कामको बोझले चुनौतीे थपिएको छ

धवलशमशेर राणा नगरप्रमुख, नेपालगञ्ज उपमहानगरपालिका

२० वर्षअघि ०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज नगरपालिकामा मेयर निर्वाचित डा.धवलशमशेर राणा ०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रोपटक फेरि राप्रपाका तर्पmबाट मेयरमा निर्वाचित भए । पहिलोपटक मेयर हुँदा नेपागञ्जको विकास निर्माणमा उल्लेखनीय काम गरेकै कारण स्थानीय चुनावमा राप्रपा देशभर असफल भएकोे अवस्थामा पनि नेपालगञ्जका दिग्गज उम्मेद्वारहरूलाई पराजित गर्दै उनले चुनाव जिते । नेपालगञ्ज नगरपालिकाबाट उपमहानगरपालिका भएको छ । राप्रपाका महामन्त्रीसमेत रहेका राणा सांसद जितेर केन्द्रमै मन्त्री हुनसक्थे तर त्यसको पहल गरेनन् । अन्यत्र गएर राजनीति गर्नुभन्दा आफ्नै स्थानीय गाउँ, ठाउँ र सहरको विकास गर्न जति आनन्द छ, ‘मन्त्री पदमा कहाँ हुन्छ भनी बताउने नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणासँग सौर्य दैनिकको लागि नेपालगञ्जको समृद्धि र विकासमा केन्द्रित रहेर गरिएको संवादः

तपाईं राप्रपाको महामन्त्री, चुनाव लडेर मन्त्री नै बन्न सक्नुहुन्थ्यो । किन मेयरमै ?
-पदसँग मलाई केही लिनुदिनु छैन । जहाँ रहे पनि इमानदारपूर्वक काम गर्ने हो । मन्त्री हुनुभन्दा त यही ठीक छ नि ! पाँच वर्षसम्म आफ्नो ठाउँमा बसेर यहाँको विकास गर्न पाइयो । यसको आफ्नै किसिमको रमाइलो र महत्व छ ।

समृद्ध नेपालगञ्ज बनाउनका लागि तपाईंको योजनाहरू केके छन् ?
-नेपालगञ्ज मध्य तथा सुदूरपश्चिमको केन्द्रबिन्दुको रूपमा रहेको सहर हो । नेपालगञ्जलाई समृद्ध बनाउनका लागि मुख्यगरी चार÷पाँच वटा विषयहरू छन् । नेपालगञ्ज शिक्षा, स्वास्थ्य, उद्योग वाणिज्य लगायतका क्षेत्रमा मध्य तथा सुदूरपश्चिमको हबको रूपमा रहेकोले यहाँको बृहत्तर विकासका लागि यिनै चार वटा विषयमा केन्दित रहेर अगाडि बढिरहेका छौँ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा उद्योग वाणिज्यलाई समयानुकूल प्रविधियुक्त गर्दै पर्यटकीय क्षेत्रमा पनि आधुनिकीकरण गरिरहेका छाँै । नेपालगञ्ज क्यासिनो सिटीदेखि लिएर मानसरोवरका यात्रुलाई लक्षित गरी पूर्वाधारलगायत तयार गरी नेपालगञ्जलाई समृद्धितर्फ उन्मुख गराउन तत्पर छौँ ।

नेपालगञ्ज क्षेत्रलाई चिनाउने खालका पर्यटकीय स्थलहरू के–के छन् । त्यसमा के–के काम भइरहेका छन् ?
-नेपालगञ्जलाई चिनाउने खालका दुई किसिमका पर्यटकीय क्षेत्र छन् । एउटा आन्तरिक पर्यटन छ भने अर्काे बाहृय पयर्टन । आन्तरिक पर्यटनमा बागेश्वरी मन्दिर, जुंगेश्वर महादेव, बाटर पार्क, महेन्द्र पार्क, महेन्द्र पार्क भित्रको चिडिया घर, रानी तलाउ, कान्ति तलाउ, ढकेरी बालउद्यानलगायत रहेका छन् भने वडा–२३ हिरमिनियामा आधुनिक पिकनिक स्पोर्ट बनाइरहेको छाैँ ।

त्यस्तै गरी कान्ति तलाउमा ठूलै बजेट लगानी गरेर मनमोहक बनाउने काम भइरहेको छ । बाहृय पयर्टनका रूपमा जिल्ला बाहिर रहेका मानसरोवर, रारा, फेवा, रिन्मो, जुम्ला, हुम्लामा रहेका पर्यटकीय स्थल, स्वर्गद्वारी लगायतका क्षेत्रमा पर्यटकहरू जाँदाआउँदा नेपालगञ्ज भएर जाने आउने र वास बस्ने भएको हुनाले सो कुरालाई मध्य नजर गरी नेपालगञ्जमा पर्यटक भित्र्याउन नेपालगञ्जमा सुविधा सम्पन्न फाइभस्टार होटेल सञ्चालनदेखि लिएर सात वटा क्यासिनोसमेत सञ्चालन गर्ने कार्य दु्रत गतिमा अगाडि बढिरहेको छ ।

तपाई दोस्रोपटक मेयर पदमा जित्नुभयो, दोस्रो कार्यकालको पनि झन्डै दुई वर्ष पुग्नै लाग्यो, अहिलेसम्म केके काम भए त ?
-निर्वाचित भएको पहिलो वर्षको अधिकांश समय त नियम कानुन बुभ्mन र कार्यालय व्यवस्थापनमै लाग्यो तै पनि सन्तोषजनक काम भएको छ यो अवधीमा नगरभित्र ३०÷४० किमी सडक पिच भइसकेको छ । नेपालगञ्जलाई नै डुबाउने खालका अव्यस्थित ढल निकास व्यवस्थित भइसकेको छ । बाँकी रहेको टोलटोलमा सडक र नालीहरू बन्दै छन् । सहरभरि बिजुली बत्तीको काम सम्पन्न भइसकेको छ । अधिकांश वडाका चिल्ड्रेन पार्क बनाइएको छ ।

सहरका हरेक टोलमा बिजुली बत्ती पु¥याइसकिएको छ । सहरलाई स्वच्छ र सफा राख्न बृहत् सरसफाई अभियान सञ्चालन गएिको छ । शौचालय नभएको स्थानमा घुम्ती शौचालयको व्यवस्था गरिएको छ । ल्यान्डफिल साइट तथा आधुनिक बसपार्कको निर्माणकार्य अन्तिम चरणमा छ । डेढ वर्षमा नेपालगञ्जको चौतर्फी विकास भएको छ । दुई वर्ष पुग्न बाँकी रहेको महिनाभित्र नेपालगञ्जमा कम्पलिटली सडक संजालको विकास हुन्छ ।

तपाईंले सोच्नुभएको काम मध्ये गर्न बाँकी के–के कामहरू छन्जस्तो लाग्छ ?
-योजना गरिएका मध्ये केही बाटो घाटो र नालीको काम बाँकी छ, जुन हुँदै छ । मुस्लिम र मधेसी महिलाहरू जो बुर्का र पर्दा प्रथाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ, त्यस्ता छात्राहरूका लागि कन्या कलेज बनाउने कुरा थियो त्यसको लागि पनि आठ करोड बजेट विनियोजन गरी डिपिआरसमेत तयार गर्न लगाई ठेक्कामा बनाउने तयारीसमेत भइसकेको छ । यति राम्रा कामहरू गरेर म सन्तुष्ट छु । लोकतन्त्र छ काम गर्ने क्रममा केही ढिलासुस्ती हुनु स्वाभाविक हो तर काम अवस्य हुन्छ ।

पाँच वर्षपछिको नेपालगञ्ज कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
-नेपाली परिवेश सुहाउँदो, सुन्दर, शान्त समृद्ध र विकसित सहर बनाउने परिकल्पना छ । स्मार्ट सिटी बनाउने सोचले एप्सको पनि विकास गरिसकेका छौँ । सरसफाई अभियानमार्फत स्वच्छतामा अग्रणी सहर बनाउने परिकल्पना रहेको छ ।

बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसाउँदा राम्रो हुने पैरवी गर्दै हुनुहुन्छ, यसका सबल पक्षहरू के–के हुन् ?
-प्रदेश विभाजन गर्दा वैज्ञानिक ढंगले गरिएन बाँके बर्दियाको लागि बुटवल कुनै पक्षमा पनि उपयुक्त छैन । तर, कर्णालीमा मिसिने हो भने बाँके बर्दियाका मधेसी, मुस्लिम र थारू समुदायलाई आरक्षणदेखि लिएर हरेक कुरामा राम्रो अवसर हुन्छ भने कर्णालीले भारतको प्रवेश द्वार पाउँछ र हामीले चाइनाको । यति मात्र नभएर नेपालगञ्ज मध्यपश्चिम र सुदूरपश्चिमको प्रमुख सहर भएको हुनाले कर्णालीसँग हाम्रो व्यापार, आर्थिक लेनदेन र जडीबुटी व्यवसाय लगायतको सम्बन्ध जोडिएको छ भने कर्णाली पनि एउटा खाद्यान्नकाृ भण्डार र व्यापारिक स्थलको रूपमा बाँके, बर्दिया पाएर कर्णाली देशकै एउटा नमुना प्रदेश बन्न सक्छ ।

समृद्ध नेपालगञ्जको चुनौतीहरू के–के हुन सक्छन् ?
-खासै चुनौती देखिएको छैन । सबै पक्षबाट सहयोग पाइरहेको छु, समृद्ध नेपालगञ्ज बनाउन जनताले मजाले सहयोग गरेर निर्वाचित गराइदिनुभएको छ । समृद्ध नेपालगञ्ज बनाउन सबै पार्टी, पार्टीका प्रतिनिधिबाट आवस्यक सहयोग पाइरहेको छु । तर, संविधानले व्यवस्था गरेअनुसार अहिले शिक्षा, स्वास्थ्य, पशु, कृषि, निर्माण, वन, वातावरणदेखि लिएर विकास निर्माणका तमाम कामहरू स्थानीय तहले नै गर्नुपर्ने भएकोले कामको बोझले अलि चुनौती भने थपिएको छ, कामको चापले ढिलासुस्ती हुने मात्रै हो तर समृद्ध नेपालगञ्ज बनाउने काम तीव्र रूपमा अगाडि बढिरहेछ ।

कामै भएको छैन भनेर असुन्तुष्टि पोख्नेहरू पनि छन नि ! के भन्नुहुन्छ त्यसको बारेमा ?
-यस्तो भन्ने साथीहरू बाहिर बजारमा गएर हेरे हुन्छ, सडक, नाला ढल लगायतको काम भएको छ कि छैन, बिजुली बत्तीमा काम भएको छ कि छैन, पार्कहरू बनेका छन् कि छैनन्, सरसफाइ छ कि छैन, शान्ति सुरक्षा छ कि छैन, काम आफैँ बोल्छ मेलै केही भन्नु पर्दैन ।

प्रतिक्रिया