काठमाडौँ । ऐतिहासिक रानीपोखरीे पुनः निर्माण शुरु भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनः निर्माण सुरु गरिएको जानकारी दिए ।
परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनः निर्माण हुने जानकारी दिँदै उनले भने, “रानीपोखरी पुनः निर्माण सुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु ।
पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनः निर्माण सुरु गरिएको बताए ।
उनले पुनः निर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने बताए । काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनः निर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुनः निर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनः निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनः निर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया