मूर्तिकला क्षेत्र: पहिलेको भन्दा सन्तोषजनक छ

प्रा डा. लय मैनाली

प्राडा. लय मैनाली, नेपाली मूर्तिकला क्षेत्रमा प्रसिद्ध नाम हो । तीन दशकभन्दा लामो समयदेखि मूर्तिकलाका क्षेत्रमा सक्रिय प्राडा. मैनालीका नेपाल तथा विश्वका विभिन्न मुलुकमा दर्जनौँ एकल तथा सामूहिक प्रदर्शनी भएका छन् । त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसमा प्राध्यापनरत प्राडा. मैनालीका कलासम्बन्धी आधा दर्जन बढी पुस्तकसमेत प्रकाशित छन् ।

कला लेखन, प्राध्यापन, मूर्ति तथा चित्रकलाका क्षेत्रमा सक्रिय मैनालीले ललितकला क्याम्पसको क्याम्पस प्रमुखको रूपमा समेत काम गरिसकेका छन् । कलामार्फत समाजमा जगारण ल्याउन सकिन्छ भन्ने मान्यता राख्ने मैनालीले नेपाली संस्कृति, प्रकृति, परिवेश र विश्वकला दृष्टिकोणमा आधारित रही आफ्ना कला रचना गर्दै आएको पाइन्छ । कलामार्फत सौन्दर्यको अभिव्यक्ति हुनपर्छ भन्ने मान्यता राख्ने मैनालीका मूर्तिमा नवीन शैली र विषयको प्रस्तुति रहन्छ । नेपाली कलालाई विगत तीन दशकदेखि नजिकबाट नियालिरहेका प्राडा. मैनालीसँग नेपाली कलाका विविध पक्षका बारेमा सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानी  :

आजकल केमा व्यस्त हुनुहुन्छ ?
मूर्तिकला सिर्जना र अध्यापनमा दैनिकी बितिरहेको छ ।

मूर्ति सिर्जना, लेखन तथा अध्यापनमा सक्रिय हुनुहुन्छ । एकले अर्कोलाई कत्तिको प्रभाव पारिहेको छ ?
यी तीनवटै सिर्जनाका अभिन्न पाटाहरू हुन् । एकअर्कामा समन्वय त भइहाल्छ ।

तपाईंले चित्र सिर्जना पनि गर्दै आउनुभएको छ । सबै विधामा हात हाल्दा आफ्नो परिचय केमा बढी होस् भन्ने चाहनुहुन्छ ?
मूर्तिकला मुख्य विषय हो र अन्य सहायक हुन् । मूर्तिकारकै रूपमा परिचय बनोस् भन्ने चाहन्छु ।

तपाईंका मूर्तिका मुख्य विषय र उद्देश्य के–के रहेका छन् ?
विषय परिवर्तन भइरहन्छन् । मुख्य उद्देश्य सौन्दर्यको अभिव्यक्ति नै हो ।

नेपालमा कला शिक्षाको प्रभावकारिता बढे पनि यसमा गहन ढंगले काम हुन सकेको छैन नि ?
पूर्वाधारको कमीले गर्दा यस्तो हुन गएको हो ।

कला शिक्षामा सुधार र विकास गर्न के गर्नुपर्ला ?
जगैदेखि कला शिक्षा र पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको छ ।

नेपाली मूर्तिकलाको अवस्था कस्तो छ ?
बनेका राम्रा मूर्तिको स्थापना हुने वातावरणको निर्माण हुनुपर्दछ ।

यसको विकासमा राज्यले के कस्तो भूमिका निर्वाह गरेको छ ?
पहिलेको भन्दा सन्तोषजनक छ ।

नेपाली कला लेखनलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
विश्लेषण कम सूचना र समाचारमूलक बढी रहेको पाउँछु ।

गम्भीर ढंगले कला लेखन हुन सकेन भन्ने छ’ नि ?
कला इतिहासमा कला लेखनले सधैँ कला र कलाकारलाई स्थापित गरेको छैन । विश्वप्रसिद्ध कलाकार र कलालाई कला लेखनले विरोध, नकारात्मक टिप्पणीहरू भएको पाइन्छ । कला लेखनले चर्चित बनाउन सक्छ । कला ग्यालरीसम्म दर्शक पु¥याउन सक्छ तर स्थापित गराउन सक्दैन । स्थापित स्वयं कलासर्जक र उसको कृति हो वा सिर्जनाले गर्ने हो ।

कस्तो लेखनले कलालाई समाजमा स्थापित गराउन मद्दत गर्दछ ?
आम जनतामा कला चेतनाको जागृत गराउन कला लेखनले सहयोग गर्न सक्छ । अन्त्यमा । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको साख जोगाउने जस्ता कार्यहरू गर्नुप¥यो नकि कला संगठनले जस्तो ।

प्रतिक्रिया