कांग्रेस बलियो बनाउन महाधिवेशनको विकल्प छैन

डा. शेखर कोइराला, नेता कांग्रेस

सरकारले मुलुक समृद्धितर्फ गइसकेको भन्दै आएको छ । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको मुलुकमा महँगी, आतंक, दण्डहीनता बढेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाएको छ । सरकारले ठीक ढंगले काम गर्न नसकेको आरोप लगाइरहेको कांग्रेस आफू भने पार्टीको महासमितिले गरेको निर्णय कार्यान्वयन गराउनसमेत सकिरहेको छैन । यसै सेरोफेरोमा कांग्रेस नेता डा. शेखर कोइरालासँग सौर्यकर्मी चमिना भट्टराईले गरेको संवाद

सरकारले मुलुक समृद्धितर्फ गएको भनेको छ, नेपाली कांग्रेसले यसलाई कसरी हेरेको छ ? मुलुक समृद्धितर्फ गएकै हो त ?
–जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म समृद्धि र विकास हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ । संविधानसभाले संविधान बनायो र दुई तिहाइको सरकार छ मुलुकमा । राजनीतिक अस्थिरता छ । मुुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भयो । गणतन्त्रमा राजसंस्था गयो तर, अहिले राष्ट्रपतिलाई राजाजस्तै बनाउन खोजिएको छ । नेपालजस्तो देशले धान्न नै नसक्ने सेवा सुविधा दिँदै छ । अमेरिका वा विकसित मुलुकले राष्ट्रपतिका लागि सेवा सुविधा धेरै दिन सक्ला तर, नेपालजस्तो मुलुकले धान्न सक्छ कि सक्दैन ? हामीले त्यसका लागि गणतन्त्र ल्याएका होइनौँ । राष्ट्रपति सेरोमोनियल, अधिकारविहीन संस्था हो । त्यसका कारण एक व्यक्तिका लागि यति ठूलो तामझाम गर्नुपर्ने जरुरी थिएन । गणतन्त्र हामीले सोचेको जस्तो भएन । यस्तै संघीयतालाई सरकार आफैँ असफल बनाउन खोज्दै छ । अहिलेको ऐन संसद्मा पेस भएको छ त्यसमा सिडियोलाई शाक्तिशाली बनाइएको छ । त्यस्तै प्रहरी कसको माताहतमा रहने भन्ने विवाद छ । यसका विषयमा संविधानमा धेरै छलफल पनि भएका हुन् ।

त्यसो भए सरकारले गरेको काम गणतन्त्र अनुरूप छैन ?
–कयौँ काम त्यस्तै भएको छ । संघीयताको मर्मलाई सरकारले मिच्न थालेका कारण धरापमा परेको छ । बल्लबल्ल प्राकृतिक स्रोत र वित्त आयोग प्रमुख बनाएइको छ सदस्य बनाउन सकिएको छैन । देशभर कर आतंक छ । यसले संघीयताप्रति आममान्छेमा वितृष्णा पैदा गराउन खोज्दै छ सरकारले । हामी चाहान्छौँ संघीयता सफल होस् भनेर । यस्तै धर्मनिरपेक्षता भनिएको छ प्रधानमन्त्री आफैँविवादित संस्थाको कार्यक्रममा तीन दिन एउटा होटलको कोठामा बस्न बाध्य हुन्छन् । ‘होलीवाइन’ पिएर उहाँले देशको शिर निहुरि¥याउने काम गर्नुभयो ।

यो विषयलाई लिएर संसदमा झुठ बोल्नेसम्मको काम भयो । सरकार कार्यक्रममा संलग्न छैन भनेर । तर, कार्यक्रमका लागि सभामुखको लेटरप्याडसम्म प्रयोग भएको छ । यसले सरकार संघीयता, गणतन्त्र र धर्मनिरिपेक्षताका विषयमा प्रतिवद्ध भएजस्तो लाग्दैन । राजनीतिक स्थिरता मुलुकमा छ तर द्वन्द्वको घाउ अहिलेसम्म मेटिन सकेको छैन । त्यसले अहिले पनि पीडितहरू दुःखी छन्, उनीहरूले न्याय पाउने अवस्था देखिँदैन, पीडकहरूले सजाए पाएका छैनन । अन्योल देखिएको छ । यो सबै कुराले सरकारले जतिसुकै गफ गरे पनि समृद्धि र विकासका कुरा कुरामा मात्रै सीमित रहेको छ । जनताले अनुभूति गरेका छैनन् ।

देशको अहिलेको आर्थिक अवस्था कस्तो देख्नुहुन्छ ?
-सरकारले विकास र समृद्धिका कुरा त धेरै गरेको छ । तर, मुलुकमा ४० प्रतिशत वैदेशिक लगानी घटेको छ । यस्तै शोधान्तर घाटा बढेको बढ्यै छ । व्यापार घाटा बढेको छ । यस्तो अवस्थाबाट देश गइरहेको छ । तर, उहाँहरू भने समृद्धि ल्याउँछौँ विकास गर्छौं । मुलुक समृद्धिमा गइसक्यो भन्नुहुन्छ । वास्तवमा मुलुकमा राजनीतिक स्थिरता नै देख्दिनँ जस्तैः प्रधानमन्त्री डाबोर्समा भएका बेला भेनेजुएलाका विषयमा त्यही पार्टीको अर्को अध्यक्ष प्रचण्डले विज्ञप्ती निकाल्नुभयो ।

दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्ति देश चलाइसकेका मान्छेले प्रधानमन्त्री विदेशमा भएका वेला विज्ञप्ती निकाल्नुभयो । यो अपरिपक्वता वा भावनामा बगेर के हो ? यसले देश कसरी चलिरहेका छ भन्ने देखाउँछ । प्रचण्डको विज्ञप्ती, उहाँको पार्टीको विज्ञप्ती र परराष्ट्र मन्त्रालयको विज्ञप्ती एकअर्कासँग मेल खाँदैन अन्योलजस्तो देखिन्छ । जुन मुलकसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको छ त्योसँग टाडिएर जोसँग सम्बन्ध नै छैन उसका बारेमा चिन्ता लिएको देखियो । भेनेजुएलाका विषयमा अहिले नेपालले बोल्नु जरुरी थिएन ।

संविधान अनुसार दुईतिहाइको सरकार छ । यदि, यो सरकार पनि सफल भएन भने मुलुक कता जान्छ ?
-सरकार असफल भयो भने केही पनि हुँदैन । तर, हाम्रो चाहना सरकार अफल नहोस् भन्ने हो । यदि सरकार असफल नै भयो भने मुलुकमा पुनः निर्वाचन हुन्छ । तर, मुलुक सफल बनाउनका लागि हामीले त सच्चिएर जाउ भनेर सुझावसम्म दिन सकुला अरू काम उहाँहरू आफँैले गर्ने हो । जिम्मेवार ठाउँमा बसेपछि उहाँहरूले राम्रो काम गर्नुपर्छ आफँै ठीक हुन्छ । सरकारले अहिले जे जे काम गरिगरेको छ त्यसका लागि जनताले दुईतिहाइको भोट दिएको होइन । सरकारले जनताको भावनाअनुसार काम गरेको छैन ।

जिम्मेवार राजनीतिक नेताका हैसियतमा सरकारले मुलुका हितमा काम गरोस् भनेर सुझाव दिनुपर्यो भने के सुझाव दिनुहुन्छ ?
-एमाले र माओवादी मिलेको सुरुकोे दिनमा मलाइ लागेको थियो, अब मुलुकमा कम्युनिस्ट र कांग्रेस दुई ठूला पार्टी हुनेछन् । निर्वाचनमा जसले जिते पनि मुलुकले एउटा आकार लिएर अघि बढ्नेछ भन्ने लागेको थियो । तर, निर्वाचनपछि उहाँहरूको गतिविधिले त्यस्तो देखाउन सकेन । सबैभन्दा ठूलो मुलुक अगाडि बढ्नका लागि राजनीतिक स्थिरता हो । प्रधानमन्त्रीले वेलावेलामा हामीलाई ट्याउँट्याउँ ग¥यो भन्नुहुन्छ । अब उहाँले कम बोलेर काम बढी गर्नुपर्यो । गणतन्त्र संघीयता र धर्म निरिपेक्षताका बारेमा छिटो निर्णय लिएर काम गर्न सकिएन भने मान्छेमा आएको वितृष्ण बाहिरिनेछ ।

त्यसले मुलुकको हित गर्दैन । जनताले खोजेको शान्ति सुरक्षा, दण्डहीनताको अन्त्य, भष्ट्राचार न्यूनीकरण महँगी नियन्त्रण हुन सक्दैन । शान्ति सुरक्षा मुलुकमा छैन, भ्राष्टाचार संस्थागत बन्दै छ वाइडबडीमा खुलेआम मन्त्रीको संग्लतनाको कुरा आयो । त्यसमा मन्त्रीले राजनीनामा दिनुपर्ने सरकार संरक्षण गर्दै छ । यस्ता कुराले जनतामा वितृष्ण फैलाउने काम गर्छ । सरकारको काम बोलीमा होइन व्यवहारमा जनताले देखिने गरी हुनुप¥यो । पर्यटन मन्त्रीले विवादमा आएपछि राजीनामा दिएको भए त्यसले कम्युनिस्ट पार्टी र सरकारको इमेज बढाउँथ्यो । मन्त्री त फेरी पनि हुन सकिन्थ्यो । तर, उहाँहरू जे गरे पछि हुन्छ जस्तै गर्दै हुनुहुन्छ ।

नेपाली कांग्रेसको अबको कार्य दिशा के हो ?
-कांग्रेसले भर्खरै महासमिति बैठक सकाएको छ । पार्टीका लागि महासमिति सबैभन्दा महत्वपूर्ण निकाय हो । केन्द्रीय समितिभन्दा महासमिति महत्वपूर्ण हुन्छ । महासमिति महाधिवेशन प्रतिनिधिहरूले बनाएको निकाय हो । पार्टीको सबैभन्दा माथि महाधिवेशन त्यसपछि महासमिति र केन्द्रिय कार्य समिति हुन्छ । महासमितिले गरेको निर्णय केन्द्रिय समितिले उल्टाउन थाल्ने हो भने महासमितिको औचित्य के ? यो कुरालाई नेताहरूले नबुझनु भएको होइन । तर, नेताहरू आत्मकेन्द्रित भए । नैतिकता गुमाएको नेतृत्व भएपछि समस्या आउँदा रहेछन् । अब उहाँहरू गुटले पनि होइन गिरोहले चलिरहनुभएको जस्तो देखिँदै छ ।

पार्टीभित्र गुट, समूह, फरक विचार दृष्टिकोण होला तर, आफूले गरेको सबै कुरा ठीक अरूले गरेको सबै गलत भन्ने सोचाइ नेतृत्वमा हुँदा यस्ता समस्या आएका हुन । अर्को कुरा पार्टीको विधानअनुसार चार वर्षे कार्यकाल हो । तर, सभापतिजी म साँढे पाँच वर्ष बस्छु भन्नुहुन्छ । कार्यकाल भन्दा बढी बस्नपर्ने कारण के हो देखाउन प¥यो । नयाँ विधानअनुसार तत्कालै पार्टीको अधिवेशन गर्ने हो भने पार्टी बलियो भएर जान्छ । त्यो बलियो कांग्रेसले अहिलेको सरकारसँग च्यालेन्ज गर्नसक्छ । देशको हितमा खबरदारी गर्नसक्छ । अब कांग्रेसले गर्नुपर्ने कुरा यीनै हुन ।

तपाईंको भनाइअनुसार सरकारले जनताको अपेक्षाअनुसार गर्न सकेको छैन । प्रमुख प्रतिपक्ष कांग्रेस पार्टीमा आपैmँले गरेको निर्णय कार्यान्वयनसम्म गर्न सक्दैन यस्तो अवस्थामा मुलुक कता जाला ?
-एकातिर सरकार अराजक हुँदै गएको छ । सम्पूर्ण शक्ति प्रधानमन्त्रीले लिनुभएको छ । हेरक देशका लागि चार वटा शक्ति महत्वपूर्ण हुन्छ । वित्तीय संस्थाहरू, न्यायपालिका, संसद् र मिडिया । तर, अहिले वित्तिय संस्था धरापमा परिसकेको छ । प्रधानन्यायाधीशलाई दुइतिहाईलाई बलमा महाअभियोगको तरबार घाँटीमा तेस्राएर तर्साइन्छ । मिडिया मैले भन्नै पर्दैन तपाईंहरू भोग्दै हुनुहुन्छ । यस्तै सेनालाई विवादित गर्नेतर्फ सरकार लागेको छ । यी चार कुरा जब गडबडाउँछ देश अराजकतातिर जान्छ । अर्कोतर्फ देश बचाउन भनेर हिँडेको प्रजातान्त्रिक पार्टी कमजोर अवस्थामा छ । त्यसलाई सुधार गर्ने भनेको महाधिवेशनबाहेक अरू कुनै विकल्प छैन । सभापतिजी महाधिवेशन अहिले गर्दिनँ भन्दै हुनुहुन्छ मलाइ लाग्छ जति छिटो महाधिवेशन भयो कांग्रेसलाई त्यति हित हुन्छ ।

महासमितिमा प्रतिनिधि छनोटका विषयमा आफैँले गरेको निर्णय बाहिर आउने बित्तिकै नमान्ने अभिव्यक्ति दिए । आफूले गरेको निर्णय आफैँले नमान्दा के हुन्छ ?
-त्यसका उपाय छन् । महासमिति पनि उहाँहरू गर्न चाही रहनुभएको थिएन । सार्दै सार्दै आउनुभयो । तर, निकै दबाब भएपछि उहाँहरूले थेग्न सक्नु भएन महासमिति बोलाउन प¥यो । हामीले पटकपटक उहाँहरूलाई विधि र विधानमा चल्न सुझाव दिएका छौँ । त्यसले कुनै नेतालाई बलियो बनाउँदैन, पार्टी बलियो बनाउँछ । मलाई सभापति देउवा वा कसैलाई बलियो बनाउनु छैन । अहिलेको अवस्थामा कांग्रेस बलियो बनाउने एक मात्रै उपाय पार्टीको महाधिवेशन हो । अरू कुनै उपाय छैन । हाम्रो भनाइ पार्टी विधिले चलोस्, विधानको पालना होस् भन्ने हो । यसो भयो भने कांग्रेस बलियो हुन्छ ।

तपार्इं अबको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?
-हेरूँ साथीभाइहरूसँग कुरा गरूँ उहाँहरूले के भन्नुहुन्छ । तर, अरू पनि छन् । म चिकित्सक रामै्र पेसामा थिएँ । एउटा संस्था पनि स्थापना गरेर विकास गरेँ । राजनीतिमा पनि लामो समयदेखि सक्रिय छु । त्यस हिसाबले मेरो आकांक्षा सामान्य हो । तर, मिलाउनुपर्ने धेरै कुरा छन् । अहिले देशमा विभिन्न स्थानमा घुमिरहेको छु । साथीहरूसँग सल्लाह गरिरहेको छु । सबैको साथ पाए होला ।

अहिले देशमा विभिन्न स्थानमा भएको घुमाइ र भेटघाट पनि सभापतिमा उम्मेदवारीको तयारी हो ?
-यसलाई तपाईंहरू जसरी पनि बुझ्न सक्नुहुन्छ । सबै कुरा भनिहाल्ने अहिले वेला भएको छैन । हरेक राजनीति गर्नेले माथि जान खोज्छ स्वभाविक हो । जिम्मेवार ठाउँमा पुग्न धेरै त्याग गर्नुपर्छ । आफूलाई मन लागेर मात्रै हुँदैन । आफूभन्दा वरिष्ठलाई सम्मान गर्न सक्नुपर्छ तलकालाई मिलाउन सक्नुपर्छ । पार्टीको नेताका हैसियतमा भेटघाट भइरहन्छ जुन अहिले पनि जारी छ ।

कोइराला परिवार पछिल्लो दिनमा नजिकिएको देखिएको छ । तपाईंहरू कांग्रेसभित्र कोइरालाको विरासत फर्काउन लाग्नुभएको हो ?
विरासत भन्ने कुरामा म विश्वास नै गर्दिनँ । कर्ममा विश्वास गर्छु, जसले मिहिनेत गर्छ, जसलाई कार्यक्रर्ताले रुचाउँछ त्यो मान्छे नेपाली कांग्रेसको सभापति हुन्छ । नेपाली कांग्रेसको अबको सभापति भनेको कांग्रेसलाई एक गरेर अहिलेको कम्युनिस्टमय मुलुकसँग सामना गरेर अब आउने निर्वाचनमा कांग्रेललाई पहिलो पार्टी बनाउने हो । त्यसका लागि पार्टी पंक्तिले योग्य ठानेको मान्छे सभापति बन्छ ।

कांग्रेसमा युवा पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने कुरा वेलावेला उठ्छ । युवा भनेको कति वर्षको लाई मानिन्छ । तपाईं पनि सभापतिको दावेदार हुनुहुन्छ ?
-युवाको सवालमा बुझाइ गलत छ । म युवा होइन । तर, कुनै युवाभन्दा काममा कम छैन मेरो सक्रियता, जाँगर कामगर्ने शैली, क्षमता, उत्सुकता युवाको भन्दा कम छैन । म भन्दा पुराना पनि उत्तिकै सक्रिय हुनुहुन्छ । काममा युवापन हुनप¥यो र दौडमा भाग लिने मान्छेको क्षमता हेर्ने हो जो सक्रिय वा उत्कृष्ट हुन्छ बाजी उसैले मार्छ ।

प्रतिक्रिया