नागरिकताको समस्या अन्त्य हुन्छः अध्यक्ष दाहाल

लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा सोमबार स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भने, ‘नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरू ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रूपमा रहँदैन ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरूप संघीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उनले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले संविधानमा आवश्यक संशोधन हुने बताए ।

तराई मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करीब रु दुई अर्बको विशेष प्याकेज ल्याउन लागेको छ, त्यसबाट मधेशले ठूलो फड्को मार्ने उनको दाबी थियो ।

‘मधेशको विकास बिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री र मेरो बीचमा गम्भीर छलफल भएको छ’, अध्यक्ष दाहालले भने, ‘यसबारेमा हामी स्पष्ट छाँै, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।’
मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै उनले बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताए ।

तराई मधेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरूको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

सिरहा जिल्ला आँपको दृष्टिकोणले अग्रणी रहेकाले सिरहालाई आँप क्षेत्रका रूपमा विकास गर्न आफूले पहल र प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले सिरहालाई धानको सुपर जोनका रूपमा घोषणा गरी लगानी बढाउनुपर्नेमा जोड दिए ।

अस्पताल उद्घाटन कार्यक्रममा नेकपाका २ नं प्रदेश सहइञ्चार्ज तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रतिनिधिसभा सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्यहरू रामकुमार यादव, प्रमोद यादव, जगत यादव लगायतले तराई मधेशको विकासका लागि सरकारले छिटो विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया