सहरी, शिक्षा तथा स्वास्थ्य र हवाई पूर्वाधारमा पनि विभिन्न आयोजना छनोट गरिएका छन् ।
ऊर्जाकै क्षेत्रलाई पहिलो प्राथमिकतामा दिएको सरकारले १३ वटा जलविद्युत् आयोजना छनोट गरेको छ । सातवटा जलविद्युत्् आयोजना लगानी बोर्ड र ६ वटा निजी क्षेत्रबाट प्रस्तावित आयोजना रहेका छन् । बोर्ड मातहत रहेर लगानी भित्र्याउन खोजिएका आयोजनामा प्रदेश–१ बाट तमोर, प्रदेश–३ बाट सुनकोसी–२ र सुनकोसी–३, प्रदेश–४ बाट उत्तरगंगा, प्रदेश–६ बाट फुकोट कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पश्चिम सेती र एसआर–६ रहेका छन् ।
तमोर नदीबाट ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा देखिएपछि यो आयोजना अगाडि सारेको हो । विद्युत् प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवेदनअनुसार २ सय ५ मिटर अग्लो बाँध बनाएमा ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनअनुसार आयोजनाको बाँध २ सय ५० मिटरसम्म बढाउने हो भने यसको विद्युत उत्पादन क्षमता १२ सय मेगावाट र ३ सय मिटर अग्लो बाँध बनाउँदा जडित क्षमता २ हजार ५ सय ६५ मेगावाट हुन आउँछ । यसबाट वार्षिक ४ हजार ९ सय ६८ दशमलव ५६ गिगावाट आवर विद्युत्् निकाल्न सकिन्छ ।
तमोर जलाशययुक्त आयोजना बुढीगण्डकी आयोजनाभन्दा पनि सस्तो, कम जनसंख्या विस्थापन, वातावरणीय हिसाबले न्यून वातावरणीय प्रभाव र वार्षिक ऊर्जा उत्पादनका हिसाबले करिब आधा मात्र लागतमा बुढीगण्डकी आयोजना समान ऊर्जा उत्पादन हुने देखिन्छ । बुढीगण्डकी आयोजनाबाट १० हजार ४ सयभन्दा बढी घरपरिवार विस्थापित हुने देखिएकोमा तमोर जलाशययुक्त आयोजनाबाट १ सय २६ घरधुरी मात्र विस्थापित हुने अध्ययनले देखाएको छ ।
यसैगरी, ७ सय ५० मेगावाट उत्पादन क्षमता रहेको पश्चिम सेती जलविद्युत् आयोजना जलाशययुक्त आयोजना हो । डोटी, डडेल्धुरा, बैतडी र बझाङ गरी चार जिल्लामा सेती नदी बेँसीको करिब ४ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल आयोजनाले ओगटेको छ । आयोजनाका लागि १ सय ९५ मिटर अर्थात् ६ सय ४० फिट उचाइको ड्याम निर्माण हुनेछ । विगतमा २४ वर्षदेखि यो आयोजना निर्माण हुन सकेको छैन । अस्ट्रेलियन र चाइनिज कम्पनीले ओगटेर बसे पनि निर्माण गर्न नसकेपछि अहिले बेबारिसे अवस्थामा रहेको छ ।
‘पिकिङ रन अफ रिभर’ (पिआरओआर) अन्तर्गत बन्ने गरी अध्ययन भएको फुकोट कर्णाली कालिकोट जिल्लामा बन्न लागेको आयोजना हो । आयोजनाले जिल्लाको १६ हजार ७ सय ६४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले गरेको अध्ययनअनुसार आयोजनामा ५५ मिटर अग्लो ड्याम र १० किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने देखिन्छ । आयोजनाको उत्पादन क्षमता ४ सय २६ मेगावाट निर्धारण भएको छ ।
बागलुङ जिल्लामा बनाउने प्रस्ताव गरिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको नेपाल विद्युत्् प्राधिकरणले प्रारम्भिक अध्ययन गरिसकेको छ । लागतका हिसाबले यो आयोजना निकै सस्तो (प्रतिमेगावाट १३ करोड रुपैयाँ) छ । ८ सय २८ मेगावाट उत्पादन क्षमता अनुमान गरिएको उक्त आयोजनाले सिंगो ढोरपाटन उपत्यकालाई डुबानमा पार्ने देखिन्छ । आयोजनामा २ सय मिटर अग्लो बाँध निर्माण गरेर करिब १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरी विद्युत् उत्पादन गर्न सकिने देखिन्छ ।
पछिल्लो समय बंगलादेशले सुनकोसी–२ र सुनकोसी–३ जलविद्युत् आयोजना दुई देशको संयुक्त लगानीमा बनाउनका लागि भन्दै पहल गर्दै आएको छ । गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘पावर एन्ड इनर्जी विक’ का लागि गरेको बंगलादेशको भ्रमणका क्रममा पनि बंगलादेशले यस्तो प्रस्ताव राखेको थियो ।
करिब १६ सय मेगावाटका दुइवटा आयोजना निर्माणका लागि बंगलादेशले चासो देखाए पनि लगानी सम्मेलनमार्फत अरू मुलुकका लगानीकर्तालाई पनि जानकारी दिन लगानी सम्मेलनमा यी दुई आयोजना पनि राखिएका छन् । सप्तकोसी बेँसीका दुइवटा आयोजनामध्ये १ हजार १ सय १० मेगावाट उत्पादन क्षमता रहेको सुनकोसी–२ आयोजनाका लागि १ सय ६६ मिटर अग्लो ड्याम निर्माण गर्नुपर्ने देखिन्छ । जाइकाले १९८५ मा गरेको अध्ययनअनुसार आयोजनाको विद्युत् उत्पादन क्षमता ४ हजार ७ सय ६० गिगावाट आवर रहेको छ । जाइकाले नै गरेको अध्ययनअनुसार सुनकोसी–३ जलविद्युत् आयोजनामा १ सय ४० मिटरको ड्याम निर्माण गरेर जलाशययुक्त आयोजना बनाइ ५ सय ३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिन्छ ।
प्रदेश–७ मा पर्ने सेती रिभर (एसआर ६) जलाशययुक्त आयोजनाको विद्युत् उत्पादन क्षमता ७ सय ७६ मेगावाट रहेको छ । सेती नदीको माथिल्लो भेगमा ड्याम बनाएर निर्माण गर्ने भनिए पनि आयोजनाको विस्तृत अध्ययन भने हुन सकेको छैन । तर, यस आयोजनालाई पनि लगानी बोर्डले विदेशी लगाउन भित्र्याउन भन्दै सूचीकृत गरेको छ ।
प्रतिक्रिया