स्रष्टा–संवाद मिथिला कला विश्वमा चिनिएको छ

मिथिला लोककला क्षेत्रमा परिचित व्यक्तित्व एससी सुमनको सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भर्खरै १६औँ एकल प्रदर्शनी सम्पन्न भएको छ । विगत ३० वर्षदेखि मिथिला कलामा निरन्तर लागिरहेका सुमनले नयाँ विषयलाई मिथिला शैलीमा ढाल्दै काम गरिरहेका छन् । उनले बनाएका कलामा मिथिला क्षेत्रका सांस्कृतिक वैभवका साथ नेपालका अन्य क्षेत्रका संस्कृति, इतिहास तथा सामाजिक विषय समेत कलात्मक रूपमा उधिनिएको पाइन्छ । साथै उनले मिथिला शैलीमा समसामयिक सामाजिक तथा राजनीतिक विषयलाई समेत उनले आकर्षक रूपमा क्यानभासमा प्रस्तुत गरेको पाइन्छ । मिथिला कला र यसका विविध विषयमा केन्द्रित रही कलाकार सुमनसँग सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानीः

 

० यहाँको १६औँ कला प्रदर्शनीको बारेमा बताइदिनुहोस् ।
–तीन दशकको मेरो कलायात्रामा भएको यो १६औं एकल प्रदर्शनी हो । विगत सन् १९९० को दशकमा गृहनगर विराटनगरबाट थालिएको प्रथम एकल प्रदर्शनीको श्रीगणेशसँगै मेरो कलायात्रा सुरु भएको हो । मलाई थाहा भएसम्म त्यो नै मिथिला कलाकारबाट मिथिला कलाको प्रथम एकल प्रदर्शनी पनि हो । प्रथम एकल प्रदर्शनीसँग ठेट मिथिला परम्परागत शैलीमा कोरिँदै आएको चित्रकला प्रदर्शनीमा समसामयिक विषयवस्तु समावेश हुँदै विभिन्न आरोह अवरोह पार गर्दै आज १६औँ प्रदर्शनीसम्म आइपुग्दा मिथिला कलाभित्र नवप्रयोग पनि गर्दै आएको छु । जसमा परम्परागत शैली नवविषयवस्तुको समावेशिता, कलाकारले औंल्याउनुपर्ने समसामयिक समस्या तथा त्यसको निदानको बाटो मेरो चित्रमार्फत हुँदै आएको छ । सायद मलाई लाग्छ म इमान्दारीपूर्वक आफ्नो कलाधर्म निर्वाह गर्दै यहाँसम्म आइपुगेको छु ।

० तपाईंले सिर्जना गर्ने मिथिला कलामा परम्परागतभन्दा फरक विषय आएका छन् नि ?
–अवश्य । कलाकार वर्तमानमा बाँच्ने गर्छ । वर्तमानमा गर्ने कलाकर्म नै समसामयिक कला हो । कलाकार पनि सामाजिक प्राणी भएकाले उसलाई पनि समाजमा भइरहेको प्रत्येक घटनाक्रमले प्रभावित गरिरहन्छ । तसर्थ, रङ र कुचिका माध्यमबाट उसको सिर्जना अभिव्यक्ति हुने गर्दछ । समाजले पनि कलाकर्मीको अभिव्यक्तिलाई सुक्ष्म विश्लेषण गरिरहन्छ र त्यसले समाजलाई सहजै प्रभावित गर्ने गर्छ । अब रह्यो मिथिला कलामा परम्परागतभन्दा फरक विषय आउनु, यो कसैले रोकेर रोकिन्न । मिथिला कुनै भौगोलिक नक्सामा भेटिन्न । तर, आज पनि मिथिला संस्कृति बाँचेको छ । बाँचेको मात्र होइन, आफ्नो सान्दर्भिकतालाई अझ प्रभावकारी रूपमा विश्व समुदायलाई आकर्षित गर्दै आएको छ ।

० मिथिला कलाको विकासक्रमका बारेमा बताइदिनुहोस् न ।

नेपाली मिथिला कलाको विकासक्रम सन् १९९० को दशकदेखि देखिन्छ । अमेरिकी महिला क्लेयर वर्केट आख्यान लेखनमा स्नातकोत्तर उपाधि प्राप्त गरी शैक्षिक जीवन बिताउँदै गर्दा सन् १९८५ मा पहिलोपटक नेपाल आगमनदेखि मिथिला कलाप्रति आकर्षित भई उहाँकै पहलमा काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको संस्कृति केन्द्रमा आयोजित सप्ताहव्यापी सामूहिक प्रदर्शनीबाट सुरु भएको देखिन्छ । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको सुरुवातसँगै सन् १९९० मा मेरो मिथिला कलाको पहिलो एकल प्रदर्शनीको आयोजना विराटनगरको वीरेन्द्र सभागृहमा भयो । जसको उद्घाटन गणेशमान सिंहद्वारा गरिएको थियो । सँगसँगै क्लेयर वर्केटको प्रयासबाट नारी विकास केन्द्रको स्थापना गरी जनकपुर क्षेत्रको कला गतिविधि गर्दै स्थानीय कलाकारहरूलाई एक ठाउँमा ल्याइ मिथिला कलासम्बन्धी कार्य सुरु भयो र यो निरन्तर पछिसम्म चलिरहेको छ । तत्पश्चात् स्थानीय कलाकारहरूले स्वतन्त्ररूपमा काम कलाकर्म गर्ने क्रम सुरु हुँदै गयो । आजसम्म आइपुग्दा कलाकारद्वारा व्यापकरूपमा सामूहिक तथा एकल प्रदर्शनी हुनेक्रमले निरन्तरता पाइरहेको छ ।

० नयाँ विषय र प्रयोगले यसको मौलिकतालाई असर त गर्दैन ?
–यहाँ प्रष्ट हुनु जरुरी छ, मिथिला कला जीवनसँग जोडिएको कला हो । यो एउटा जीवन्त परम्परा पनि हो । आजको सन्दर्भमा समेत मिथिला क्षेत्रमा हुने कुनै पनि शुभकार्य, सामाजिक संस्कार तथा चाडवाड कलाविना सम्पन्न हुँदैनन् । कला मिथिला परम्परादेखि नै समाजको अभिन्न अंग बनिआएको छ । समय परिवर्तनशील छ तर पनि मिथिला संस्कृति, मिथिला संस्कार नै मिथिलालाई विशिष्टता प्रदान गर्दछ । आज मिथिला लोककला घरका भित्तामा बनाइने चित्र कागज वा क्यानभासमा बनाइँदै विश्वका विभिन्न ग्यालरी तथा विश्वभरी हुने प्रमुख कला आयोजनामा समेत प्रभावकारीे उपस्थिति जनाइरहेको छ । यसको मौलिकताले आफ्नो स्थान विश्वकला माझमा सुरक्षित बनाएको छ ।
यो कलाभित्र नयाँ विषय र प्रयोग आज मात्र भएको होइन, विश्व समुदायमा परिचयात्मक कालदेखि नै समयसापेक्ष हुँदै आएको छ । त्यसको परिणाम आज यसको प्रभाव कलाका अन्य विधा र पक्षजस्तै सशक्त र पारखीका निम्ति ग्रहणीय बन्दै गएको छ ।

 

० नेपाली लोककलाको वर्तमान अवस्था कस्तो छ ?
–नेपाली लोककलाको वर्तमान अवस्था उर्वर छ । यसमा कला संस्था तथा कलाकारको सजगताको आवश्यकता छ । हाम्रो संविधानमा उल्लेख भए अनुरूप लैंगिक समानता, स्वावलम्वन, स्वआर्जन, मानव अधिकार प्राप्त गर्न नेपाली लोककलाको प्रमुख दायित्व हुन जान्छ । लोककलामा महिलाको ठूलो समूहको सहभागिता पाइन्छ । घर–घरमा सभ्यता तथा संस्कृति बाँचेको छ । जसको सम्बर्धन जानी नजानी महिलाहरूबाट प्रमुखताका साथ हुँदै आएको छ । विविधतामा एकता हाम्रो विशेषता, लोककलाको विविधता र मौलिकताले विश्व समुदायलाई आकर्षित गर्ने गर्छ । तसर्थ, नेपाली लोककलाको आशलाग्दो भविष्य हाम्रो हातमा छ ।

 

० किन नेपालका लोककला नेपालको मूलधारमा आउन सकेका छैनन् ?
मैले माथि भनिसकेको छु कि नेपाली लोककलाको आशलाग्दो भविष्य हाम्रै हातमा छ । यसमा ठोस प्रयासको आवश्यकता छ । यसको उदाहरणको लागि हामी धेरै टाढा गइरहनु पर्दैन । बेलायत र अमेरिकाको उदाहरण पनि दिनु पर्दैन । हामीसँग नियोजित प्रयासको परिणाम मिथिला कलाले देखाएको छ । ढिलो भए पनि मिथिला कला र कलाकारको आजको अवस्था सकारात्मक रहेको छ । आज समयको माग अनुसारको प्रयास पनि निरन्तर हुँदैछ । जसको प्रतिफल मिथिला कलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान बनाउन सकेको छ भने बुलन्द आवाजसँगै आफ्नो स्थान सुरक्षित बनाउँदै पनि गएको छ । नेपाली लोककलालाई मूलधारमा ल्याउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने देखेको छु । विगतको कार्यकालमा केही प्रयासको आरम्भविन्दु थालिएको छ । मिथिला लोककला सँगसँगै पर्वते, अवधि, सतार, राजवंशी, थारु, नेवारी, खाम, कर्णाली लगायतका लोककलामा गरिएका अनुसन्धान, प्रशिक्षण तथा कार्यशालाबाट राष्ट्रिय क्यानभासमा उपस्थिति जनाइसकिएको छ । यसलाई निरन्तरता दिँदै ठोस कार्यविधि बनाइ कार्यक्रम अगाडि लानुपर्दछ । सँगसँगै विभागीय प्रमुखतामा बाँडफाँड गरिने लोककलाको बजेट बढाउनु पर्दछ ।

लोककला विभागले स्थानीय तहका कलासंस्थासँग समन्वय गरेर कार्यक्रम बनाई अगाडि बढ्दा त्यसले समाजमा निकै छिटो प्रभाव पार्न सक्दछ । यसतर्फ सचेतापूवर्क लाग्नुपर्दछ । कर्मकाण्ड पद्धतिमा बजेट सकिने गरी कार्यक्रम नगरी निश्चित कार्ययोजनासहित काम गर्न सकिएमा नेपाली लोककलाका विविध आयामलाई नेपाली समाजमा जोड्न सकिन्छ । यसले हाम्रो मौलिक संस्कृतिको जर्गेना गर्ने मात्र नभई जीविकोपार्जनमा समेत प्रभावकारी भूमिका खेल्न सक्छ । यसका लागि ठोस कार्यक्रम, योजना र कार्यविधि बनाई अगाडि बढनुपर्दछ । अनुसन्धान तथा प्रकाशनको क्षेत्रलाई फराकिलो बनाउनु पर्दछ । शैक्षिक संघसंस्थामा पठनपाठनको सान्दर्भिकतालाई महत्व दिनुपर्दछ । आफ्नो आसेपासेलाई पोस्ने गरी होइन कि योग्यता पहिचान गरी उपयुक्त व्यक्ति, संघसंस्थालाई समावेश गरिनुपर्दछ । मैले माथि नै भने प्रथम इच्छाशक्ति तत्पश्चात् इमान्दार प्रयासको आवश्यकता छ । नेपाली लोककलाको भविष्य धेरै उर्वर तथा उज्वल छ, किन नहोस् लोककला नै हाम्रो मौलिक कला हो ।

० तपाईंले मधेशका विषय मात्र नभई काठमाडौं उपत्यकाका ऐतिहासिक, सामाजिक, पुरातात्विक, विषय समेटनुको कारण ?
–तीन दशकको कला यात्राको क्रममा निरन्तर मेरा कलाकृतिमा समयसापेक्ष विषय समावेश हुँदै आएका छन् । यसैक्रमको विगत सन् २०१६ मा ‘कल्पवृक्ष’ शृंखलामा संविधान जारी, मधेस आन्दोलन, महाभूकम्प जस्ता विषयमा केन्द्रित रही चित्र बनाएको थिएँ । ती विषयलाई मिथिला शैलीमार्फत उठान गर्ने मेरो प्रयास निकै सफल पनि भयो । तत्पश्चात् त्यसैको निरन्तरको कडीका रूपमा १६औँ एकल कला प्रदर्शनी पनि ‘मिथिला कस्मस सङ्स अफ इन्नोसेन्स एन्ड एक्सपिरिएन्स’ को कथामा काठमाडौं उपत्यकाको सभ्यता र संस्कृतिलाई प्रस्तुत गर्ने जमर्को गरेको हुँ । यसो भनिरहँदा बिगँ्रदै गइरहेको वातावरणीय सन्तुलन, भूकम्पपछि तहसनहस तथा हाम्रा सम्पदा, नदीनालाको दोहन तथा बिग्रदै गएको अवस्था, काठमाडौं उपत्यकाको ऐतिहासिक, पुरातात्विक महत्व र मिथिलासँगको सम्बन्धलगायतका विषय मेरा कलाका प्रमुख विषयका रूपमा आएका छन् ।

आज पनि काठमाडौं खाल्डोका विभिन्न मठ–मन्दिरमा गाइने सयौं वर्ष पुरानो विद्यापतिका मैथिली भजनहरू, मैथिलहरूमा भोलाबाबा यानी कि पशुपतिनाथ दर्शनको आकर्षण, शक्तिपीठ गुहेश्वरी (सति गौरीका लोककथाहरू), नेवारी र मैथिलका सांस्कृतिक समन्वयताको कथा खोतल्दै गएपछि यो शृंखला यसरी जनसमक्ष प्रस्तुत गरिएको हो । हामीलाई कला संस्कृतिले जोड्दछ । आज हाम्रो देशको माग पनि यही हो । कलाकार चुप बस्न सक्दैन ।

० निजगढमा विमानस्थलका नाममा जंगल विनाशको विषयलाई लिएर समेत तपाईंले चित्र बनाउनुभएको छ यसले विकासलाई प्रभाव पार्दैन ?
– रोचक प्रश्न । विकास के हो ? बहस हुनै पर्दछ । जवाफ मेरो चित्रमा नै छ । विगतको कीर्तिपुर र वर्तमानको कीर्तिपुर दुई चित्र जनसमक्ष छ । ग्यालरीमा यी दुई चित्र हेर्दै गर्दा अवलोकनकर्ता निःशब्द भएको पाएको छु । हामीले छुट्टयाउन सक्दैनौँ, विकास र आवश्यकता यी दुई फरक विषयवस्तु हुन् । हाम्रा योजनाकारले प्रष्टयाउन नसकिरहेको अवस्था मैले अनुभव गरेको छु । हामीभित्रको प्रश्न हो के विकास भनेको यही नै हो ? विकासको नाउँमा ४०÷५० वर्ष पहिले पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनाउँदा म लहान विद्यालयमा पढदै थिएँ । विकासको नाउँमा मेरो अगाडि व्यापक रुख काटिएको थियो । जुन आजसम्म बिर्सन सकेको छुइन् । परिणाम आज मधेसको समस्या मधेसबाट मधेसी नै विस्थापित हुने अवस्था सिर्जना भइरहेको छ । आज आएर बसाइसराइको राजनैतिक हल हामीले खोज्दैछौँ । यो कुरा मेरो अर्को चित्र ‘एनसिएन्ट कस्मस’ ले प्रष्ट्याएको छ । हाम्रा योजनाकारहरूबाट पहिले समस्या सिर्जना गरी आफ्नो दुनो सोझ्याउन राजनीतिको नाममा हल खोज्नतिर लाग्ने गरेको मेरो अनुभव रहेको छ । के हामी त्यहाँ इमान्दार छौँ ? निजगढ विमानस्थलको नाउँमा २४ लाख रूख काटनुले धेरै प्रश्न उब्जाएको छ । तराईं अन्नको भण्डार हो । त्यसमा हामी सम्पन्न पनि छौँ । जहाँ कृषि छ त्यहीँ संस्कृति पनि बाँचेको छ । जंगल छ र आज हामी सम्पन्न छौँ । यो बहसको विषय हुन सक्दैन र ? हामीलाई विमानस्थल पनि चाहिएको छ, हामी पुनर्विचार गर्न सक्छौँ इमान्दार भएर ।

० मिथिला कलालाई समय सापेक्ष बनाउन के गर्नुपर्ला ?
–मिथिला कलामा हुँदै गरेको कला गतिविधिलाई अझ बढाउनुपर्दछ । कुनै पनि चीजको व्यवसायीकरण राम्रो हो तर अति व्यवसायीकरण पनि कहिलेकाँही हानिकारक हुन जान्छ । त्यसमा हामी कलाकार सतर्क हुनुपर्छ । यसमा आजको सन्दर्भमा स्थानीय तह र प्रादेशिक सरकारको भूमिका बढ्दै गएको अनुभव गरेको छु । मिथिला कलाको मात्र होइन, सम्पूर्ण विविधता बोकेको नेपाली कलाले प्रादेशिक पहिचान दिन सक्षम छ । त्यसैले, प्रत्येक ठाउँको विशिष्टतालाई उजागर गरी सम्पन्नतातिर उन्मुख गराउँछ । स्थानीय स्तरमा समेत प्रज्ञा प्रतिष्ठानको विकास गर्दै जानुपर्दछ । केन्द्रीय तथा प्रादेशिक सरकारबीचको समन्वयता हुनुपर्दछ । कला, संस्कृति आजसम्म अनुत्पादक श्रोतमा दर्ज हुँदै आएको जनभाव परिवर्तित हुनेक्रममा छ । तसर्थ, प्रादेशिक सरकारले आफ्नो विकास बजेट कला, संस्कृतिलाई संविधानले किटान गरेको प्रतिशत छुट्टयाई इमान्दारीपूर्वक खर्चसमेत गर्नुपर्दछ । प्रादेशिक स्तरमा ग्यालरी, संग्रहालय आदिको निर्माण तथा सञ्चालनको आवश्यकता छ । कलाले बहस ल्याउँछ । बहसले समाजलाई सभ्य बनाउन निर्देशित गर्छ । निर्देशनले अनुशासित बनाउँछ । अनुशासनले समृद्धितिर डो¥याउँछ । कलालाई समय सापेक्ष बनाउन यिनै कुराहरूमा नै ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया