दीर्घकालीन गुरुयोजना बनाएर विकास गर्नु आवश्यक छ

हरिसिंह साउद, प्रमुख गोदावरी नगरपालिका, कैलाली

सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा चिनिन्छ गोदावरी नगरपालिका । कैलालीका १३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकापछि आर्थिक स्रोत भएको नगरपालिका हो गोदावरी । १२ वडा रहेको यो नगरपालिकाभित्र विकट ग्रामीण बस्तीका साथै पडाडी क्षेत्रसमेत छन् । नगरपालिकालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिने थुप्रै आधार तथा स्रोत छन् । प्राकृतिक स्रोतसाधन र धार्मिक पर्यटकीयस्थल गोदावरीधाम नगरपालिकामा पर्छ । गोदावरी नगरपालिकाको विकासको अवस्था, सम्भावना, चुनौतीलगायत विषयमा नगरप्रमुख हरिसिंह साउदसँग सौर्यकर्मी मीन ठकुरीले गरेको कुराकानीका सम्पादित अंशः

तपाईं नगरप्रमुख भएर आइसकेपछि गोदावरी नगरपालिकाकाका जनतालाई अनुभूति हुनेगरी विकास निर्माणका काम कसरी गरिरहनुभएको छ ?
-हरेक स्थानीय तहले झन्डै दुई दशकपछि निर्वाचित जनप्रतिनिधि पाएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको मात्र डेढ वर्ष भएको छ । जनताकै काम गर्न जनप्रतिनिधि आएका हुन् । जुन उद्देश्यका साथ हामी आएका छौँ, त्यो उद्देश्य पूरा गर्न हामी प्रयत्नरत छौँ । जनताका आवश्यकता पूर्ति गर्न लागिपरेका छौँ । जनताका इच्छा, चाहना र आवश्यकता पूरा गर्न हामी विभिन्न कार्ययोजना बनाएर अघि बढेका छौँ । भौगोलिक रूपमा विकट ४ र १२ वडामा स्वास्थ्य सेवा क्लिनिक नै सञ्चालन गरेर सेवा दिन सुरू गरेका छौँ ।

यद्यपि, समस्या धेरै छन् । तर, सीमित स्रोतसाधनका बाबजुद पनि पूर्ति गर्ने प्रयास गर्दै छौँ । विद्युत्, खानेपानी, बाटोघाटो स्वास्थ्य सेवा र सडकलगायत जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरिएको छ । हामी जनप्रतिनिधिका रूपमा आइसकेपछि कामै नभएको भन्ने होइन, तर जनताको मागअनुसार काम गर्न नसकेको हो । चालु आवका लागि ८२ करोडको अनुमानित बजेट निर्माण गरेका छौँ । त्यसको कार्यान्वयन यो समावधिसम्म राम्रो नै छ ।

जनताको आवश्यकताअनुसार योजनाहरू भएनन् भन्ने गुनासो छ नि ?
-जनताका आवश्यकता अनुसार नै योजना छनोट गरिँदै आएका छन् । कतिपय योजना एक वर्षका लागि हुन्छन् भने कतिपय बहुवर्षीय हुन्छन् । बहुवर्षीय योजनाको लाभ तुरुन्तै पाउन सकिँदैन । त्यसका लागि समय लाग्छ नै । बहुवर्षीय योजनाका लागि हामी गुरुयोजना बनाएर अघि बढ्न चाहन्छौँ । गोदावरीमा क्षेत्रीय सहरी विकास आयोजना पनि लागू भएको छ ।

गोदावरी नगरपालिकाको भवन, सडक निर्माण तथा फोहोरमैला व्यवस्थापनको काम हुँदै छ । नगरपालिकाको दीर्घकालीन विकासका लागि कम्तीमा सय वर्षलाई लक्षित गरी नगरपालिकाको गुरुयोजना बनाउन लागेका छौँ । चालु आवमा गोदावरीको गुरुयोजनाका लागि बजेट विनियोजन गरेका छौँ । त्यस्तै अत्तरिया बसपार्कलाई क्षेत्रीय बसपार्कको रूपमा विकास गर्न डिपिआर निर्माणको तयारीमा छौँ । यसमा हामीलाई भोगाधिकारको समस्या छ । लगानीको तयारी भए पनि जग्गा भोगाधिकारमा समय लाग्ने देखिन्छ ।

नगरमै रहेको तामितालको डिपिआर तयार पारिसकेका छौँ । त्यसका लागि ३६-३७ करोड आवश्यक पर्छ । कतिपय योजना दीर्घकालीन बनाएका छौँ भने कतिपय एक वर्षे छन् । त्यसकारण बहुवर्षीय विकासको अनुभूति नगरवासीले तत्कालै गर्न नपाएका हुन् । योजना छनोटका क्रममा सबैसँग छलफल गरेर योजना छनोट, सम्झौता र बजेट ल्याएका हौँ ।

गोदावरी नगरपालिकामा भएका सम्भावनाहरू के के छन्, बताइदिनुस् न ?
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नै तोकिएको छ । यस क्षेत्रकै प्राकृतिक एवं धार्मिक महत्वको प्रमुख तीर्थस्थल गोदावरीधाम यहीँ छ । हामी क्षेत्रीय बसपार्क बनाउँदै छौँ । तामिताललाई प्रदेशकै नमुना तालको रूपमा विकास गर्ने भनेका छौँ । तराई, चुरेक्षेत्र र पहाडी क्षेत्र हामीसँगै छ । सम्भावना थुप्रै छन्, ती सम्भावनालाई यथार्थ रूपमा बदल्नसके गोदावरी नगरपालिका सम्पन्न नगरपालिकाका रूपमा देखिन्छ ।

गोदावरीमा देखापरेका समस्या के के हुन् ? समस्या समाधानका लागि के पहल गर्दै हुनुहुन्छ ?
प्रदेशकै प्रसिद्ध धाम गोदावरी क्षेत्रको विकास गर्न समस्या देखिएको छ । उक्त क्षेत्रको विकासका लागि भनेर धेरै ससाना समिति गठन भएका छन् । एकअर्काबीच समन्वय हुन सकेका छैनन् । धेरै समिति नभएर एउटै, तर बलियो समिति बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । छिमेकी नगरपालिका तथा गाउँपालिकालाई पनि अपनत्व हुनेगरी त्यस्तो समिति बनाउन जरुरी छ र त्यसका लागि म आवश्यक पहल गरिरहेको छु । गोदावरी क्षेत्रको भूभाग दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

गोदावरीदेखि चुरेको टापुसम्म केबुलकारको संभावना धेरै छ । त्यसका लागि योजना हामीसँग तयार छ । कुनै निजीक्षेत्रलाई लामो समयका लागि सम्झौता गरेर केबुलकार सञ्चालन गर्नसके राम्रो हुन्थ्यो भन्ने मलाई लागिरहेको छ र म त्यसका लागि पहल गर्दै छु । नगर क्षेत्रभित्र भूूमि व्यवस्थापनको निकै समस्या छ । ऐनका कारण भूमि व्यवस्थापन गर्न नसक्नु ठूलो चुनौतीको रूपमा देखिएको छ । त्यसका लागि पनि आगामी दिनमा नगरपालिका निरन्तर पहलकदमी गर्दै अघि बढ्नेछ ।

जनताको आयस्रोतको ख्यालै नगरी कर बढायो भन्ने गुनासो छ नि ?
म जहिले पनि दीर्घकालिन योजना बनाएर अघि बढ्यो भने त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने पक्षमा छु । दीर्घकालीन योजनाको खाका बनाएर अघि बढ्न सक्यो भने त्यसले सार्थक रूप लिन्छ । मेरो कार्यकालमा विकासको अनुभूति हुन नसके पनि पछि आउने जनप्रतिनिधिले त्यसैमा टेकेर काम गर्न सजिलो होस् भन्ने मेरो मनसाय छ । विकासको खाका तयार गरेर अघि बढ्यो भने काम गर्न सहज हुन्छ । जहाँसम्म करको कुरा छ, राजस्व परामर्श समिति हामीसँग छ । समितिले मालपोतको आधारमा कर निर्धारण गरेकाले समस्या देखिएको छ । हामीलाई पनि यो असहज भएको छ । नगरपरिषद्बाट पारित भइसकेको विषयलाई बीचमा आएर घटाउन मिल्ने अवस्था पनि देखिँदैन । जनगुनासोलाई सम्बोधन गर्न अब अर्को वर्ष घटाउने भन्ने निर्णयमा हामी पुगेका छौँ । करवृद्धिले केही समस्या आएको अनुभूति मैले पनि गरेको छु । अर्को नगरसभाबाट हामी कर घटाउँछौँ ।

प्रतिक्रिया