काठमाडौं । हेलिकोप्टर दुर्घटनामा बुधबार मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरले बुधबार नै डोरीमा झुण्ड्याएर चार शव सुकेटार विमानस्थलमा ल्याएको थियो । थप शब ल्याउन मौसम प्रतिकुल भएपछि बिहीबार बिहान थप तीन शव पनि सेनाले सुकेटार ल्याइएको हो ।
विमानस्थल क्षेत्रमा पुनः मौसम बिग्रेको छ । यसले गर्दा शव काठमाडौँ पठाउन मौसममा सुधार नआउन्जेलसम्म पर्खनुपर्नेछ । सबै शवको विमानस्थलमा मुचुल्का गरी आजै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । त्यहाँबाट शव काठमाडौँ ल्याएपछि श्रद्धाञ्जलीको लागि राखीने छ । मन्त्री अधिकारीको आज बिहिबार नै राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।
मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको हो । दुर्घटनामा मन्त्रि अधिकारीसंगै प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, हेलिकप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको पनि निधन भएको छ ।
प्रतिक्रिया