विल्सन र नेरिकलाई इनोभेटिभ कप

काठमाडौं । विल्सन एकेडेमी र नेरिक एकेडेमीले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । दुई उपाधि चुम्न सफल विल्सन सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो । नेरिकले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो ।

बुद्धनगरस्थित आयोजक इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५०–३९ ले पराजित ग¥यो । विल्सनको जितमा पेम्बा शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै ३२ अंक योगदान गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा सिमरन गुरुङको १० अंक प्रेरित विल्सनले आयोजक इनोभेटिभलाई २०–१९ को झीनो अन्तरले हरायो ।

जुनियर ब्वाइज फाइनलमा नेरिकले ज्ञान निकेतनलाई २७–१७ ले पाखा लगायो । नेरिकका भुवन थापाले १७ स्कोर गरे । फाइनलका सर्वाधिक स्कोरकर्तात्रय पेम्बा, सिमरन र भुवन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका राहुल विक, सिनियर गल्र्समा इनोभेटिभकी स्वच्छता थापा र जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेबिश सारु सर्वाधिक स्कोरकर्ता भए ।

प्रतियोगिताभर राहुलले ७८, सिमरनले ५९ र जेबिशले ४७ स्कोर गरे । विजेतालाई काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसी, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा, इनोभेटिभका अध्यक्ष चेतनाथ चौलागाईं, इनोभेटिभका प्रिन्सिपल विजय थापा, इनोभेटिभकी आर्थिक निर्देशक स्वीकृति श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १३, सिनियर गल्र्समा ५ तथा जुनियर ब्वाइजमा १० टिमले भाग लिएका थिए । ब्वाइजको खेल लिग कम नकआउट तथा गल्र्सको खेल राउन्ड रोविन लिगका आधारमा भएको थियो ।

प्रतिक्रिया