५४ वर्षीया महिला जुम्ल्याहाकी आमा !

काठमाडौं । आइभिएफ अर्थात् टेस्टट्युब बेबी पद्धतिबाट महिनावारी सुकेको चार वर्षपछि काठमाडौंकी एक महिला आमा बन्न सफल भएकी छन् । अल्का आइभिएफ एन्ड फर्टिलिटी सेन्टरमा टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराउँदै आएकी ती महिला आमा बनेकी हुन् ।

एक वर्षदेखि बाँझोपनको उपचार डा. शर्मासँग गराउँदै आएकी ती महिलाको आइतबार राति ९ बजे काठमाडौंको बयोधा अस्पतालमा जुम्ल्याहा सन्तान जन्मिएका छन् । जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४ रहेको जनाइएको छ । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । उच्च रक्तचापका कारण स्वास्थ्यमा जोखिम आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समयअगावै निकालिएको हो । झन्डै ३७ हप्तामै अप्रेसनद्वारा बच्चा निकाल्न सफल भएको डा. शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘हाम्रो देशमा जति पनि उमेर बढ्दै गयो उति महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण बच्चा जन्मिँदैन । सामान्यतः ४० वर्ष कटेपछि सन्तान प्राप्तिका लागि जोखिम मानिन्छ । तर ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य हो, त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समूहका दम्पतीलाई धेरै राहत मिल्छ ।’

बढी उमेर समूहको हुँदा उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको भन्दै उनले यस सफलताले अबका दिनमा जस्तोसुकै बाँझोपनको समस्यको पनि नेपालमै उपचार सम्भव भएको पुष्टि गरिन् ।

प्रतिक्रिया