संघले स्थानीय सरकारलाई स्वतन्त्रता दिनुपर्छ

दिलमाया बुढामगर कोषाध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ, अध्यक्ष कुमाख गाउँपालिका सल्यान

कर्णाली प्रदेशकै एक्ली महिला गाउँपालिका अध्यक्षको रूपमा रहेकी सल्यानको कुमाख गाउँपालिकाकी अध्यक्ष दिनमाया बुढा मगर गाउँपालिका महासंघकी केन्द्रीय कोषाध्यक्षसमेत् हुन । ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष बनेकी बुढा मगर ०५४ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा भूमिगत भएकी थिइन् । ०३५ सालमा पूर्र्वी रुकुमको चौरजहरीमा जन्मिएकी बुढा ०५५ सालमा सल्यानको कालागाउँमा विवाह गरेकी थिइन् । सहिद परिवारकी बुढामगरले विवाह भएको एक वर्षमै पति गुमाइन् । चुनाव भएको झन्डै डेढ वर्ष बित्नै लाग्दा डेढ वर्षको अवधिमा जनतासँग गरेका वाचा के कति पूरा भए र वाचा पूरा गर्न के कति बाधा आइपरे भन्ने सन्दर्भमा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरसँग सौर्यकर्मी मीना बुढाथोकीले गरेको कुराकानी

कार्यकालको आधा सयम बित्नै लाग्यो, चुनावी वाचा कति पूरा गर्नुभयो ?
स्थानीय तहको निर्वाचनको समयमा जनतासँग अस्वभाविक र पूरा गर्न नै नसकिने वाचा तथा प्रतिवद्धता व्यक्त गरेका थिएनौँ । जनताका जनजीविकासँग जोडिएका विषयलाई हामीले पहिलो प्राथमिकता दिएर चुनावको समयमा जनताको घरदैलोमा पुगी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँ । ती प्रतिवद्धता केही पूरा भएका छन् भने केही हुने अवस्थामा छन् । हाम्रो कार्यकाल ३१ वैशाखमा दुई वर्ष पुग्दै छ । यो बीचमा हामीले खास चुनावको प्रतिबद्धताको सन्दर्भमा पहिलो वर्षमै बिजुली, गाउँपालिकाको कार्यालय रागेचौरमा पुर्याउने कुरा थियो त्यो हामीले पूरा गर्यौ । र, यसै वर्षको अन्त्यसम्म गाउँपालिकाको प्रत्येक वडा कार्यालयमा बत्ती पु¥याउने हाम्रो योजना रहेको छ ।

यस्तै जनतासँग गरिएको अर्को प्रतिवद्धता थियो स्वास्थ्यमा पुहँच पुर्याउनु । जुन प्रतिवद्धता पनि हामीले पूरा गरेका छौँ । हाम्रो गाउँपालिकाका चार स्थानमा स्वास्थ्य इकाइ गठन गरिएको छ । शिक्षाको क्षेत्रमा निष्पक्ष ढंगले परीक्षा गराएर मावि र निमाविमा शिक्षकको व्यवस्थापन गरेका छौँ । साथै सडक निर्माण कार्यलाई तीव्रता दिँदै सल्यान खलंगादेखि कुमाख गाउँपालिकाको रागेचौरसम्म बाह्रै महिना गाडी चल्नसक्ने बाटो बनाएका छौँ । यहाँको दुर्गम बस्तीहरूमा जहाँ खानेपानीको निकै समस्या, पानी ल्याउने कुनै स्रोत थिएन त्यस्तो ठाउँमा लिफ्ट सिस्टमबाट पानी पु¥याएका छौँ ।

यो गाउँपालिकालाइ समृद्ध गाउँपालिका बनाउन सुखी गाउँपालिका बनाउन र आत्मनिर्भर गाउँपालिका बनाउनका लागि पनि हामी लागिपरेका छौँ । यस्तै १५ शय्याको अस्पताल निर्माण गर्नका लागि हामीले आप्mनै साधन स्रोतबाट भवन बनाएर ३१ वैशाखमा १५ शैय्याको भवन उद्घाटन गर्ने प्रक्रियामा छौँ । त्यसकारण हामीले जनतासँग गरेका वाचाहरू पूर्ण रूपमा पूरा नभए पनि चरणबद्ध रूपमा पूरा गर्ने कोशिसमै छौँ । जनतालाई प्रदान गरिने सेवाहरू चुस्तदुरुस्त गरेका छौँ ।

भौतिक संरचना र देखिने खालका विकासबाहेक आमजनताको जीवनस्तर उकास्न केके काम गर्नुभयो ?
अब खास हामीले आमजनताको जीवनस्तर उकास्नका लागि मुख्य कुराचाहिँ आर्थिक विकास हो । आर्थिक विकास नगरिकन हामीले परिवर्तन ल्याउन सक्दैनौँ । आर्थिक विकास गर्नका लागि र जनताको चेतनास्तर माथि उकास्न र आयस्रोत वृद्धि गर्नका लागी उत्पादनसँग जनतालाई जोड्ने कार्यक्रम हाम्रो छ । त्यो उत्पादनसँग जोड्नका लागि विशेष गरीे कृषिलाई फोकस गरेका छौँ । कुमाख गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने एजेन्डा भनेको यहाँको आन्तरिक स्रोत साधनलाई बढीभन्दा बढी प्रयोगमा ल्याई जनशक्तिको अधिकतम प्रयोग हो । कृषि, पशु र पर्यटनको माध्यमबाट नै यस गाउँपालिको आमजनताको जीवनस्तर उकास्न सकिन्छ भन्ने हामीलाई लागेको छ ।

यो गाउँपालिका भनेको अन्नको भण्डार भएको गाउँपालिका हो । कृषिलाई मात्र हामीले पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्यौँ भने यो गाउँपालिका समृृद्ध हुनेछ र हामी त्यसलाई जोड दिँदै छौँ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको कुमाख लेकमा पर्यटक भित्र्याउन सक्याँै भने पनि यो गाउँपालिका समृद्ध गाउँपालिका बन्न सक्छ । यहाँको श्रमशील जनशक्तिलाई कृषि र पशुमा आकर्षित गर्न जरुरी छ । र, हामी यस कार्यमा लागेका पनि छौँ । यो गाउँपालिका भनेको अन्नको भण्डार भएको गाउँपालिका हो । यसर्थ यस गाउँपालिकालाई हामी अग्र्यानिक गाउँपालिका बनाउन लागिपरेका छाैँ ।

प्रदेश सरकारले पनि यस गाउँपालिकालाई अग्यार्निक गाउँपालिका बनाउन एक करोड लगानी गरेको छ । हामीले पनि गाउँपालिकाबाट ५५ लाख विनियोजन गरेर आमजनताको घरघरमा ‘एक घर एक टनेल’ भन्ने नाराका साथ हामीले करिब १ सय ५० घरधुरीहरूलाई टनेल वितरण गर्ने काम गरेका छौँ । तरकारी खेती गर्ने र पशुपालन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएका छौँ । आमजनताको जीवनस्तर उकास्नका लागि हामीले त्यो खालको ढोका बनाइदिएका छौँ ।

कार्यकाल सकिँदा गाउँपालिकालाई कस्तो बनाएर छोड्ने योजना छ ?
अब कार्यकाल सकिँदासम्म यो गाउँपालिकालाई शान्त, सुखी र आत्मनिर्भर बनाउने मेरो लक्ष्य रहेको छ । खासमा यो पुरुष प्रधान समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने बुझाइ र दृष्टिकोण छ त्यो दृष्टिकोणलाई चिर्नु मेरो पहिलो चुनौती हो । अवसर दिने हो भने महिलाले पनि काम गर्न सक्छन् है भन्ने बुझाउन म लागिपरेकी छु । पुरुषहरूले नगरे पनि गरे भन्ने र महिलाले गरे पनि गर्न सकेनन् भन्ने जुुन बुझाइ छ त्यो बुझाइ बदल्नु आवश्यक छ । स्वाभाविक रूपमा चुनौती हुन्छन् ती चुनौतीलाई अवसरको रूपमा लिँदै संघर्ष गर्दै अघि बढ्ने कुरा नै मुख्य विषय हो । यहाँका १० वटै स्थानीय तहभन्दा हाम्रो कुमाख गाउँपालिकाले राम्रो काम गरेर देखाउने मेरो प्रतिबद्धता छ र मेरो संकल्प पनि छ र जनाताले पनि खास महिला उम्मेदवारलाई नै जिताउनुपर्ने रहेछ भन्ने महसुस गराउन हामीले गाउँपालिकामा काम अगाडि बढाएका छौँ ।

संघीयताको अभ्यास गर्दा योजना कार्यान्वयन, निर्माण आदिमा तपाईंको अनुभव कस्तो रह्यो ?
संघीयताले गाउँमा जनतालाई प्रत्यक्ष विकास निर्माणमा टेवा दिने कुराचाहिँ सबैभन्दा राम्रो रहेको छ । विगतको भन्दा अहिले सबै स्थानीय तहहरू विकास निर्माणको सन्दर्भमा परिवर्तनचाहिँ भएका छन् । सबै जनताले प्रत्यक्ष विकास निर्माण राज्यले दियो भनेर अनुभूति गर्न पाएका छन् । मात्रै समस्या के हो भने अहिले हाम्रो संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा संघ र प्रदेशको निर्वाचनपछि हुनु र स्थानीय तहको निर्वाचन अगाडि हुँदा केही नियम कानुन प्रदेश र संघीय सरकारबाट नबाझिने गरी कानुन, ऐन, विधान अथवा कार्यविधि बनाउने जुन खालको निर्देशन भएको त्यसले गर्दा स्थानीय स्तरमा काम गर्न केही जटिलताहरू पैदा भएको महसुस भएको छ ।

प्रदेश र संघीय सरकारले कस्तो सहयोग गरेका छन् ?
संघीय सरकारले गर्ने सहयोग भनेको नीति विधिको कुरा हो । नियमको कुरा हो । संघले पूर्वाधारको सन्दर्भमा आआप्mनो क्षेत्रमा रातो किताबमा छनौट भएका कुराको आधारमा अगाडि बढाउने भन्छ । तर, अहिलेसम्म संघीय सरकारबाट यस गाउँपालिकाका जनताले जसरी लाभ लिनुपर्ने हो त्यस्तो लाभ लिन सकेका छैनन् । अलि टाढा, दुर्गम र राज्यले नजर नलगाएको जस्तो हामीले महसुस गरेका छौँ । मेरो गुनासो भनेको सबै स्थानीय तहलाई समानुपातिक हिसाबले बजेट विनियोजन गर्दा, भूगोल र जनसंख्या सबै हेरेर गर्नुपर्छ ।

स्थानीय तहको अधिकर प्रयोगमा कतै अफ्ठ्यारा अनुभव गर्नुभयो ?
अब यस्तो छ हामीलाई दिएका साझाअधिकार र एकल अधिकारहरू छन् । हामीलाई एकल अधिकार २२ वटा रहेका छन् भने साझाअधिकार १५ वटा छन् । यो एकल अधिकारहरू कार्यान्वयन गर्ने सन्दर्भमा हामीलाई अधिकार संविधानमा लिपिबद्द भयो तर कार्यान्वयनमा जाँदा संघीय सरकार र प्रदेश सरकारले हस्तक्षेप गरिरहेको अनुभूति भएको छ । हामी सबै स्थानीय तहको साझा मुद्दा भनेको हामीलाई जुन खालको एकल अधिकार प्रदान गरिएको छ यसलाई प्रयोग गर्ने सन्दर्भमा हामीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने लागेको छ ।

प्रतिक्रिया