चलचित्र – कचहरीमा कर्णालीको दुःखान्त

जुम्लामा कचहरी चलचित्र उद्घाटन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र पूर्वसांसद डिल्लीप्रसाद काफ्लले कर्णालीका पर्यटकीय र ऐतिहासिक मठमन्दिर, तालतलैया र यहाँको परम्परामा आधारित रहेर चलचित्र निर्माण गरिएको जानकारी दिए ।  कचहरीका निर्देशक शक्ति परियारले कर्णालीमा रहेको छुवाछूत, जारी, दाइजो, हलिया प्रथा र लैंगिक हिंसामा आधारित रहेर चलचित्र निर्माण गरिएको बताए । चलचित्रमार्फत कर्णालीको मौलिकता र वास्तविकता देखाउन खोजिएको निर्माता हरिबाबु चौलागाईंले जिकिर गरे । करिब साढे दुई वर्ष लामो प्रयासमा यो फिल्म समाजको माझ देखाउन सफल भएको उनले बताए । यो चलचित्र निर्माण गर्नमा जुम्लाका आठ वटै स्थानीय तहले सहयोग गर्ने वचन गरे पनि अहिलेसम्म कोही कसैले सहयोग नगरेको चौलागाईंले दुखेसो पोखे ।

कर्णालीका ऐतिहासिक क्षेत्रहरू ओझेलमा परेको पुर्खांैपुर्खादेखि समाजमा बोलिँदै आएको वेशभूषालाई कथाका माध्यमबाट वास्तविकता झल्काइएको उनले उल्लेख गरे । चौलागाईंले कर्णालीका गाउँघरमा झगडा भएमा कचहरी बस्ने, जारी काट्ने प्रथाको परम्परा रहेको भन्दै कथा लेखन मदन नेपाली यसलाई अब यथार्थमा चित्रण गरिएको धारणा राखे । यो चलचित्रले मौलिकता झल्काएको उहाँको भनाइ छ । कचहरी चलचित्रको उद्घाटन सत्रमा बोल्दै चन्दननाथ नगरपालिका प्रमुख सेजुवाले जुम्लाको मौलिक पहिचान झल्काइएको भन्दै खुसी व्यक्त गरिन् ।

बाजेबज्यैको पालादेखि बोलिँदै आएको भाषा, उनीहरूले लगाउँदै आएको पोसाक, समाजले उपल्लो जातिले तल्लो जातिलाई गर्ने व्यवहार सबै समेटिएको भन्दै उनले खुसी व्यक्त गरेकी हुन् । फिल्मको नाममा विकृतिको सन्देश नफैलाई समाजमा रहेका यथार्थ कुरामार्फत आफ्नो सीप प्रदर्शन गर्ने सबै कलाकारलाई धन्यवाद दिएकी छन् । उनले पुरानो रीतिरिवाज, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्न तथा व्यवस्थापन गर्नमा नगरपालिका पछि नहट्ने प्रतिबद्धता समेत जनाइन् ।

पूर्वसांसद डिल्लीप्रसाद काफ्लेले कर्णालीको कथाव्यथालाई यथार्थमा चित्ररण गरेको धारणा व्यक्त गरे । ओझेलमा परेका कला, संस्कृतिको पहिचानतिर ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले जुम्लाको पहिचान हराउने अवस्थामा पुगेको विचार राखे । पुराना संस्कृतिलाई जगेर्ना गर्नका लागि सबै पक्षबाट लाग्नुपर्नेमा उनले जोड दिए । प्रजिअ विष्णु पौडेलले कलाकारको अभिनय राम्रो भएको बताए ।

जुम्लाको इतिहासकालदेखिको गर्ने व्यवहार र बोल्ने भाषाको सत्यतथ्य झल्काएको जानकारी दिएको छ । कर्णालीको खष भाषाशैलीमा छायांकन गरिएको चलचित्रले कर्णालीमा विद्यमान छाउपडी प्रथा, जारीप्रथा र हलिया प्रथालाई कथाको मुख्य विषयवस्तु बनाइएको छ । चलचित्रमा खष भाषा सम्पादन हरिबाबु चौलागाईंसहित दुई जनाले गरेका छ । कथानक चलचित्रमा कर्णालीवासीले पुर्खौंदेखि भोग्दै आएको वास्तविक जीवनशैली प्रस्तुत गरिएको छ ।

कर्णालीका ऐतिहासिक, पर्यटकीय क्षेत्र तथा मनोरम दृश्यमा छायांकन गरिएको चलचित्रले यहाँको निर्वाहमुखी परम्परागत अर्गानिक खेती प्रणालीमा कृषकको जीवनचक्र, काला पहाडिनुको बाध्यतासहितको सन्दर्भ पनि प्रस्तुत गरेको छ । चलचित्रको मुख्य भूमिकामा कलाकार गीता कटुवाल र नवदत्त न्यौपाने रहेका छन् ।

त्यस्तै, निर्देशकमा शक्ति परियार, कथा लेखनमा मदन नेपाली र छायांनमा सरोज शाहीले गरेका छन् । करिब दुई घण्टाको चलचित्र ४० लाखभन्दा बढी लागतमा निर्माण भएको निर्देशक परियारले बताए । मुख्य भूमिकामा रहेका कलाकार ठेके र चैतुको वृत्तचित्रमा प्रस्तुत पारिवारिक जीवन शैलीले समग्र कर्णालीवासीकै जीवन शैलीलाई सम्बोधन गरेको उनको भनाइ छ । चलचित्रमा अभिनय गरेका ४० जना कलाकार सबैजनाले हाल कर्णालीमा लोप भइसकेका बहुमूल्य परम्परागत पहिरनमा सजिएका छन् भने कलाकारले प्रयोग गर्ने अन्य सबै परम्परागत सामग्री छन् ।

प्रतिक्रिया