बूढीगण्डकी जलविद्युत् द्रूतगतिमा अघि बढ्छ: अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका ७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताए ।

म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो, उनले भने, “केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्णरूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुअब्जा वितरणको काम ठिक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको अध्यक्ष दाहालले बताए । यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र होइन, दाहालले भने, “यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्छ ।

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुअब्जा वितरणको कामलाई अघि बढाएको दाहालले बताए । गाउँघर तथा शहरको घर र जग्गाको मूल्यको उचित मूल्याङ्कन सरकारले गर्छ, अध्यक्ष दाहालले भने, “डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ । विशेषगरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे क्षेत्रको मुआब्जा निर्धारण बाँकी रहेको भन्दै उनले अब त्यसको पनि टुङ्गो लाग्ने बताए ।

अध्यक्ष दाहालले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गरे । बूढीगण्डकी जलविद्युत् आयोजनाले देशलाई आर्थिक समृद्धितर्फ लैजान योगदान पुर्याउने भएकाले यस्ता खालका राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथामिकतामा राखेर काम अघि बढाउने उनको भनाइ छ ।

उनले आफूले विगतको १० वर्ष भूमिगत आन्दोलनमा बिताएको र त्यसपछिको १० वर्ष शान्ति र संविधानका लागि बिताएको भन्दै अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउने बताए । सरकार गठन भएको एक वर्षको अवधिमा जनताको अपेक्षाअनुसार काम हुननसकेकाले अब नयाँ नीति तथा कार्यक्रममार्फत निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पूरा गरेर अघि बढ्ने दाहालले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया