काराकास । सत्तापक्ष र विपक्षको झगडाले भेनेजुएलाको राजधानी काराकासका स्थानीय बासिन्दा ठूलो मारमा परेका छन् । उनीहरू के छन् ?
बिबिसीले काराकासको एउटा बसमा यात्रा गरिरहेका स्थानीय मानिसलाई सोधिएको एउटा भिडियो सार्वजनिक गरेको छ । त्यस भिडियोमा एक महिला आफ्नी छोरी कोलम्बिया जान लागेको भन्दै रोएकी छन् । खाद्यान्न नभएको, सबै कुरा सरकारले नियन्त्रण गरेको, रोजगारी पनि नभएको भनेर सर्वसाधारणले मलिन अनुहारमा गुनासो गरेका छन् ।
चोरी र डकैतीका घटना बढेको समेत उनीहरूले जनाएका छन् । बसका ड्राइभरले संगीत सुन्न पनि नपाइएको जनाउँदै रेडियो नै चोरी हुने गरेको समेत बताएका छन् ।
काराकास अहिले युद्ध क्षेत्रजस्तो भएको उनीहरूको भनाइ छ । बिबिसीका अनुसार स्थानीय मानिसमध्ये करिब ६२ प्रतिशत अमेरिकासँग मिलेर जानुपर्ने पक्षमा रहेका छन् । बसमा यात्रा गरिरहेका एक जना वकिलले भने आफू रोजगारीकालागि स्पेन जान लागेको भिडियोमा बताएका छन् ।
राजधानी काराकासमा करिब ३० लाख मानिस बस्दै आएका छन् । पछिल्ला गतिविधि र निरन्तरको आन्दोलनले बिजुली बत्ती नभएको, औषधी उपचारको व्यवस्था पनि नभएको उनीहरूले जनाएका छन् । मानवीय सहयोगका लागि अमेरिका लगायतका राष्ट्रले सहयोग गर्ने जनाएपनि राष्ट्रपति निकोलस मादुरोले अस्वीकार गर्दै आफूहरू भिखारी नभएको बताएका थिए ।
सन् २०१५ यता मात्रै भेनेजुएलाबाट करिब ३० लाख मानिस विदेश गएका छन् । भेनेजुएलामा तेल र सुनको खानी छ, तर जनता भोकभोकै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । (बिबिसीको रिपोर्टमा आधारित)
प्रतिक्रिया