देश समृद्धिको नयाँ युगमा प्रवेश गर्यो: अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा उनले वर्तमान सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माणको काम गरेको भन्दै अब विकासले गति लिने बताए ।

उनले अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने दाबी गरे । यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो”, अध्यक्ष दाहालले भन्नुभयो, ”हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको आकाङ्क्षा पूरा हुने गरी ल्याउँनेछौँ ।

सरकारले ल्याउने आगामी आवकोे बजेटमार्फत पार्टीको चुनावी घोषणापत्रअनुसार वृद्धाभत्ता बढाउनेमा आफूहरु प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नेपाली जनताले आफ्नै सरकारको अनुभूति गर्ने गरी काम गर्न नसकेको सत्य हो, तर अब त्यसो हुँदैन, उनले भने, “अब ल्याउने नयाँ कार्यक्रममा जनताका महत्वकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।

पूर्वाधार विकासका निम्ति योजना बनाउने धेरै राम्रा काम सरकारले अघि बढाएको बताउँदै अध्यक्ष दाहालले केही कमी कमजोरीका बाबजुद पनि बिस्तारै विकासको कामले गति लिएको उल्लेख गरे । दुई तिहाइको सरकारले भष्ट्राचार अन्त्य गरिहाल्ला, विकासका काम तुरुन्त अघि बढाउला भन्ने जनतामा तीव्र चाहना थियो, ती कामहरु छिटो छिटो हुन नसकेको हामीले पनि अनुभूति गरेका छौँ, ”उनले भने ।

अध्यक्ष दाहालले सरकारले बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम घोषणा गरिसकेको भन्दै त्यसबाट जनतामा बिस्तारै आशा पलाउँदै गएको बताए।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २४औँ स्मृतिसभामा समेत सहभागी हुन गोरखा पुगेका अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अझै केही काम गर्न बाँकी रहेको बताए।

अध्यक्ष दाहालले जनयुद्धभन्दा पनि अहिलेको राजनीतिक युद्ध बढी चुनौतीपूर्ण रहेको बताउँदै नेकपाले नेपाली राजनीतिलाई नयाँ चरणमा अघि बढाएको उल्लेख गरे । उनले नेपाली राजनीतिले सबै घेरालाई तोडेर संविधान निर्माण गरेको भन्दै अब विकास र समृद्धिका पनि जस्तोसुकै चुनौतीको समाना गर्न तयार रहेको बताए ।

प्रतिक्रिया